बिहीबार संसदमा प्रचण्डको सम्बोधन निकै यथार्थ र जिम्मेवारपूर्ण देखियो। आफ्नै टाउकोमा आगो झोस्ने गरी उनले दिएको यो प्रस्तुतिले देशको दारुण अवस्था दर्शाइदियो। सत्ताका मुखियाहरुको मुटु हल्लाइदियो । उनले सल्काएको यो आगाले सत्ताधारीलाई मात्रै होइन, उनी र उनको दललाई पनि पोल्ने छ। तर, आफ्नै टाउकोमा आगो झोसेर भएपनि भ्रष्ट सत्ताको अन्त्य जरुरी भएको सन्देश उनले दिए।
एउटै कानुन मानिस हेरेर, अझ सत्ताका नजिकका भए धरोटी बुझाएर प्रहरी खोर देख्न नपाइ उन्मुक्ति दिने र विपक्षी भए हुँदै नभएको आरोप लगाएर तीन महिना तिर्थाटन गराउने प्रतिशोधी सरकारको जरा धेर हल्लिएको हुनुपर्छ । इतिहासकै कलंकको टीका लगाएको ओली सरकार उसैसंग सति गएको कांग्रेससंग अलिकति पनि नैतिकता छ, भने प्रचण्डले संसदमा व्यक्त गरेको यथार्थपरक तथ्यको जवाफ दिन आँट गर्नुपर्छ।
प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर छुल्या भाषा बोलेर बफादार कार्यकर्तालाई ताली बजाउन लगाएर उन्मुक्ति मिल्दैन अब । जोकर शैलीले वफादार कार्यकर्तालाई मनोरन्जन त दिएको होला। तर, समग्र देशलाई पिराएको छ । अरुलाई ताछेर आफू अग्लो देखिने ओली प्रवृत्ति जताततै भ्वाङ परिरहेको छ। अरौटे भरौटे र दास कार्यकर्ताका अघि उभिएर जोकर प्रस्तुति जस्तो हुने छैन, विपक्षी दलको नेताले तथ्यगत रुपमा लगाएको गम्भीर आरोपको चित्तबुझ्दो जवाफ दिन । यो मुलुकको तीन पटक प्रधानमन्त्री भैसकेको मान्छेले सिंगो संसदको अघि बोलेको विषय यो मामुली होइन। बेढंग र अराजक शैलीमा जवाफ दिएर पनि यो पूर्ण हुने छैन ।
प्रचण्डले भने जस्तै माफियाकै डिजाइनमा ओली सरकार बनेकोमा कुनै द्धिविधा छैन ।माफियाहरु हौसिरहेको बेलामा जनता रोइरहेका छन्। सत्ताधारीका अवसरवादी कार्यकर्ता बाहेक सबैको सरकारप्रति चर्काे रोष छ। सत्ताको चरम दुरुपयोग गरेर गोयवल्स शैलीमा प्रचार गरिएका फत्तुृरहरु पिसाबको न्यानो मात्रै हुन्। यस्ता फत्तुर भाषा र मिथ्यांक पेश गरेर जनताले विश्वास गर्ने देखिन्न । जुन दिन सरकारले गिरीबन्धु,कम्बोडिया, नक्कली भुटानी शरणार्थी , वाइडबडी लगायतका भ्रष्टाचारका काण्डको स्वतन्त्र र शक्तिशाली आयोग बनाएर एक- एकको अध्ययन र अनुसन्धान थालेर कारबाही गर्न तयार हुन्छ, त्यत्तिबेला जनताले बल्ल पत्याउनेछन्। होइन भने भ्रष्टहरुसंग सत्तामा कुम जोडेर भ्रष्टाचार गर्न दिन्न भन्नुको कुनै औचित्य छैन । किनकी सरकारको खुट्टी हेरी जनताले चाल पाएका छन्।
ओली सरकार भ्रष्टहरुको गडफादर हो भन्नेमा अब जतना प्रष्ट भएका छन्। त्यसै कारण आफ्नो कुकर्म लुकाउन सामाजिक सन्जालमाथि नियमनको आवरणमा नियन्त्रण गर्न खोजिएको पनि छ। विद्युत बक्यौतामा माफिया बोक्नेदेखि धितोपत्र बोर्डमा नियुक्तिका प्रसंग होउन् या नयाँ स्टक एक्सचेन्जमा कमिसनको चक्करको पर्दाफास बिहीबार संसदमा भएको छ । खुरुखुरु काम गरिरहेका कुलमानमाथि चरम मानसिक यातना दिएको ओली सरकारको जनताले राम्रोसंग हिसाब राखेकै हुनुपर्छ।
सरकारकै विरोध गरेवापत युवाहरुलाई हत्कडी लगाएको विषय पनि उत्तिकै छ। सरकारका यस्ता रवैयाको विषयमा बिहीबार प्रचण्डले जे जसरी प्रस्तुत गरे, यसले सत्ताधारीहरुको चेहरा छ्याङ्गै पारिदिएको छ। आफ्नो अनुहारमा धुलो नटट्काएर ऐनालाई दोष दिने सरकारको तीन पुस्ते कहानी प्रचण्डले खोलिदिएपछि यीनीहरुको धोती खुस्किएको छ। सरकारले शुरु गरेको प्रतिशोधी राजनीतिले भोलिका दिनमा त्यही खाल्डोमा आफै जाने उनको संकेतले सत्ताधारीहरु धेरै बेचैन भए ।
प्रचण्डका पनि हजारौ कमजोरी छन्। कमजोरी सुधार्ने मानिस बुद्धिमान हो । कमजोरी छोप्नु जाली झेली हो। प्रधानमन्त्री ओली सधै कमजोरी छोप्छन्, उनी आफ्नो कमजोरी मात्रै होइन बफादार कार्यकर्तालाई पनि उस्तै ओत्छन्। यीनै छुल्या प्रधानमन्त्री विपक्षी दलको नेताको जवाफ के दिनछन्, त्यो चाँडै थाहा होला नै । संसद चलिरहेको थियो । प्रधानमन्त्री संसद बैठकमा गएनन्। त्यही संसदले बनाएका प्रधानमन्त्री हुन् उनी। तर, संसदलाई उनले पकेटकै ठान्छन्। यस अघि प्रधानमन्त्री भएको बेला दुई÷दुई पटक संसद विघटन गरेका ओलीलाई सार्वभौम संसद मामुली लाग्छ। त्यही भएर पनि होला उनी बिहीबार टिकटिकरलाई बोलाएर दिन विताएका थिए । देशको प्रधानमन्त्री फुर्सदै फुर्सदमा टिकटकरसंग बैठक बसेरै समय विताउँछन्, भने देशको हालत सहजै अनुमान गर्न सकिन्छ।
यता संसदमा प्रतिपक्ष दलको नेताले भ्रष्टाचारको कुण्डली बताउँदा उनी छलफलमै व्यस्त थिए । यद्यपि उनका नेता कार्यकर्ताले संसद र सन्जालमा कुण्ठा र आक्रोशको अभिव्यक्ति भनेर टिप्पणी गर्न भ्याइएपनि मुलुकको वास्तविकता यही हो ।माफिया,विचौलिया र भ्रष्टहरुको विगविगी छ। सत्तादखि सडकसम्म भ्रष्टाचारको जरा निर्कै दर्बिलो गरी धसिएको छ । भ्रष्टचारको जरा उखेल्न हजार हर्संपावरको शक्ति पनि अपर्याप्त हुन सक्छ । भ्रष्टाचारको सहिसलामतले अनुसन्धान हुने हो भने कम्तीमा एक तिहाइ माननीयहरुको बास झ्यालखानामै हुन्छ।बर्तमान प्रधानमन्त्री ओलीदेखि देउवा कोही अछुतो नरहने देखिन्छ। स्वयं प्रचण्ड पनि जान सक्छन्। भ्रष्टाचार र बेथितिकै कारण नेता धनी भएर देश कंगाल भएको मुलुक हो । सरकार प्रमुख भ्रष्टाचार गर्दैन भन्छन्। तर आफै भ्रष्टहरु बोकेर हिड्छन्। त्यसैमा पनि गिरीबन्धुदेखि कम्बोडियोको विषय उनीमाथि उत्तिकै छ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई सताउनेदेखि नयाँ स्टक एक्सचेन्जको लाईसेन्समा ओली सरकारको डिजाईनको उनले भण्डाफोर गरिदिए । स्पिनिङ मिलको नक्कली अडिटदेखि धितोपत्र बोर्डमा ओलीले नियुक्त गरेका पात्रको सविस्तार चिरफार गरे । जिउँदो संसदलाई छलेर अध्यादेशबाट शासन चलाउने दम्भी र अहंकारी ओली सरकारको शीरमै घन प्रहार गरे। सत्ताका मालिकहरुलाई बेचैन गराउने गरी उनले गरेको फेयरहिस्त विवरणले देशको वास्तविकताको ऐना देखाइदियो ।
मुलुकको अहिलेको जे जस्तो अवस्था छ। त्यसको जिम्मेवारको अंश उनले पनि लिनुपर्छ । त्यसका लागि उनी पनि तयार हुनुपर्छ। त्यसको लागि आफूमाथि पनि अनुसन्धान गर्न सरकारलाई चुनौति दिए। गिरीबन्धु चियाबगानदेखि कम्बोडियामा साढे ३२ अर्बको लगानीको विषयमा पनि अनुसन्धान गर्न चेतावनी दिए। कुनै पनि काण्डमा प्रचण्ड संलग्न भएको पाइए कारबाही गर्न आग्रह गर्दै नक्कली भुटानी शरणाथीदेखि कम्बोडियासम्मको विषयमा सरकारलाई अनुसन्धान गर्न सघाउनेसम्मको बाचा दिए ।यसले सरकारमाथि गम्भीर नैतिक संकट परेको छ। विपक्षी दलबाट गम्भीर आरोप लागेपछि उसले त्यसको जवाफ दिनुको विकल्प छैन । तर, सरकारसंग त्यस्तो नैतिक तागत देखिन्न । किनकी सरकार र भ्रष्टाचार उस्तै उस्तै देखिने गरेका छन्।








