पन्ध्रौं शताब्दीमा युरोपमा पुनर्जागरण नामको एक अत्यन्त प्रभावकारी बौद्धिक क्रियाकलापको सञ्चार भयो। त्यो मान्छेको मानसिक जीवनका शिक्षा, साहित्य, कला, विज्ञान, अनुसन्धान, आविष्कार, राजनीति, कानुन, धर्म आदि सबै क्षेत्रमा तीव्र बौद्धिक क्रियाकलाप थियो र रोमन साम्राज्यको पतनदेखि श्वास रोकिएको बौद्धिक जीवनको पुनर्जन्म थियो, जसले दार्शनिक, कवि, कलाकार इतिहासकार सबैलाई ठूलो प्रेरणा प्रदान गर्यो,मध्यकालमा धर्माधिकारीहरूद्वारा बन्धक बनाइएको स्वतन्त्रता-प्रेमी एवं साहसिक मानव चिन्तनको पुनर्जन्म बौद्धिक जीवन र कलाको पुनर्जन्म आदि भनिने त्यस पुनर्जागरणले युरोपेलीहरूलाई प्राचीन युनानी तथा रोमन ज्ञानको भण्डारमा प्रवेश गरायो र मध्यकालीन संस्कृतिको साँघुरो घेराबाट मुक्त गरी एक व्यापक दृष्टिकोणतर्फ अग्रसर गरायो।
त्यसले एउटा नयाँ चिन्तन, नयाँ संस्कृति र नयाँ दर्शनको सूत्रपात गर्योस त्यो नयाँ चिन्तन, नयाँ संस्कृति र नयाँ दर्शन ईश्वर केन्द्रित नभएर मानव केन्द्रित थियो (मानफ्रेद, सन् १९८०,पृ.२७५०) त्यसैले पुनर्जागरण मानवतावादी चिन्तन, संस्कृति र दर्शनको आन्दोलन थियो। त्यस आन्दोलनले चेतनाका हरेक क्षेत्रमा नयाँ–नयाँ खोज तथा अनुसन्धानका निम्ति अनुकूलता पैदा ग¥यो। त्यस अनुकूल वातावरणमा अनेकौं वैज्ञानिक एवं दार्शनिकरू जन्मिए, जसले आधुनिक विज्ञान, संस्कृति र दर्शनको जग बसाले । आलोचनात्मक चिन्तनको विकास भयो। नयाँ–नयाँ दर्शन र सिद्धान्तहरूको प्रतिपादन, तर्क– वितर्क र बहस चलिरह्यो, जसले मार्क्सवादको प्रतिपानका निम्ति एउटा राम्रो पृष्ठभूमिको काम गर्यो। त्यही पृष्ठभूमिमा मार्क्सवादको प्रतिपादन भएको थियो।
धर्मसुधार आन्दोलन: आन्दोलन समाजमा क्याथोलिक चर्चले चलाएको मनपरीतन्त्रका विरुद्धको सुधार आन्दोलन थियो । यो आन्दोलन जर्मनीमा मार्टिन लुथर ९सन् १४८३(१५४६० ले र फ्रान्समा जीन काल्भिनलेसन् १५०९ –६४० ले चलाएका थिए। लुथरले चर्च र पादरी पुरोहितहरूले ईश्वर र जनताबीच मध्यस्थको काम गर्छन् भन्ने अवधारणाको प्रतिवाद गरेस उनले जनताको मुक्ति पूण्य कार्य र अनुष्ठानहरूमा होइन,व्यक्तिको सच्चा विश्वासमा निर्भर गर्छ। धार्मिक सत्यको स्रोत चर्च र पोपका निर्णय एवं आदेशमा होइनन्। देवदूतमा निहित छ भन्ने जस्ता कुरा उठाएका थिए । काल्भिनले मानिसहरू कोही दैवी नियतिद्वारा रक्षित हुन्छन् भने कोही सरापमा परेका हुन्छन् ।तर, त्यस पूर्व नियतिले मानिसका सक्रिय क्रियाकलापमा रोक लगाउँदैन। मान्छेले आफ्नो भाग्य जान्दैन, तापनि उसले वैयक्तिक जीवनका सफलताहरूद्वारा आफु ईश्वर चयनित भएको सिद्ध गर्न सक्दछ भन्ने धारणा राख्दथे ।
धर्मसुधार आन्दोलन एउटा मुक्ति आन्दोलन थियो, त्यसले बौद्धिकहरूलाई पोप र अधिकारीहरूको आधिपत्यबाट मुक्त गर्यो ।यसका सञ्चालकहरूले ूमानव जातिलाई आत्मिक बन्धनबाट मुक्त गर्ने प्रयत्न गरे।उनीहरूको कुनै क्रान्तिकारी आन्दोलन सुरु गर्ने वा सामाजिक सुधारको आन्दोलन नै पनि सुरुगर्ने उद्देश्य थिएन,उनीहरू विद्यमान धार्मिक व्यवस्थामा केही परिवर्तनकारी चुनौति प्रस्तुत गर्न मात्रै चाहन्थे । तर, परिस्थिति अगाडि बढ्यो। उनीहरूले चलाएको सुधार आन्दोलनले नयाँ सोंच र चिन्तनको विकासका निम्ति मार्ग प्रसस्त गर्यो। नयाँ–नयाँ दार्शनिक चिन्तनहरू प्रकट हुँदै र पुराना चिन्तनहरू विस्थापित हुँदै गए। त्यसै पृष्ठभूमिमा मार्क्सवादको पनि प्रतिपादन भयो ।
के हो,प्रबोधन भनेको ? पुनर्जागरण र धर्म सुधार आन्दोलनपछि युरोपमा अर्को एउटा एउटा बौद्धिक जागरणको युरोपेली समाजमा सञ्चार भयो । प्रबोधन भनिने त्यसबेलासम्म कायम रहेका रुढीवादी एवं अन्धविश्वासी धारणा र सोचहरूमाथि पुनर्जागरण र धर्मसुधार आन्दोलनले भन्दा पनि अझ धेरै प्रभावकारी र दूरगामी असर पर्ने खालले प्रहार गर्यो
सोह्रौँ शताब्दीको उत्तरार्ध र सत्रौं शताब्दीको पूर्वार्धका दुईवटा राजनीतिक घटनाले सिंगो युरोपलाई झक्झकाएका थिए। ती घटना हुन्ः स्पेनी साम्राज्यका विरुद्ध सञ्चालित डच स्वतन्त्रता सङ्ग्रामको सफलता र सन् १५८८ मा स्वतन्त्र डच गणराज्यको स्थापना तथा सन् १६४९ मा बेलायतका राजा चार्ल्स प्रथमलाई शिर छेदन गरेर दिइएको मृत्युदण्ड। यी दुई घटनापछि युरोपका सचेत बौद्धिकहरुले समाजमा खराबीहरू छन् भन्ने कुरा मनन् गर्नथाले र ती खराबीहरूलाई हटाउनका निम्ति सर्बप्रथम समाजको सोंचमा परिवर्तन गर्नुपर्ने आवश्यकता बोध गरी त्यस कार्यमा सक्रियतापूर्वक लाग्नथाले। त्यसै सक्रियताले सिर्जना गरेको सघन बौद्धिक क्रियाकलापहरूको लहर थियो, प्रबोधन।
जसरी धर्म सुधारकहरूले मानव जातिलाई आत्मिक बन्धनबाट मुक्त गर्ने प्रयास गरेका थिए त्यसैगरी प्रबोधकहरूले मानव मस्तिष्कलाई बौद्धिक नेलहत्कडीबाट मुक्तगर्ने लक्ष्य राखेका थिए । यस्तो महान् लक्ष्यकासाथ अगाडि बढेको त्यस प्रबोधनको लहरले प्रकृति, विज्ञान, दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्रलगायत विविध विषयका अत्यन्तै सशक्त चिन्तक र लेखकहरू जन्मायो। नयाँ सोंचका साथ साहित्य लेखन सुरुभयो। समाजमा गहिरो प्रभाव पार्ने खालका निबन्ध, उपन्यास र व्यङ्ग्य साहित्यको रचना प्रचुर मात्रामा भयो । चिन्तनमा विविधता प्रकट भयो । वैचारिक एवं सैद्धान्तिक विविधताका बीच बहस र तर्क– वितर्कको ओइरो लाग्यो। त्यसले अझै नयाँ चिन्तनको प्रतिपादनका लागि उर्वरता प्रदान गर्यो। पुराना तर्कहरूको खण्डन गर्दै नयाँ–नयाँ तर्क प्रस्तुत गर्ने र तत्कालीन चिन्तनको आलोचना गर्दै नयाँ–नयाँ चिन्तन प्रस्तुत गर्ने क्रम निरन्तर रूपमा अगाडि बढ्यो। त्यसैको पृष्ठभूमिमा एउटा नयाँ क्रान्तिकारी चिन्तन एवं सिद्धान्तको रूपमा मार्क्सवादको पनि प्रतिपादन भएको थियो ।
विज्ञान र प्रविधिमा क्रान्ति: जबदेखि मानिसले चिन्तन गर्नथाल्यो तबदेखि नै प्रकृतिका नियमहरू बुझ्ने कोशिस गर्दै आयो। त्यस क्रममा उसले अनेकौं प्रकारका खोज, अनुसन्धान र आविष्कारहरू गर्दै आयो। इसाको पन्ध्रौं शताब्दीपछि वैज्ञानिक आविष्कारको क्षेत्रमा अलि बढी तीव्रता आयो । कोपर्निकस (सन् १४७३–१५४३) ले ब्रम्हाण्ड सम्बन्धी सूर्य केन्द्रवादी सिद्धान्त प्रतिपादन गरे । सन् १५४३ मा उनको कृति खगोलीय पिण्डहरूको गतिका सम्बन्धमा प्रकाशित भएपछि सूर्यकेन्द्रवाद गम्भीर वैचारिक सङ्घर्षको विषय बन्यो । चर्च र पाण्डित्यवादका पक्षधरहरूले यसको कडा विरोध गरे भने, प्रगतिशील एवं सृजनशील चिन्तकहरू यसलाई आफ्नो व्यानर बनाएर अगाडि बढे। जर्दानो ब्रुनो (सन् १५४८–१६००) ले पाण्डित्यवादको विरोध र सूर्यकेन्द्रवादको समर्थन गर्दै त्यसमा रहेका कमजोर पक्षहरूलाई हटाउने प्रयत्न गरे। उनले अनन्त परमेश्वर भनेको नै प्रकृति हो भन्दै प्रकृतिको अनन्ततालाई पुष्टि गर्ने कोशिस गरे । धर्माधिकरणले उनलाई ज्यूँदै जलायो। तर, पनि विज्ञान र चिन्तनको गतिको चक्का रोकिएन।
सोहौं–सत्रौं शताब्दीमा अझ बढी आविष्कारहरू भए। केप्लर (सन् १५७१– १६३०) ले सन् १६१८ मा ग्रहहरूको गति सम्बन्धी नियम पत्ता लगाए। विलियम हार्वे (सन् १५७८–१६५७) ले जैव शरीरमा हुने रक्त संचार प्रणाली पत्ता लगाए र सन् १६२८ मा प्रकाशित गरे। गिल्वर्ट (सन् १५४०–१६०३) ले चुम्बकको विषयमा पत्ता लगाए। ग्यालेलियो (सन् १५६४–१६४२) ले पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने पत्ता लगाए। रवर्ट वायले (सन् १६२७) ले एक कोषीय जीवाङ्गहरू पत्ता लगाए। न्यूटन (सन् १६४२–१७२७) ले गुरुत्वाकर्षणको नियम पत्ता लगाए। यी सव आविष्कारहरूले मान्छेको ज्ञानको सीमालाई फराकिलो पार्नका निम्ति अत्यन्त ठूलो योगदान गरे।
मानव चिन्तनको इतिहासमा एउटा निर्णायक मोड : हेलेना शिहनका अनुसार उन्नाइसौं शताब्दी प्रकृति सम्बन्धी मानव चिन्तनको इतिहासमा एउटा निर्णायक मोडको समय थियो । वास्तवमै त्यस शताब्दीको प्रारम्भसँगै विज्ञानका विभिन्न क्षेत्रको अध्ययन एवं विश्लेषण गहिरिएर गरिएको थियो। त्यस अध्ययनबाट वस्तु वा घटनाको सारत्तत्त्वको बारेमा जानकारी हासिल गर्नुका साथै परिवर्तनका कारणहरू पत्ता लगाउने काम हुनथाल्यो । त्यस क्रममा खगोलीय पिण्डहरूको अध्ययन गर्ने खगोल विज्ञान, पृथ्वीको बाहिरी अर्थात् चट्टानी खण्डको अध्ययन गर्ने भू–गर्भ विज्ञान, प्राणी जगतको भ्रूणहरूको अध्ययन गर्ने भ्रूण विज्ञान, जौविक प्रक्रियाहरूको अध्ययन गर्ने शरीरक्रिया विज्ञान जस्ता विज्ञानका नयाँ शाखाहरूको विकास भयो र अध्ययन अनुसन्धानमा विशिष्टीकरण हुँदै गयो।
गहन अध्ययन एवं खोज अनुसन्धानले विज्ञानमा एउटा ठूलो क्रान्ति नै ल्यायो। जर्मन जीव वैज्ञानिकहरू श्लेडेन र श्वान्न ले सन् १८३८–३९ मा सबै जैविक अङ्गहरूको निर्माण हुने आधारभूत इकाई जीवकोष हो भन्ने पत्ता लगाए। त्यस आविष्कारबाट जैव जगत्को एकरूपता प्रमाणित हुनुका साथै विकासका कारण र आधारहरू स्वयम् पदार्थभित्रै छन् भन्ने कुराको पुष्टि भयो। जर्मन भौतिकशास्त्री रखटं मायरले सन् १८४२–४७ मा ऊर्जाशक्तिको संरक्षण र रूपान्तरणको नियम पत्ता लगाए। त्यसबाट पदार्थका विभिन्न रूपहरूका बीचको अन्तर्सम्बन्ध र एकबाट अर्कोमा रूपान्तरणको सम्बन्धमा जानकारी भई पदार्थ र गतिबीचको अविभाज्य सम्बन्ध तथा पदार्थको गतिका विभिन्न रूपहरूबीचको सार्वभौम अन्तर्सम्बन्ध एवं अन्तरक्रिया नै प्रकृतिमा हुने परिवर्तनका भौतिक कारण हुन् भन्ने पुष्टि भयो। चार्ल्स डार्विनले जीव विकासका नियम पत्ता लगाई त्यस सम्बन्धी सिद्धान्त प्रतिपादन गरे। सन् १८५९ मा प्रकाशित त्यस सिद्धान्तले जैव जगत्मा निरन्तर विकास र परिवर्तन भैरहन्छ भन्ने देखाउनुको साथै अहिले संसारमा रहेका जीवका जाति–प्रजातिहरू विकासको लामो प्रक्रियाका परिणाम हुन् भन्ने स्पष्ट पायो।
विज्ञान र प्रविधिले एकातर्फ मानिसको उत्पादक क्षमतामा वृद्धि गर्दछ भने अर्कोतर्फ उसको चिन्तनलाई स्वतन्त्रता प्रदान गर्दछ। त्यसैले माथि चर्चा गरिएका वैज्ञानिक आविष्कारहरूको परिणामस्वरूप सामाजमा दुईवटा महत्त्वपूर्ण परिवर्तन भए। पहिलो, चिन्तनको क्षेत्रमा चर्चको आधिपत्य समाप्त भई विज्ञानको आधिपत्य सुरुभयो । दोस्रो, राजकीय मामिलामा पनि चर्चको आधिपत्य समाप्त भई राज्यको आधिपत्य कायम भयो। पहिलो कार्यले स्वतन्त्र चिन्तनका निम्ति ढोका खोलिदियो भने दोस्रोले चिन्तनमाथिको नियन्त्रणलाई कम गर्यो। वैज्ञानिक आविष्कारहरूको आधारमा नयाँ–नयाँ प्रविधिको पनि विकास भयो। ती नयाँ–नयाँ प्रविधिको प्रयोगसँगै उत्पादनको क्षेत्रमा एउटा व्यापक क्रान्तिका निम्ति ढोका खुल्यो। त्यो क्रान्ति पूँजीवादी आर्थिक क्रान्ति थियो। त्यस आर्थिक क्रान्तिले समाजको जनजीवन, संस्कृति र चिन्तनको क्षेत्रमा पनि परिवर्तन ल्याइदियो।
औद्योगिक क्रान्ति: समाजवादी विचारको विकासमा अर्को एउटा निर्णायक कारक तत्त्व थियो औद्योगिक क्रान्ति । औद्योगिक क्रान्ति भनेको मान्छेको हातले उत्पादन कार्य गरिने कृषिप्रधान अर्थतन्त्रबाट मेशिनद्वारा उत्पादन कार्य गरिने औद्योगिक अर्थतन्त्रमा बदलिने प्रक्रिया हो, हाते श्रमलाई यान्त्रिक श्रमले विस्थापित गर्ने कार्य हो। इतिहासकार हब्सबाम (सन् १९९६) का शब्दमा भन्ने हो भने औद्योगिक क्रान्ति मानव समाजको उत्पादक शक्तिका नेलहरू उतारेर फाल्ने कार्य हो (पृ.२८)। यस किसिमको क्रान्ति इसाको अठारौं शताब्दीको उत्तरार्धमा बेलायतबाट सुरु भइ युरोपका अन्य भागमा फैलिएको थियो । यो क्रान्ति वाष्प शक्ति, फलाम, कोइला, मेशिन र रासायनिक कारखानाहरूद्वारा डोऱ्याइएको थियो । सन् १७७१ मा एक पूर्व नाऊ एवं कृत्रिम केश निर्माता रिचार्ड आर्कराइटले डमिंशायको क्रोमफोर्डमा संसारकै पहिलो पानीबाट चल्ने धागो कारखाना स्थापना गरे, जहाँ ६सय जना कामदारले हातले धागो काट्ने भन्दा दशगुणा बढी काम गर्ने गर्दथे । यसरी औद्योगिक उत्पादन सुरुभभएको थियो ।
हाते तानको सट्टा कपडा कारखानाहरूको स्थापना हुनथाल्यो। जेम्स वाटले वर्मिङद्यमका इञ्जिनियर माथ्यु बोल्टनसँग मिलेर सन् १७८४ मा वाष्प इन्जिन निर्माण गरेपछि मेशिन चलाउन, ठूला–ठूला बोझा उटाउन र पहिलेकोभन्दा धेरै तीव्र गतिमा जहाज एवं गाडीहरू कुदाउन सम्भव भयो । त्यसपछि छपाइ मेशिनको आविष्कार भयो र छपाखानाहरू खुले। वाष्प इन्जिनद्वारा मेशिन चलाउनका निम्ति बलियो चालक शक्तिको स्रोतका रूपमा काठको होइन, पत्थर कोइलाको प्रयोग, पत्थर कोइलाका भट्टीहरूमा स्टिल गाल्ने काम, काठ तथा सजिलै दोब्रिने पित्तल र सजिलै तोडिने कच्चा फलामका औजारको सट्टा स्टिलका औजारहरूको निर्माण, जटिल किसिमका मेशिनहरूको प्रयोग आदि यस्ता कार्य थिए । जसबाट उत्पादनको क्षेत्रमा आमूल परिवर्तन भयो। नयाँ मेशिन, नयाँ ढङ्गको धातु प्रशोधन कार्य र नयाँ ऊर्जा स्रोत यी तीन कुराको समन्वयित प्रयोगले उत्पादनमा मापन नै गर्न नसकिने वृद्धि भयो। एक ठाउँबाट अर्को ठाउँमा जान र सामान पुऱ्याउन लाग्ने समयमा पनि ठूलो कटौति भयो ।
औद्योगिक क्रान्तिले समाजको मूल चरित्रमा नै ठूलो परिवर्तन ल्याइदियो। समाजको उत्पादन पद्धति बदलियो। दुईवटा नयाँ वर्गको रूपमा पुँजीपति र मजदुर वर्गको उदय भयो। सामाजिक उत्पादन कार्यमा तिनै दुई वर्गले मुख्य भूमिका खेल्नथाले। पहिलेका मुख्य वर्ग भूमिपति र किसानको भूमिका अब गौण बन्यो। लाखौं मानिसहरूको कामगर्ने अवस्था र जीवन ज्युने तरिकामा समेत परिवर्तन आयो। ठूल्ठूला औद्योगिक सहरहरू बने।
मार्क्सवादको उदय: पहिले मानिसहरू गाउँमा बस्थे। अब तिनै ठूला सहर र नगरहरूमा मानिसको भिड लाग्न थाल्यो। सन् १७५० मा ५० हजारभन्दा बढी बासिन्दा भएका सहर लण्डन र एडिनवर्ग मात्रै थिए भने सन् १८५१ मा त्यस्ता सहर २९ पुगे र बहुसंख्यक जनता सहरमा बस्नथाले । गाउँमा आफ्नो खेतबारीमा एक्ला एक्लै काम गर्ने मानिसहरू सयौंको संख्यामा सहरको एउटै कार्यस्थलमा जम्मा भएर काम गर्नथाले । औद्योगिक उत्पादन पद्धतिसँगसँगै नयाँ श्रम सम्बन्धहरू सुरुभए। मानिसहरू आफ्नो जीविकाका निम्ति पूँजीपति वर्गसँग नगदको सम्बन्धमा भरपर्न थालेपछि उनीहरूको जीवन पद्धति नै बदलियो।
औद्योगिकीकरणले मानिसको भौतिक जीवनमा मात्रै होइन मानसिकतामा समेत परिवर्तन ल्याइदियो। ठूलो संख्यामा एकै ठाउँमा एउटै अवस्थामा र एउटै समस्यामा रहेर कामगर्न थालेपछि मानिसहरूमा वर्गीय भावनाको विकास हुनथाल्यो। पूँजीपति र मजदुर वर्गबीच अन्तर्विरोध पनि पैदाभयो। श्रमिकहरूले लामो समय टिकिरहनका निम्ति सीप हासिल त गर्थे ।तर, नयाँ प्रविधि आएपछि उनीहरूलाई समस्या पर्थ्यो। श्रमिकहरूको जीवन अभाव, गरिबी, बेरोजगारी, रोगव्याधी, बुढौली जस्ता समस्याले ग्रसित बन्यो। अलिअलि पढ्न लेख्न पाएर केही मात्रामा सचेत बन्दै गएपछि उनीहरूले अन्यत्र के भैरहेको छ भन्ने सूचना पनि पाउन थाले । उनीहरूले क्रमशः आर्थिक अधिकारका कुरा उठाउन थाले। पूँजीपति वर्ग जसरी राजनैतिक अधिकारका निम्ति सामन्त वर्गसँग लडेको थियो,त्यसैगरी मजदुर वर्ग आर्थिक अधिकारका निम्ति पूँजीपति वर्गसँग लड्न थाल्यो। बेलायत, फ्रान्स र जर्मनीका विभिन्न सहरमा ठूलाठूला मजदुर आन्दोलनहरू भए। तर, ती आन्दोलनलाई स्पष्ट ढङ्गले मार्गनिर्देश गर्ने सिद्धान्त नभएकाले त्यसको टड्कारो खाँचो देखिन थाल्यो । त्यसै पृष्ठभूमिमा मार्क्स र एंगेल्सले वर्गसङ्घर्षको बाटो अँगालेको सिद्धान्त प्रतिपादन गरे ।