१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

विदेश भ्रमणमा बाहिरीयो डेढ खर्ब,विदेशी मुद्रा संचितिमा विप्रेषणकै भरथेग


२९ चैत्र २०८१, शनिबार  


मुलुकको अर्थतन्त्रका अधिकांश सूचक निराशाजनक भएपनि विप्रेषण मजबुत देखिन्छ ।विप्रेषणकै कारण नेपालसँग पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चित छ ।

नेपालमा विदेशी मुद्रा सबैभन्दा धेरै जम्मा हुने भनेको वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पठाउने विप्रेषणबाट हो ।

गएको साउनदेखि फागुनसम्मको ८ महिनामा विप्रेषण आप्रवाह पोहोरभन्दा ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यही समयमा विप्रेषणको बढोत्तरी १८.३ प्रतिशत थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह यस साल ६.९ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो बृद्धिदर १६.१ प्रतिशत थियो । यो तथ्यांकले विप्रेषणको बढोत्तरी हुने रफ्तार पनि खुम्चिँदै गएको देखाउँछ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत० लिने नेपालीको संख्या ३,१७,०६८ पुगेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २,१७,४०३ रहेको छ । यो संख्या पोहोरभन्दा बढी हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या क्रमशः नयाँको हकमा २,८५,३५२ र पुराना ९पुनः स्वीकृति लिने०को हकमा १,८२,७८३ रहेको थियो।

विदेशिने मान्छेको संख्या बढेको छ, तर विप्रेषण आम्दानी चाहीँ त्यो गतिमा बढेको देखिन्न । घट्दो दरले सुन वा अवैध आ यातलाई वित्त पोषण त गरेको छैन भन्ने शंका हुन थालेको छ।

स्वदेशमा विदेशी मुद्रा भित्रिने अर्को माध्यम हो, पर्यटन । पर्यटन क्षेत्र पनि अपेक्षाकृत देखिन्न। गएको साल करिब ५२ अर्ब रुपैयाँ कमाइ भएको थियोे ।यश वर्ष थोरै बढेर साढे ५६ अर्ब माथि छ।

तर नेपालीहरुले विदेशमा अध्ययन, स्वास्थयोपचार र भ्रमणका लागि खर्च गर्ने पैसा भने बढेको बढ्यै छ । पोहोर साल १ खर्ब २३ अर्बभन्दा कममात्रै त्यस्तो खर्च भएकोमा यो साल १ खर्ब ४८ अर्ब नाघेको छ । अर्थात् भ्रमण आयले हाम्रो देशबाट हुने भ्रमण व्ययको करीब एक तिहाई हिस्सामात्रै परिपूर्ति गर्नसक्ने अवस्था छ ।

यति हुँदा पनि विप्रेषणको भरथेग एवम् उपभोगमा आएको निरन्तरको कमीले नेपालसँग अझैसम्म पर्याप्त विदेशी मुद्राको ढुकुटी भने जम्मा भएको छ ।

फागुनसम्ममा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको राष्ट्र बैंकको आँकडा छ । अघिल्लो वर्षको यही अवधिमा यस प्रकारको भुक्तानी सन्तुलन ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यो साल केही घटेर २ अर्ब २९ करोडले बचतमा रहेको छ । यसले विस्तारै विदेशी मुद्राको ढुकुटी पनि ‘खुट्टिने’ क्रम सुरु भएको जनाउ दिन्छ । भलै, हाललाई यो ‘चाहिनेभन्दा ज्यादा’ हो ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ९ : २९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित