२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

वायु सेवा निगमको सात दशक लामो इतिहास, नेतृत्वको अक्षमताले खुम्चियो शाख र घट्यो निरन्तर आम्दानी


१७ असार २०८२, मंगलबार  


करिब ७ दशक यात्रा तय गरेको नेपाल वायु सेवा निगम यतिबेला आफै बिरामी छ इतिहासको घुम्तिहरु जति धेरै लामो भएपनि यसको उपलब्धि ठ्याक्कै देखाउन लायक केही देखिन्न्।

निगमको नेतृत्व कतिसम्म निकम्मा छ, भने निगमसँग भएकै जहाजको उडान समेत व्यवस्थापन गर्न सक्दैन । दीर्घकालीन लाभका गन्तव्य पुग्ने योजना त एकादेशकै कथा भो ।

निगमको यो कन्तविजोले वार्षिक आम्दानी बढ्दै जानुपर्नेमा उल्टै खुम्चदै गएको छ। एकताका एशियाली बजारमा गौरव गर्न लायकको शाख थियो, राष्ट्रिय ध्वजाबाहक विमानो । तर, यतिबेला नेपाल वायु सेवा निगमको नामै लिँदा पनि नाक खुम्च्याउनुपर्ने अवस्था छ। निगमसंग वर्षेनी प्रश्नको चाङमात्रै छन्। दीर्घकालीन समाधान केही देखिन्नन्।

मंगलबार नेपाल वायुसेवा निगम मंगलबारबाट ६८ औं वर्षमा प्रवेश ग¥यो । निगमले ६७ औं वार्षिकोत्सव मनाइरहदा उसले प्राप्त गरेको करिब ७ दशकको इतिहासमा उपलब्धीको लामो सूची हुनुपर्ने हो । विडम्बना निगमसँग बेथिति, विकृति र भ्रष्टाचारका डरलाग्दा कथाका दस्तावेज मात्रै छन्।


निगम थेगिने र कर्मचारी पाल्ने काममा मात्रै सिमिति छ। यसको अध्यक्ष हुन् यवराज अधिकारी । युवराज अधिकारी नेतृत्वको निगमले पछिल्लो चार वर्षमा देखाउन लायक र दीर्घकालीन महत्वका ४ वटा उपलब्धी पनि कतै भेटिन्न।

निगमको नेतृत्वमा आएपछि अधिकारीले आधा खर्ब माथिको ऋण दायित्व घटाएको दाबी गर्दछन्। साढे ७ अर्ब रुपैयाँ तिरेको भनेर उल्लेख गर्ने बाहेकको उपलब्धी उनले देखाउनै सकेका छैनन् । यद्यपी निगमले कर्मचारी संचयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने कुल ऋणमध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरिसकेको छ। यही विवरणलाई पनि अध्यक्ष अधिकारीले औपचारिक रुपममा कहिँ कतै उल्लेख नै गर्न चाहन्नन्।आफू आएपछिको उपलब्धी मात्रै देखाएर राजनीतिक नेतृत्व रिझाउन खोजेका अधिकारीको कार्याकाल विवादै विवादमा वित्दै छ। आगामी कात्तिक १०सम्मको मात्रै पदावधि रहेका कारण अधिकारीले आफ्नो कार्यकालको उपलब्धिलाई अहिलेसम्मका नेतृत्वले गरेको भन्दा भयंकर राम्रो काम भन्न भने पछि परेका छैनन् ।

उनको नेतृत्वको निगमले गुमाएको बजार, अधिकारीकै निर्णयका कारण निगमले भोग्नुपरेको घाटा र दीर्घकालीन असरको वारेमा भने मौन छन् । महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले जहाजको इन्जिन मर्मतमा भएको कमजोरी, जहाज थन्काउदा निगमले ब्यहोरेको घाटा र निगमको नेतृत्वले गर्न नसकेको काम औल्याउँदा पनि तालुक निकाय पर्यटन मन्त्रालयले भने देखेको नदेख्यै गरेर बसेको छ ।

यद्यपी अधिकारी हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचीमा पनि कारवाहीमा परेका ब्यक्ति हुन् । उनलाई प्राधिकरणले तोकिएको जिम्मेवारी पूरा नगरेको र उड्डयनका शर्त पालना नगरेको भन्दै एकाउन्टेबल म्यानेजरबाट हटाएको छ ।

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई तत्कालीन पर्यटन मन्त्री प्रेम आलेको प्रस्तावमा सरकारले २०७८ कात्तिक ११ मा ४ वर्षका लागि नियुक्त गरेका थिए । अधिकारीलाई सरकारले २०७९ असार ९ मा हटाएको भए पनि अदातलको आदेशपछि अधिकारी २०७९ साउन १९ गतेबाट कामकाजमा फर्किएका थिए। यही आदेशका भरमा हालसम्म पदमा रहेका अधिकारीको मुद्दाको टुंगो भने अझै लागेको छैन ।

वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाज छन् । यी जहाजको उडान व्यवस्थापन मिलाउने, चुस्त दुरुस्त व्यवस्थापन बनाउने र जगेडा इन्जिन र पाटपूर्जा राख्नेदेखि मर्मत संभारमा छिटो गर्नेसहितको काम गर्न नसक्दा भएको शाख पनि खुम्चदै गएको छ । त्यसो त निगमले पछिल्लो समय गरेको आम्दानी पनि खुम्चिएको छ । निगमले तीन वर्ष अगाडि २३ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो भने पछिल्ला २ वर्षमा अपेक्षित रुपमा घटेको आयले नकारात्मक असर पारिरहेको छ ।

निगमसँग २ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाज रहेको छ । निगमले चालू आर्थिक वर्षको १० महिनामा पौने १२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । ऋणको दायित्व, कर्मचारी खर्च र जहाज मर्मतसहितको कार्यालय सञ्चालन यसले गरेको आम्दानीले थेग्न सकेको छैन । जसका कारण निमगले गर्ने नाफा खुम्चदै गएको छ भने जति पुरानो संस्था हुँदै गयो वार्षिक रुपमा शाख गुमाएको विषय त्यति नै पेचिलो बन्दै गएको छ ।

पछिल्लो ४ वर्षमा अधिकारीले गरेको कामको चर्चाभन्दा पनि विवादको काम धेरै चर्चापूर्ण रहेको देखिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना जहाज मर्मत गर्न इटली लगेको, एक महिनालाई मर्मतमा गएको जहाज ८२ दिनमा फर्किएको, अर्को जहाजले पनि त्यति नै समय लिएको, इन्जिनकै अभावमा निगमको एउटा न्यारोबडी जहाज इजरायलमा १४९ दिनसम्म थन्काएर निगमलाई नोक्सानी गराएको आरोप अधिकारीमाथि लागेको छ ।

इन्जिनको व्यवस्थापन नगरेकै कारण निगमलाई एक अर्ब रुपैयाँ घाटा अधिकारीकै कार्यकालमा लागेको सरकारी अध्ययनकै एक प्रतिवेदनले औल्याएको छ । उनले निगमलाई लाभ दिने भन्दापनि आफ्नै पद टिकाउनमै जोड गरिरहेको कारण संस्थाले गति लिन नसकेको टिप्पणी पनि भएको छ ।

नियमित कामलाई उपलब्धी भन्दै गत चैत मसान्तसम्म गरेको काम राखेर १६६ पृष्ठको ठेली निगमका कार्याकारी अध्यक्ष अधिकारीले सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरणमा भएका जहाजकोकै इतिहास, निगमलले गरिरहेको दैनिक काम, ४ वर्षमा तिरेको ऋणको विवरण र अन्तर्राष्ट्रिय हवाई उडानमा भएको प्रयासको बारेमा उल्लेख छ ।

निगमले चीनको गोन्जाओमा उडान गर्ने, सिड्नी जाने, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाज भाडामा लिने, दुर्गम क्षेत्र उडानको जहाज किन्ने, सहुलियत ऋण लिने, जहाजको ह्यांगर निर्माण गर्ने, सेल्फ इन्फ्लाइट किचेन संचालन गर्ने, ट्रेनिङ एकेडेमि खोल्नेसहितको कार्यायोजना भने सार्वजनिक गरेको छ । तर यी कार्ययोजनामा उल्लेख्य प्रगति देखिदैन ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित