४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

प्रदीप ज्ञवाली भन्छन्,-‘प्रचण्डको सत्ता अधीरता अचम्म लाग्दो !


४ बैशाख २०८२, बिहिबार  



नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष प्रचण्डको सत्ता अधीरता अचम्म लाग्दो भएको बताएका छन् । सो कुरा उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पूर्व मन्त्री समेत रहेका ज्ञवालीले सत्ता अस्थिरतामा खेल्दै आएका प्रचण्डलाई सन्यासीको कथा जोडेर टिप्पणी गरेका हुन्।

उनले सञ्जालमा भनेका छन्
प्रचण्डजी बिचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।’ अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ ।


ओशोले कतै सुनाएको कथाको स्मरण गर्दै उनले प्रचण्डलाई बालब्रह्मचारीहरुको कथासंग तुलना गरेका छन् । उनले चर्चा गरेका कथामा गुरुले भनेका हुन्छन् ‘हेर है बाबु हो, स्त्रीहरुतिर फर्केर पनि नहेर्नू ’ ती बाल ब्रम्हचारीले पनि गुरूले भने अनुसार गर्दै थिए।

तर, एकदिनको कुरा हो। उनीहरू कतै जाँदै थिए। त्यतिबेला उनीहरूले नदी किनारमा एकजना महिला रोइरहेको भेटेछन् । वर्षातको समय थियो । नदी उर्लिरहेको थियो र उनी नदीपारी घरमा रहेको दुधे बालकको मायाले विह्वल भइरहेकी थिइन् । उनले ती सन्यासीहरुलाई पारी तारिदिन अनुनय विनय गरिन् । पहिलोले त त्यता हेर्दा पनि हेरेन, दोस्रोले चाहिँ ती आमाको पीडा देख्न नसकेर काँधमा बोकेर पारी तारिदियो, अर्कोले त्यसो नगर भन्दाभन्दै पनि ।


पारी तरिसकेपछि पहिलोले दोस्रोलाई आक्षेप लगायो– तैँले गुरु वचन तोडिस्, स्त्रीप्रति आशक्त भइस् । दोस्रोले धेरै पल्ट सम्झाउने कोशिस गर्यो । ‘होइन भाइ, मैले त विशुद्ध मानवीय नाताले पारी तारिदिएको हुँ ।‘

तर पहिलोले पीछा गर्न छाडेन । ‘त्यस आइमाईको लुगा भिजेको थियो, तिघ्रा देखिएको थियो, तँ पक्कै बिटुलिएको हुनुपर्छ’ भन्दै गाली गर्न थालेपछि पहिलोले भनेछ– ‘भाइ, मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन् । तर तँ चाहिँ पक्कै आशक्त रैछस्, किनभने तैँले उनलाई एउटी आमाका रुपमा होइन, भोग्या स्त्रीका रुपमा हेरिस् र अझ पनि त्यही कल्पेर बसिरहेको छस् । तँसँग आजबाट मेरो बाटो फाट्यो ।’


हो, प्रचण्ड सरको सत्ता अनाशक्ति पनि यस्तै केही होला!
उहाँले एमाले– काँग्रेस सहकार्यलाई दुई तिहाईको होइन, ’षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली काँग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो।

नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली काँग्रेसलाई सत्तामा पुर्याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘सङ्गतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो । किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि !

हङ पार्लियामेन्टभित्र सङ्ख्या जुटाउनेले सरकार बनाउँछन् । यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु बाञ्छनीय हुँदैन । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरुले आफ्ना लक्ष्य र उद्देश्यहरु हासिल गर्ने अधिकतम कोशिस गर्छन् ।


यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले ‘अर्लि चुनाव‘ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् ।
बुढापाकाहरु त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो !

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : १० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित