अविरल वर्षातकाे कारण आएकाे बाढीपहिरोले देशभरका सडक भत्किएका छन् ।
वर्षातले क्षति पुर्याएका ४ सय ९ स्थानको सडक एकतर्फी मात्रै सञ्चालनमा आएछन् । तिनै सडकमा पनि हिलो तथा सुक्खा पहिरो झरेर फेरि समस्या दाेहाेरिने गरेको छ।
यद्यपि ती सडकमा तत्कालका लागि सडक पूर्वाधार अस्थायी रूपमा मर्मत गरेर यातायात सञ्चालन गर्ने गरी मात्रै काम भइरहेको सडक विभागले बताएको छ ।
त्यस्तै समस्या बीपी राजमार्गमा पनि छ । झन्डै १० हजार सवारी यो राजमार्गमा गुड्छन् । पूर्वी नेपाल तथा तराईलाई राजधानीसँग जोड्ने यो छोटो वैकल्पिक मार्ग हो ।
अहिले यो राजमार्ग बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको छ । धुलिखेल–नेपालथोक अन्तर्गत ५० किलोमिटर खण्डको करिब आधा दर्जन स्थानमा सडक नै बगेको छ । विभिन्न खण्ड गरेर १ किलोमिटर बढी सडक रोशी खोलाले बगाएको छ ।
अहिले उक्त स्थानमा सडक मर्मतको कुनै काम हुन सकेको छैन । जसले गर्दा यो खण्डमा यातायात लगभग ठप्प छ । धुलिखेलबाट पाँचखालको चौकीडाँडासम्म पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गरिए पनि त्यहाँ ठूला सवारीसाधन चलाउन मिल्ने अवस्था छैन ।
नेपालथोकको झोलुंगे पुलनजिकै करिब सय मिटर सडक बगेको छ । त्यहाँ कालोपत्रे सडकको कुनै संकेत नै देखिन्न । गाडी गुड्ने ठाउँमा खोला बगिरहेको छ । यो सडकखण्डको ७ ठाउँमा रोशीले कालोपत्रे सडक बगाएको छ । काभ्रेको मंगलटारमा २ सय मिटर सडक बगेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीले बगाएको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना खण्डमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । यता थलीबेसी र नार्के पुलनजिक २/२ सय मिटरको हाराहारीमा सडक बगेको छ ।
नेपालथोकनजिक बगेको एक सय मिटर सडकमा रोशी खोलालाई ‘डाइभर्ट’ गरेर सडक बनाउने काम सुरु गर्न लागेको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारसमणि हमालले जानकारी दिए । बीपी राजमार्गको १ सय १० किमि सडकमा यातायात सुचारु रहेको छ । तर, करिब ५० किमि सडकखण्डमा भने पुनर्निर्माण आवश्यक छ ।
नागढुंगा–मुग्लिन र बीपी राजमार्ग मात्रै नभएर सोमबार साँझसम्म देशका विभिन्न सडकखण्डको ४५ स्थानमा यातायात ठप्प छ । पहिरोले अवरुद्ध बनेका ३ सय ४५ स्थानमा सोमबारबाट दुईतर्फी सडक सुचारु गरिएको छ । ४ सय ९ स्थानमा एकतर्फी मात्र सडक सञ्चालनमा आएको छ । मध्यपहाडीको सिन्धुली–उदयपुर–ओखलढुंगा र खोटाङको दर्जन बढी स्थानमा पहिरो खसेको छ । विभागका अनुसार उक्त राजमार्गको सिन्धुली खण्डमा पर्ने कुडुले, अक्करे भीर, पञ्चकन्या, कालीमाटी–सनमबेसी, सोखुखोला र कल्लेरी दोभान खण्डमा दुईतर्फी रूपमै सडक सञ्चालनमा छ । यही राजमार्गको कुखेरेटारमा भने सडक एकतर्फी सञ्चालनमा छ ।
कान्ति राजपथमा पर्ने ललितपुरको कार्कीबासमा एकतर्फी सडक चालु छ । हेटौंडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं सडकको भैंसेखण्ड पनि दुईतर्फी रूपमै सञ्चालनमा आएको छ । काठमाडौं–नुवाकोट जोड्ने बालाजु–त्रिशूली सडकखण्डको ओखरपौवा खण्ड भने एकतर्फी मात्र सञ्चालनमा छ । कान्ति राजपथको महादेवटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी, घट्टेखोला, सिरिसे, चेहेरे, खाग्दल र दकलाङ एकतर्फी सञ्चालनमा छ ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पनि सोमबार सडक भासिएर यातायात अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४, खुसार्नी खोला क्षेत्रमा विद्युत् हाइटेन्सन लाइनको पोल ढलेको छ । फेरि त्यही सडक भासिएको छ । सडक भासिएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध हुँदा दाउन्ने वारिपारि सयौं सवारीसाधन अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत् प्राधिकरण नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको छ ।
एकातर्फ भीर र अर्कोतर्फ पहाड भएकाले तत्कालै ‘डाइभर्सन’ बनाउन समस्या भइरहेको स्थानीय प्रशासनले जनाएको छ । प्राविधिक टोलीले सडकको समस्या समाधानका लागि पहल गरिरहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् । अहिले दाउन्ने सडकको पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा सवारीसाधन रोकिएका छन् ।
वर्षाले उक्त राजमार्गको दाउन्ने खण्डका दर्जनौं ठाउँमा पहिरोसमेत खसेको छ । केही ठाउँमा रुख ढलेका पनि छन् । कतिपय स्थानमा सडक विस्तारका क्रममा निर्माण भएका पर्खाल भत्किएका छन् । दसैंका लागि केही स्थानमा माटोले सडकका खाडल पुरे पनि पानी परेलगत्तै बगाउँदा अहिले अस्तव्यस्त बनेको छ ।
बुटवल–नारायणगढ सडकको दुम्कीबास–अरुणखोला खण्डको एकतर्फी कालोपत्र गर्न सुरु भए पनि वर्षाले काम रोकिँदा दसैंसम्मै हिलो र खाडलमै सवारी गुडाउनुपर्ने अवस्था छ ।
वर्षाबाहेकको समयमा पनि दाउन्ने खण्डमा दिनहुँजसो जाममा फस्ने, खाडल र धूलोको सास्ती खेप्नुपर्ने अवस्था छ । राजमार्ग विस्तारका क्रममा खनिएका खाडल, ‘डाइभर्सन’ र सामान्य वर्षामा पनि हिलोका कारण उकालो र ओरालोमा सवारी दुर्घटनाको जोखिम छ । जसका कारण दाउन्ने खण्डको १५ किलोमिटर पार गर्न २ देखि ४ घण्टासम्म समय लाग्ने गरेको छ । नारायणगढ–बुटवल सडक पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले वर्षाको समय भएकाले कामले गति नलिए पनि बेस तयार भएको केही स्थानमा कालोपत्रको काम भइरहेको बताए । ‘काम सोचेअनुसार भएको छैन, तर निर्माण रोकिएको अवस्था पनि होइन,’ उनले भने, ‘अहिले खाडलहरू पुर्ने र केही स्थानमा मर्मतको काम भइरहेको छ ।’ दसैंमा पनि अहिलेको जस्तै पानी परे यातायात सञ्चालनमा असहज हुने उनको भनाइ छ ।
यी सबैजसो सडक निर्माणका लागि भने सरकारले कुनै पहल लिएको छैन । स्थायी रूपमा अहिले नसकिए पनि अस्थायी सडक पूर्वाधार निर्माण गरेर यात्रुलाई गन्तव्यमा पठाउने वातावरण बनाउनुपर्ने पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘सडक विभागसँग पर्याप्त जनशक्ति छ, चाहेको खण्डमा फटाफट काम हुन्छ,’ उनले भने, ‘आफूसँग भएका साधनस्रोतलाई उपयोग गर्दै र त्यति गर्दा पनि नभए निर्माण व्यवसायीसँग समन्वय गरेर छिटो पहिरो पन्छाउने काम गर्नुपर्छ ।’ आपत्कालीन अवस्थामा खरिद ऐनअनुसार सिधै खरिद प्रक्रियामा गएर पनि काम छिटो गर्नुपर्ने उनको सुझाव छ ।
बीपी राजमार्ग नदी किनारबाट सडक निर्माण गरिएकाले पनि बढी क्षति भएको उनको भनाइ छ । ‘स्थायी संरचना बनाउन समय लाग्छ । वर्ष दिन पनि लाग्न सक्छ,’ उनले भने, ‘तर, अस्थायी यातायात सञ्चालन गर्न सडक विभाग सक्षम छ ।’ अहिले वर्षात् बढी भएको र भूगोल कमजोर भएकाले पनि मेची–महाकाली क्षेत्रमै सडक पूर्वाधारमा समस्या रहेको उनको भनाइ छ ।
सडकभन्दा बढी समस्या पुलको क्षतिले पार्ने भएको छ । सडक विभागको पुल महाशाखाका अनुसार अरनिको रमाजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, लार्चा पुल बाढीले बगाएको छ । त्यस्तै रामेछाप–सिन्धुली जोड्ने सुनकोशी नदीको खुर्कोट, खैरेनीघाट र कान्ति लोकपथको वाग्मती नदीमा निर्माण गरिएको मोटरेबल पुलमा बाढीले क्षति पुगेको छ । खोटाङ–उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पुल बाढीले बगाएको छ । इलाममा राते खोला र पाँचथरको हेवा खोलाको बेलिब्रिज बगाएको छ । वर्षाका कारण आएको बाढीपहिरोले देशभर सडक र पुलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ ।
सडक विभागले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार सडकमा मात्र १ अर्ब ५० करोड रुपैयाँको क्षति भएको हो । पुलमा भने १ अर्ब २ करोड रुपैयाँ क्षति भएको छ । यो निर्माणमा लाग्ने खर्चसहितको क्षतिको विवरण भएको विभागका महानिर्देशक रामहरि पोखरेलले बताए ।
‘विभिन्न खण्डमा खसेको पहिरो पन्छाएर सडक खुलाई यात्रा सहज गराउने काम मात्र भएको छ । पुल बगेको ठाउँमा बेलिब्रिज राख्ने तयारी छ । यसका लागि पनि बजेट नै चाहिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यू अमेरिकाबाट आइसक्नुभएकाले मन्त्रालय तहबाट छलफल गरी केही निर्णय हुनेछ, उनलेे भने ।’
बीपी राजमार्गको धेरै ठाउँमा सडक बगेकाले गर्दा पूर्ण रूपमा मर्मत गर्न समय लाग्ने पनि उनले बताए । उनका अनुसार सो खण्डको सडकलाई दसैं अगाडि अस्थायी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने गरी मर्मत गर्न सकिन्छ । ‘सडक विभागबाट प्राविधिकसहितको टोली मंगलबार भकुन्डेबेसी जाँदै छ । कहाँसम्म समस्या छ । टोलीले सबै हेर्ने छ । भकुन्डेबेसीदेखि नेपालथोकका विभिन्न खण्डमा धेरै समस्या छन्,’ उनले भने, ‘जहाँ सडक बगाएको छ, त्यहाँ रोशी खोलाको पानी घट्नासाथ अस्थायी रूपमा खोलाबाटै ग्राभेल राखेर सडक बनाइनेछ । पानी नपरे एक हप्ताभित्र यो सडक सहज रूपमा सञ्चालनमा आउनेछ । दसैंसम्म सडक खोल्ने गरी काम गरिनेछ ।’ उनले खुर्कोटमा पुल बगाएको स्थानमा पनि वैकल्पिक व्यवस्था गरेर सवारी सञ्चालनमा ल्याउने गरी काम गरिने दाबी गरे ।