१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

सुर्खेतबाट कर्णालीका दुर्गम जिल्लामा अब सीधा उडान


२० मंसिर २०८१, बिहिबार  



सुर्खेतबाट कर्णाली प्रदेशका तीन जिल्लामा आन्तरिक हवाई उडान सुरु भएको छ ।

कर्णाली प्रदेशमा आन्तरिक उडान नहुँदा लुम्बिनी प्रदेश भएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सडकमार्ग भएर आउनुपर्ने बाध्यता थियो ।

तारा एयरलाइन्सको जहाजले बुधबारदेखि कर्णालीको सुर्खेतदेखि जुम्ला, मुगु र हुम्लामा उडान सुरु गरेको हो । सुर्खेत र माथिल्लो कर्णालीमा सिधा उडान सुरु भएपछि निकै राहत हुने कर्णालीबासीले जनाएका छन् ।

स्थानीय जयबहादुर रावतले आन्तरिक उडान नहुँदा नेपालगन्जसम्म जहाजमा गएर सडक हुँदै सुर्खेतसम्म पुग्नुको पीडा भाेगेकाे बताउँछन्। उनी भन्छन्, हवाई उडान भएमा सुर्खेत प्रदेश राजधानी हो भन्ने महशुस आभास हुनेछ ।’

हरेक बुधबार र शनिबार सुर्खेतदेखि तारा एयरलाइन्सले उडान भर्ने कार्यतालिका छ । तारा एयरलाइन्स नेपालगन्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा पाएको छ । कर्णाली प्रदेश राजधानीबाटै आन्तरिक उडान सुरु हुँदा सुर्खेतमा बसोबास गरिरहेका हुम्ला, मुगु र जुम्लाका विद्यार्थी र स्थानीय निकै उत्साहित बनेका छन् । सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यावसायिक रूपमा आन्तरिक उडान सुरु भएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावलले जानकारी दिए । यसअघि सीता एयरले पनि सुर्खेत–जुम्ला व्यावसायिक उडान सुरु गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ३ : ३४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित