२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

चीन सरकारले भन्यो,- ‘सन्तान जन्माउ, नगद प्रोत्साहन भत्ता लैजाउ’


२५ असार २०८२, बुधबार  


छिमेकी राष्ट्र चीन सरकारले सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न देशभरका दम्पतिहरुलाई नगद अनुदान दिने भएको छ।
सरकारले दम्पतीहरुलाई सन्तान जन्माउन प्रोत्साहन गर्नका लागि परिवारहरुलाई नगद सहायता उपलब्ध गराउने भएको हो ।

वर्षौंदेखिको जनसंख्या घट्दो प्रवृत्तिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकलाई चुनौती दिएपछि यस्तो योजना अघि सारिएको ब्लुमबर्गले लेखेको छ ।सरकारले सन् २०२५ देखि नै सुरु हुने राष्ट्रव्यापी योजनाअन्तर्गत प्रत्येक बच्चालाई ३ वर्ष पुग्दासम्म वार्षिक ३६ सय युआन अर्थात् करिब ५०३ अमेरिकी डलर प्रदान गर्ने तयारी गरिरहेको रोयटर्सले लेखेको छ ।

चीनले लगभग एक दशकअघि नै एक सन्तान नीति त्यागे पनि, सन् २०२४ सम्म लगातार तीन वर्षसम्म जनसंख्या घटेको देखिएको छ । गएको वर्ष चीनमा जम्मा ९५।४ लाख नयाँ जन्म दर्ता भएका थिए । जुन सन् २०१६ मा एक सन्तान नीति हटाउँदा दर्ता भएका १।८८ करोड जन्मको लगभग आधा मात्र हो ।

घट्दो जन्मदर विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका लागि एक चुनौती बनेको छ । काम गर्ने उमेरको जनसंख्या घट्दै जाँदा श्रम आपूर्ति र उत्पादकत्वमा खतरा उत्पन्न गरेको छ । सन् २०२३ मा भारतसँग सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्रको उपाधि गुमाएको चीनको जनसंख्या संयुक्त राष्ट्रसंघको जनसांख्यिक पूर्वानुमान अनुसार सन् २०५० सम्ममा घटेर १।३ अर्ब र सन् २१०० सम्ममा ८० करोडभन्दा तल झर्ने अनुमान गरिएको छ ।

चिन्ताजनक रुपमा घट्दो विवाह दरका कारण जनसंख्या घट्ने उक्त प्रक्षेपण गरिएको हो ।विवाह दर पछिल्ला करिब ५० वर्षको सबैभन्दा न्यून स्तरमा झरेको छ । यसले अझै कम जन्मदरतर्फ देशलाई डोर्याउन सक्ने बताइएको छ । चिन्ताजनक यो प्रवृत्तिले धेरै स्थानीय सरकारहरुलाई पहिले नै परिवारको आर्थिक बोझ कम गर्न र सन्तान जन्माउन प्रोत्साहन दिन नगददेखि आवास अनुदानसम्मका उपायहरु कार्यान्वयन गर्न बाध्य पारेको छ ।केही स्थानीय अनुदानहरू निकै उदार देखिएका छन् ।

इनर मङ्गोलियाको क्षेत्रीय राजधानी होह्हटले मार्च महिनामा दोस्रो सन्तान भएका जोडीलाई ५० हजार युआन र तेस्रो वा सोभन्दा बढी सन्तान भएका जोडीलाई १ लाख युआन अनुदान दिने निर्णय गरी राष्ट्रियरुपमा ध्यान खिचेको थियो ।धेरैजसो स्थानीय सरकारहरुले यस्ता अनुदानहरु प्रदान गरे पनि ती प्रायः दोस्रो वा तेस्रो सन्तान भएका परिवारहरुलाई मात्र लक्षित गरिएको पाइन्छ ।

उदाहरणका लागि, गत वर्ष पूर्वी चीनको हेफेई सहरले दोस्रो सन्तानका लागि २ हजार युआन र तेस्रो सन्तानका लागि ५ हजार युआन अनुदान घोषणा गरेको थियो ।देशभर लागू हुनेगरी पहिलो सन्तान भएका परिवारलाई समेत समेट्ने अनुदानहरु आवश्यक रहेको कतिपयले बताउन थालेका छन् । अधिकांश क्षेत्रका बाल हेरचाह अनुदानहरुले पहिलो सन्तानलाई नछोएकाले समग्र जन्मदर सुधार गर्न यस्ता प्रोत्साहनहरु अपर्याप्त देखिएको एक अनुसन्धानमा उल्लेख छ ।

चीनका प्रधानमन्त्री ली च्याङले मार्चमा प्रस्तुत गरेको एक प्रतिवेदनमा बाल हेरचाहका लागि अनुदान दिने प्रतिबद्धता जनाएका थिए, यद्यपि विस्तृत विवरण भने दिएका थिएनन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित