शुक्रबार बिहानै त्रिशुली पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन्। दुघर्टना भएलगत्तै गोताखोरसहितको टोलीले नदीको तीन सय मिटर तलसम्म खोजतलास गर्दा पनि कसैलाई फेला पार्न नसकिएको हो । प्रतिकूल मौसमसंगै रातको अवस्थामा खोज तथा उद्दार कार्यमा कठिनाइ भइरहेको छ।
प्रहरीलाई प्राप्त विवरण अनुसार ५१ जना यात्रु अहिलेसम्म हराइरहेकोको नेपाल प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले सरजु अनलाईन डटकमसंग बताए। उनी भन्छन्, “वीरगञ्जबाट काठमाडौ आउँदै गरेको बसमा ३० जना र काठमाडौबाट गौर जाँदै गरेको बसमा २४ जना यात्रु रहेको तथ्याँक छ,ती बसमा बीच बाटोबाट पनि यात्रु चढेको हुन सक्ने देखिन्छ। यद्यपि को कति चढे भन्ने प्रहरीसंग एकिन तथ्यांक छैन । प्रहरीलाई प्राप्त विवरण अनुसार आधिकारिक तथ्यांक ५१ जना मात्रै हो ।ती ५१ जना अहिलेसम्म हराइरहेका छन्। बिहानदैनि गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेपनि यतिबेलासम्म कसैलाई फेला पार्न सकिएको छैन ।”

यात्रु सवार बस फेला परे नपरेको विषयमा उनी थप भन्छन्, “पहिरोमा बगेकाहरु कसैलाई फेला पार्न नसकिएको मात्रै होइन, यात्रु सवार बस समेत भेटिएको छैन, खोज तथा उद्दार टोलीले बिहानैदेखि खोजी कार्य जारी राखेपनि अहिलेसम्म यात्रुसंगै सवार बस पनि फेला नपरेको हो । ”प्रहरीक अनुसार वीरगञ्जबाट काठमाडौ आउँदै गरेको बा.प्र.३००६ ख १५१६ को एन्जेल रात्रीबस र काठमाडौबाट गौर जाँदै गरेको बा.प्र.०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स रात्रीबस दुघर्टनमा परेका थिए। नारायणगढ मुग्लिड सडकखण्डको सिमलतालमा शुक्रबार बिहान ३:३०बजेको समयमा सडकमाथि पहिरो खस्दा लेदोसहितको पहिरोमा बस बगेका थिए।पहिरोमा बगेर बेपत्ता भएकाहरुको नाम ठेगानाको विवरण प्राप्त भएपनि उनीहरु कहाँ छन्? कस्तो अवस्थामा छन् भन्ने कुरा यो सामग्री तयार पार्दासम्म थाहा लागेको छैन। बिहानदैखि खोजी कार्य जारी राखेपनि अहिलेसम्म प्रहरीले कोही कसैलाई पनि भेटाउन नसकेको हो ।

त्रिशुली पहिरोमा परी बेपत्ता भएकाहरुको परिवारजन शोकमा डुबेका छन्। आफन्तको छिटो खोजी गरिदिन उनीहरुले आग्रह गरेका छन्। विपद्मा परी हराइरहेकाहरु अहिलेसम्म फेला नपर्दा गाउँ शोकमा डुबेका छन्। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरमा मानवीय तथा भौतिक क्षति भएको छ, कास्कीमा पनि पहिरोमा परी ७ जनाको ज्यान गएको छ।