६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

शुक्रबारदेखि तीन हावाहुरीसहितको वर्षाको सम्भावना !


५ चैत्र २०८२, बिहिबार  


भोलि अर्थात शुक्रबारदेखि तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले अनुरोध गर्दै तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो।

शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। लगत्तै शुक्रबार नै लुम्बिनी प्रदेशको दाङ र नेपालगञ्जसहितका तराई क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको प्राधिकरण जनाएको छ।

पर्सि शनिबार पूर्वी नेपालमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै १ सय १९ किलोमिटर प्रतिघण्टा)चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

प्रि–मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ६ : १० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित