बहुचर्चित मुगु कर्णाली जलविद्युत आयोजनामा भारतीय अर्बपति गौतम अडानीले लगानी गर्ने भएका छन्। १९०२ मेगावाटको यस मुगु कर्णाली जलविद्युत् आयोजनामा स्थानीय साझेदार भने चौधरी ग्रुप हो ।
सिजी ग्रुपमार्फत अडानीले मुगु कर्णालीमा लगानी गर्न लागेका हुन् । सिजी ग्रुपका अध्यक्ष हुन्, नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सांसद विनोद चौधरी ।देउवा निकट मानिने उनै चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्।
विद्युत उत्पादन कम्पनीले मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुणमा लगानी जुटाउन प्रस्ताव मागेको थियो । यस प्रस्तावमा सीजी ग्रुप एक्लो प्रतिस्पर्धी हो । मुगु कर्णालीमा लगानी जुटाउन सिजी इनर्गो प्रालिको आवेदन परेको हो । यो सिजी ग्रुपको कम्पनी हो ।
यस अघि अडानी समूहले त्रिभुवन विमानस्थलको व्यवस्थापनसंगै स्तरोन्नतिका लागि पनि रुची देखाएको थियो । सरकारले पनि निजी क्षेत्रलाई दिने कसरत गर्दै आएको छ। यद्यपि लामो समयदेखि नेपालमा लगानी गर्न अडानीले चासो देखाउँदै आए पनि अहिलेसम्म त्यस कुरालृे औपचारिकता पाउन भने सकेको छैन । अडानी समूहले २ वर्षअघि १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी बहुउदेश्यीय आयोजनामा चासो देखाएको थियो। निजगढमा समेत अडानी समूहको रुची रहेको छ। उसकै रुची अनुसार नेपालका नेताहरुले बेला बेलामा निजगढको कुरा उठाउँदै आएका छन्।
अडानी समूहको लगानीमा बन्ने भनिएको मुगु कर्णालीमा भने आयोजनाको कामतिर अघि बढ्ने निश्चित भएको बताइएको छ। हामीलाई प्राप्त जानकारी अनुसार अडानी आउने निश्चित भएपछि सिजी इनर्गोले आवेदन दिएको हो । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा सिजी इनर्गोले ५१ प्रतिशत लगानी जुटाउनेछ ।
मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । । यो आयोजनाले ६२९१.८ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान गरिएको छ । आयोजनाले कर्णालीका बाजुरा, कालिकोट, मुगु, हुम्ला र जुम्ला जिल्लामा निर्माण हुनेछ ।
अडानी समूहले जग्गा कारोबारी दीपक मल्होत्रासँग ३२५ मेगावाटको माथिल्लो भेरी आयोजना लिन खोजेको थियो । तर, मूल्यमा सहमति नभएपछि अडानी समूह पछाडि हटेको थियो । मूल्य मिलेको भए तेस्रो लगानीसम्मेलनमा नै एमओयु गर्ने तयारी भएको थियो ।
विद्युत उत्पादन कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न खोजिएको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग मागिएको छ । नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनीले आवेदन दिन सक्ने उल्लेख छ । विदेशीलगानीकर्ता ल्याउँदा कम्पनीको लगानी साँझेदारी कार्यविधी २०८१ संशोधन गर्नुपर्छ ।
किमाथांका अरुण जलविद्युत आयोजनामा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोवल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि र अनक हाइड्रोपावर कम्पनी लिमिटेडले आवेदन दिएका छन् ।
किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका २ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको हो ।
प्रतिवेदनअनुसार यस जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।