नेपाल कृषि प्रधान देश ।तर, चाडपर्व मनाउन विदेशी कै भर पर्नु पर्दछ। यश पटककाे छठ पर्वकाे लागि जनकपुरमा मात्रै ५ कराेडकाे केरा छिमेकी भारतबाट आयात गरिएको छ।
कृषि प्रधान देशका लागि लज्जाकाे विषय बनेको यश प्रसंगले हाम्रो परनिर्भरतालाई थप छताछुल्ल पारिदिएकाे छ।केरा उत्पादनमा नेपालमा राम्रो सम्भावना भएपनि राज्यको किसान विराेधी नीतिका कारण भारतमै निर्भर रहन परेको कृषि विज्ञहरू बताउँछन् ।
केरा हरेक पर्वमा महत्त्वपूर्ण फलफूलकाे रूपमा लिईन्छ। अझ विशेषगरी छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने बताए ।स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको पनि अध्यक्ष यादवले बताए ।
उनका अनुसार अघिल्लो वर्षकाे छठमा करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको हाे।
जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।
छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए। ‘छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो। यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ’, सचिव पूर्वेले भने।
फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ। बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ।
नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ।
साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन्।








