३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

अफसिजनमा भारतमा तीन सय मेगावाट निर्यात,दैनिक औसत १८ सय २ मेगावाट उत्पादन !


२७ बैशाख २०८३, आइतबार  


पछिल्लो समय पटक–पटक भइरहेको बर्सातले उत्पादन बढ्ने र माग घट्ने भएपछि ‘अफ सिजन’मै भारतमा बिजुली निर्यात सुरु भएको छ ।

अहिले विभिन्न समयमा भारतमा तीन सय मेगावाटभन्दा बढी विद्युत् बिक्री भइरहेको छ । यद्यपि, विद्युत् आयात पनि कायमै छ ।

केही समयदेखि कुनै समयमा आयात र कुनै समयमा विद्युत् निर्यात हुने गरेको छ । विशेषगरी रातको समयमा विद्युत् निर्यात बढी हुने गरेको प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले बताए । नेपालमा रातको समयमा विद्युत्को माग कम छ ।

प्राधिकरणले सामान्यतः जेठको अन्तिम सातादेखि पुस पहिलो सातासम्म विद्युत् निर्यात गर्न सक्छ । तर, यसपालि अफ सिजनमै विद्युत् निर्यात गर्न पुगेको हो । पछिल्लो समय पटक–पटक भएको वर्षाले खोलामा पानीको सतह बढेको छ, त्यसले जलविद्युत्को उत्पादन बढेको उनको भनाइ छ । बर्सातकै कारण गर्मीको समयमा समेत तापक्रम भने बढ्न सकेको छैन ।

गर्मीको समयमा एसी, पंखाजस्ता विद्युतीय उपकरणको प्रयोग बढ्छ । तर, यसपालि पानी पर्दा मौसम शीतल छ । त्यसले गर्दा एसी, पंखाजस्ता विद्युतीय उपकरणको प्रयोग नभएपछि आन्तरिक माग पनि बढ्न सकेको छैन । यसले गर्दा विद्युत्को माग घटेको छ । यसरी बर्सातका कारण उत्पादन बढ्ने र माग घट्ने भएपछि अफ सिजनमै विद्युत् निर्यात गर्न पुगेको घोष बताउँछन् । ‘पछिल्लो समय पटक–पटक भइरहेको झरीले खोलामा पानीको सतह बढेर विद्युत् उत्पादन बढेको छ । तर, माग भने न्यून छ । त्यसरी बचत हुने बिजुली निर्यात भइरहेको छ । विशेषगरी रातको समयमा धेरै विद्युत् निर्यात हुन्छ । यो संयोग मात्रै हो । यो संयोगलाई सदुपयोग गरेको मात्रै हो । तर, प्रवृत्ति अस्थिर छ । कुनै वेला आयात त, कुनै वेला निर्यात हुन्छ । निर्यात धेरै छ । कुनै वेला थोरै त कुनै वेला धेरै विद्युत् निर्यात हुन्छ,’ उनले भने, ‘कुनै वेला आयात पनि हुन्छ ।’

नेपाल प्राधिकरणको तथ्यांकअनुसार अहिले नेपालमा विद्युत आन्तरिक उत्पादन दैनिक ४३ हजार दुई सय ६७ मेगावाट आवर ९औसत १८०२ मेगावाट० छ । तर, विद्युत्को माग तथा खपत भने दैनिक ३८ हजार दुई सय ७३ मेगावाट आवर ९औसत १५९४ मेगावाट० छ । यसरी अहिले विद्युत्को दैनिक उत्पादनभन्दा खपत कम छ । त्यसरी बाँकी हुने विद्युत् भारतमा निर्यात गरिएको छ ।

अहिले नेपालको पिक डिमान्ड १७ सय ५७ मेगावाट छ । निर्यातसहितको पिक डिमान्ड भने २१ सय १४ मेगावाट छ । त्योअनुसार पिक समयमै तीन सय ५७ मेगावाट विद्युत् निर्यात भएको देखिन्छ । अहिले भारतमा दैनिक ६ हजार नौ सय ५० मेगावाट आवर ९औसत २९० मेगावाट० विद्युत् निर्यात भएको छ । दैनिक विद्युत् आयात भने १९ सय ५६ मेगावाट आवर ९औसत ८१ मेगावाट० भइरहेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह ९आरओआर०मा आधारित छन् । त्योअनुसार बर्सातमा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढी हुन्छ । जुन समयमा भारतमा बिजुली निर्यातसमेत गर्न सकिन्छ । हिउँदमा खोलामा पानी कम हुँदा भने विद्युत् उत्पादन पनि स्वतः कम हुन्छ, त्यसवेला भने यहाँको माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्छ । प्राधिकरणले सामान्यतः जेठ अन्तिम सातादेखि पुस पहिलो सातासम्म विद्युत् निर्यात गर्न सक्छ । तर, यसपालि अफ सिजनमै विद्युत् निर्यात भएको छ ।

तर, यो अवस्था भने अस्थिर छ । अहिले बेमौसमी रूपमा भइरहेको झरी रोकिएपछि गर्मी बढ्यो भने विद्युत् माग बढ्नेछ । त्यो अवस्थामा आन्तरिक माग धान्न भारतबाट आयात बढाउनुपर्ने अवस्था आउन सक्नेछ । यद्यपि, गर्मीले हिमालको हिउँ पग्लेर खोलामा पानी सतह बढाउनेछ । त्यसले पनि विद्युत् उत्पादन बढाउनेछ । नियमित विद्युत् निर्यात भने मनसुन सुरु भएपछि हुनेछ । प्राधिकरणले भारतमा १२ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने गर्छ ।

कम पानी पर्ने प्रक्षेपणले भने चिन्ता, बर्खामै विद्युत् उत्पादन घट्ने जोखिम
बेमौसममा संयोगले विद्युत् निर्यात गर्न सकेको प्राधिकरण यसपालि मनसुनमा कम पानी पर्ने पूर्वानुमानले भने चिन्तामा छ । जल तथा मौसम विज्ञान विभागले यसपालि १८ जेठदेखि १४ असोजसम्म कम पानी पर्ने आकलन गरेको छ । तामक्रम पनि सरदरभन्दा बढी हुने अनुमान गरेको छ । त्यसले विद्युत् उत्पादन र आपूर्तिलाई प्रभावित बनाउन सक्ने प्राधिकरणका निर्देशकसमेत रहेका घोष बताउँछन् ।

‘अहिले अफ सिजनमा विद्युत् निर्यात गर्न सकियो भनेर खुसी हुनुपर्ने अवस्था छैन । हामी खुसी पनि छैनौँ । यसपालि मनसुनको समयमै कम पानी पर्ने अनुमान गरिएको छ । खेडरीसमेत हुने भनिएको छ । त्यसले गर्दा खोलामा पानीको सतह बढ्दैन । त्यो अवस्थामा विद्युत् उत्पादन प्रभावित हुन सक्छ,’ उनले भने, ‘तर, तामक्रम सरदरभन्दा दुई प्रतिशत बढी हुने अनुमान गरिएको भन्ने छ । त्यो अवस्थामा विद्युत् माग भने बढ्नेछ । त्यो अवस्थामा यसपालि मनसुनमै भारतबाट समेत विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्छ । यसपालि मनसुनमा विद्युत् उत्पादन र आपूर्ति चुनौतीपूर्ण नै हुने देखिन्छ ।’

स्वदेशी उत्पादनले नपुगेको अवस्थामा भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन गर्न सकिने उनले बताए । यसपालि भारतबाट जुलाईदेखि अगस्टसम्म सात सय मेगावाट विद्युत् २४ घण्टा नै आयात गर्न पाउने गरी अनुमति छ । त्यसअघि पनि दैनिक १६ घण्टासम्म विद्युत् आयात गर्न पाउने अनुमति छ । त्यसमार्फत बिजुली खरिद गरेर स्वदेशी माग व्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ । प्राधिकरणले गएको बर्खामा भारत र बंगलादेशमा गरेर २३ अर्ब ७३ करोड ४५ लाख रुपैयाँको बिजुली निर्यात गरेको थियो । यसपालि कति रुपैयाँको विद्युत् निर्यात हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ८ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित