‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम सकिएसँगै शुक्रबार (आज)देखि गाडी गुड्ने भएका छन् ।
फ्लाई ओभरको अपराह्न ४ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने तय भएको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जानकारी दिए ।
फ्लाइओभरको सबै काम सकिएको छ । शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गरेसंगै गाडी गुड्ने उनले बताए ।
आशीष–समानान्तर–जेभीले फ्लाइओभर निर्माण गरेको हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार, ‘फ्लाइओभर’को उचाइ ६ मिटर छ । बालकुमारीतर्फ २८० मिटर लामो ‘र्याम’ छ ।
सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ‘र्याम’ छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइ भएको ‘फ्लाइओभर’को आवतजावत संरचना ४९० मिटर लामो छ ।
‘फ्लाईओभर’ माथिबाट गाडी गुडिसकेपछि मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् ।
चक्रपथतर्फ जाने सवारी साधन नरोकी सिधै चल्नेछन् । ‘फ्लाइओभर’ निर्माणको कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ रहेको छ ।








