२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मानौँ,गणतन्त्र गयो र राजा आइबक्स्यो रे ! अनि, हुन्छ के ?


३ चैत्र २०८१, सोमबार  


उनले कुनै एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाउँछन्। नयाँ संविधान बनाउने भनेर आयोग-सायोग बन्ला।

२०६१ सालमा झैँ केहि नेताहरू नजरबन्दमा पर्छन्। पत्रकारहरू समातिन्छन्। इन्टरनेट र फोन काटिनेछ। सडकमा (शाही)सेना हिँड्ने छ।

राजावादीहरू, राजा कसले ल्याएको भन्नेमा झगडा गरेर, फुटाफुट गर्छन्। राजाले बनाएको प्रधानमन्त्रीले काम गर्न सकेन भनेर त्यही प्रधानमन्त्रीलाई असफल बनाउन लाग्छन्।

यता गणतन्त्रवादीहरूले आन्दोलन गर्छन्। संविधान बन्दैन। केहि समयपछि, राजाले डेलिभरी गर्न नसकेको भनेर नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रीहरूलाई हटाउँछन्। यता हरेक दिन आन्दोलन हुन्छ। १५ वर्ष अघि गएको राजतन्त्रका त मान्छे छन् भने गणतन्त्र पक्षमा किन नहुनु ?

देश शाही सम्बोधन र केहि व्यक्तिहरूको लडाइँमै फस्छ। न संविधान बन्छ। न देशले निकास पाउँछ। हामी अनिश्चितताको भुमरीमा फस्छौँ।
अनि, कहिले गर्ने शिक्षाको कुरा ? स्वास्थ्य सेवाको कुरा र? अनि, उद्यमका कुरा ?
अनि, कसरी हुन्छ तपाईँको जीवन परिवर्तन अनि मेरो जीवन परिवर्तन।

त्यसैले, हामी त्यो नचाहिने बहसमा फस्नु हुँदैन। म पनि आजको सबै कुरा ठिक छ भनिरहेको छैन। तर, यहाँबाट हामी सही दिशा पक्रन सक्छौँ।
आजको मुख्य समस्या डेलिभरी हो। त्यो काम श्री ३ (प्रचण्ड, ओली, देउवा) बाट हुँदैन। त्यसैले, अब उनीहरूले सत्ता छाडेर निकास दिन जरुरी छ। काँग्रेस, एमाले माओवादीमा तेस्रो पुस्ताका नेताहरूले कमान्ड लिएर पार्टीको नेतृत्व गर्न जरुरी छ। नयाँ वैकल्पिक दलहरूले उचित विकल्प दिन जरुरी छ। हाम्रा संस्थाहरूमा आफ्ना मान्छे होइन, सक्षम मान्छे राख्न जरुरी छ।
हामीले राजनीतिको रूपान्तरणका लागि पुस्तान्तरणको पनि कुरा गरिरहेका छौँ र श्री ३ हरूको विकल्प खोजिरहेका छौँ तर राजावादीहरू ८६ वर्षे पुरानै पञ्चको कमाण्डरसिपमा ७८ वर्षे राजा ल्याउन चाहन्छन्। यो हाम्रो पुस्ताको माग र आवश्यकता हैन।

त्यसैले राजतन्त्रको कुरा गर्नु भनेको थप अस्थिरता तिर देशलाई लानु हो।


नागरिक व्यवस्थासँग होइन। ओली, देउवा, प्रचण्डसँग निराश हुन्। यत्ति कुरा बुझौँ। जे रोग लागेको हो, त्यसकै उपचार गरौँ। धेरै युट्युब हेरेर डाक्टर नबनौँ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  २ : २५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित