प्रधानमन्त्री केपी ओलीले विद्यालय शिक्षा विधेयक वैशाख २३ गते संसदमा पेश हुने बताएका छन् ।
विधेयकको आफ्नै प्रक्रिया हुने भएकोले बैशाख २३ संसदमा नहुने भएकोले शिक्षकहरूलाई घर फर्किन आग्रह गरेका छन् । उनले शिक्षकले आन्दोलन जारी राखे पनि घर गए पनि सरकारले विधेयक ल्याउने बताएका हुन् ।
नेकपा एमालेनिकट पेशागत महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले वैशाख २३ अघि विधेयक ल्याउन सम्भव नरहेकोले शिक्षकलाई घर फर्कन भनेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १२ गते संसदको अधिवेशन आह्वान गरेका छन् । प्रि बजेट छलफल, नीति तथा कार्यक्रमजस्ता नियमित प्रक्रियाहरू रहेकाले विधेयक वैशाख २३ को बैठकमा पेश गर्ने तयारी छ ।
शिक्षकहरू आन्दोलनमा रहेको र निजामती कर्मचारीले समेत आन्दोलनको घोषणा गरिसकेको अवस्थामा पेशागत महासंघले प्रधानमन्त्रीलाई भेटेको थियो । भेटमा प्रधानमन्त्रीले महासंघका नेताहरूसँग असन्तुष्टि व्यक्त गरेको बताइएको छ । शिक्षक महासंघका पदाधिकारीसँगको वार्ता लगत्तैको भेटमा प्रधानमन्त्रीको मुड ठिक नदेखिएको एक सहभागीले बताए ।
प्रधानमन्त्रीले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई ‘उता सडकमा आन्दोलन चर्काएर यता समाधान खोज्न आउनुभएको रु’ भन्ने प्रश्न गरेका थिए । रामेश्वर फुयाँललाई पनि पेशागत महासंघको इन्चार्जको हिसाबले आफूलाई रिपोर्टिङ नगरेकोमा असन्तुष्ट देखिएका ओलीले पुण्य ढकाललाई कर्मचारी आन्दोलन चर्काउन व्यंग्यात्मक निर्देशन समेत दिएका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने९ शिक्षकले आन्दोलन जारी राखे पनि २३ गते अघि विधेयक आउँदैन । प्रचण्ड सरकारको पालामा ७ बुँदे सम्झौता गर्नेहरू आएर बचनबद्धता व्यक्त गर्छन् भने त्यसमा सहमति हुनसक्छ । शिक्षक आन्दोलनमा लागेका नारा र भाषणहरू पनि सुनिएकै छ । सरकारले गर्न सक्ने र संविधानले दिनेसम्मका माग शिक्षकले आन्दोलन नगरे पनि अब विधेयकमा सम्बोधन हुन्छन् । तपाईँहरू घर जानुस् , प्रधानमन्त्री भने।
शिक्षक आन्दोलनका क्रममा कतिपयले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका र गीतबाट विरोध गरेका भिडिओ क्लिपको प्रसंग समेत बालुवाटारमा उठेको थियो । शिक्षक महासंघको आन्दोलनको कमान्ड कांग्रेसको शेखर पक्ष र माओवादीले गरेकाले नियोजितरुपमा सरकारविरुद्ध सडक आन्दोलन चर्काइएको रिपोर्टिङ बालुवाटारमा भएको थियो ।
शेखर पक्ष र माओवादीले आन्दोलन चर्काएकै कारण कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई शिक्षकका माग सम्बोधन गरेर विद्यालय फर्काउन निर्देशन दिएको चर्चा समेत चलेको थियो । शिक्षकका कतिपय माग पूरा गर्दा विद्यार्थी आन्दोलन चर्किने समेत अवस्था रहेको छ ।
भेटका क्रममा धानमन्त्रीले आज तपाईँहरूको ट्रेड युनियन हक हामीले दिलाएको थियौँ र तपाईँहरूको युनियनको आह्वानमा एक लाख शिक्षक काठमाडौंमा आए होलान् । तपाईँहरूले पढाएका ५१ प्रतिशत विद्यार्थी फेल किन भए ? यदि ती फेल भएका ५१ प्रतिशत विद्यार्थीका अभिभावकको ट्रेड युनियन थियो र उनीहरू पनि आन्दोलनमा उत्रिन्थे भने तपाईँहरूका विरुद्ध कति लाख मान्छे सडकमा आउने थिए, ख्याल गर्नुभएको छ ?
प्रधानमन्त्रीलाई भेट्न गएका नेताहरूले अघिल्लो सरकारले गरेको ७ बुँदै सम्झौताकै बुँदाहरूमा रहेर सहमति गरी शिक्षक आन्दोलन टुंगो लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले भने त्यसको लागि सम्झौता गर्ने त्यसबेलाका मान्छे आएर जिम्मा लिनुपर्ने बताए । प्रचण्डले शिक्षकलाई विगतमा धोका दिने र अहिले आएर आन्दोलन गर्न उक्साउने दोहोरो भूमिका खेलेकोमा समेत प्रधानमन्त्री आक्रोशित थिए ।