१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

चिनियाँ ऋणको “गलपासो”मा पोखरा विमानस्थल,किस्ताले रित्तिदै प्राधिकरण !


१२ पुस २०८१, शुक्रबार  


पक्कै पनि विमानस्थल पर्यटन पूर्वाधारको पहिलो शर्त हो।यसैमा पनि पोखरा जस्तो पर्यटकीय शहरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुनु यो आफैमा सुखद् पक्ष र गौरवको अनुभुति हो।

यसका लागि चिनियाँ महंगो व्याजको ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो। निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्षमा बिहीबारसम्ममा जम्मा १ पटक अन्तर्राष्ट्रिय व्यवसायीक उडान भएको छ, छैठौं पटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको हो,बिहीबार चार्टर्ड उडानमार्फत चीनको छेङदुबाट पोखरा विमानस्थलमा सिचुआन एयरलाइन्सको न्यारोबडी जहाज अवतरण गरेको हो।

२०७९ पुसमा यो विमानस्थल सञ्चालनमा आएयता यहाँ ६ चार्टर्ड र १ व्यवसायीक उडान भएका छन् । २०८० असार ६ मा सिचुवानले पोखरामा चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।

चिनियाँ पक्षले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत पोखरा विमानस्थल निर्माण गरिएको प्रचार गरिदिएपछि छिमेकी मुलुक भारत समेत यो विमानस्थल प्रयोगमा ल्याउनबाट हच्किएको छ। सरकारी तहबाट औपचारिकरूपमा अनुरोध भइसक्दा समेत यो विमानस्थललाई पायक पर्ने गरी भारतीय पक्षले भैरहवाको आकाशबाट भारततर्फ दुइतर्फी उडान भर्न हवाई रूटको इजाजत दिएको छैन।

यो विमानस्थल निर्माणका लागि सरकारले  चीनको एक्जिम बैंकसँग २६ अर्ब रूपैयाँ ऋण लिएको छ। नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार पोखराका पर्यटन व्यवसायीमाझ विमानस्थलको रामकहानी सुनाए। उनले ऋणको किस्तावापत वर्षको दुई अर्ब रूपैयाँ तिर्नु परिरहेको कहानी सुनाए हुन्।महानिर्देशक अधिकारीले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आफूले आग्रह गरेको भए पनि कसैले पनि व्यवसायीक उडानमा रुचि नदेखाएको गन्थन ओकले।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिंदै उनले माग सिर्जना नभएसम्म नियामकको दबाबबाट मात्र अन्तर्राष्ट्रिय उडान संभव नहुने समेत धारणा व्यक्त गरेका थिए। यसरी विमानस्थल सञ्चालनमालनमा नआएको कहानी ओ कल्ने अधिकारीले नै चिनियाँ ऋणमा विमानस्थल बनाउन नेतालाई उक्साएको आरोप पनि छ।यद्यपि यश विषयमा उनी मौन छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स पोखराले आयोजना गरेको पोखरा विमानस्थल उडान सम्बन्धी छलफलमा प्राधिकरणका कर्पोरेट डाइरेक्टर हंशराज पाण्डेले पोखरा विमानस्थलको ऋण तिर्दा प्राधिकरणसँग भएको पूँजी रित्तिन लागि सकेको उस्तै गुनासो गरे।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि प्राधिकरण मात्र नभएर पोखराको पर्यटन व्यवसायी पनि चिन्तित छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानसँगै  पर्यटक आगमन बढ्ने आशामा पर्यटन पूर्वाधारमा व्यवसायीले लगानी बढाए पनि अहिले ऋणको ब्याज तिर्न समेत धौंधौं हुन थालेको गुनासो गरे ।

नागरिक उड्ययनका जानकारहरूका अनुसार पोखरा विमानस्थलको भौगोलिक अवस्थितिका कारण यो विमानस्थलबाट उडान अवतरणमा जोखिम छ। वरपर नजिकैको दुरीमा ठूला पहाड भएकाले ठूलो जहाज उडान अवतरण गर्न जोखिमपूर्ण भएको हो। यसबाहेक आन्तरिक उडानका लागि बनाइएको यात्रु प्रतिक्षालय पनि निक्कै साँघुरो छ ।

लगातार चार वटा उडान रद्द भइ हाल्यो भने यात्रु उभिने ठाउँ समेत हुन्न यहाँ । दलका नेताको लहडमा विमानस्थल त बन्यो ,तर प्राविधिक पक्षसंगै व्यवसायीक सोच नहुँदा चिनियाँ ऋणको गलपासो बनेको छ,यो विमानस्थल । चिनियाँ ऋण मिनाह गर्न सरकारले गएको भदौमा चिनियाँ सरकारलाई अनुरोध गरेको थियोे ।पछिल्लो समय प्रधानमन्त्री ओलीले चीन भ्रमण गरे,तर, ऋणको झमेलाबाट विमानस्थल मुक्त हुन सकेन।यसले ऋणको भारी थप्दै मात्रै गएको छैन। पर्यटन व्यवसायीहरूको अर्बौं लगानी पनि जोखिममा परेको छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित