लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग (पीक डिमाण्ड) १६सय २ मेगावाट पुगेको छ ।
लक्ष्मी पुजाको दिन देशभर झिलिमिली बत्ति बाल्दा पनि जम्मा आन्तरिक पीक डिमाण्ड १६सय २ मेगावाट पुगेको हो । तिहार झिलिमिली बत्तिको पर्व हो । झिलिमिलि बत्ति बालेर लक्ष्मी पुजा मनाउने चलन छ ।
लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार आन्तरिक रुपमा खपत भएर बढी भएको २५३ मेगावाट बिजुली भारत निर्यात समेत भएको छ । देशमा जम्मा १६सय २मेगावाट खपत भएको छ। जबकि बुधबार नेपाल र बंगलादेशबीच भएको साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदा १८ सय मेगावाट खपत भएको थियो। प्राधिकरणका अनुसार गएको वर्षको लक्ष्मी पूजामा १६ सय मेगावाट विद्युुत खपत भएको थियो ।
बिहीबार बेलुकी कलंकीको स्युचाटारमा लोड डिस्प्याच सेन्टरमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोली पुगेको थियोे । हरेक वर्षको लक्ष्मी पुजाको दिन कुलमान घिसिङ स्युचाटार पुगेर आफै लोड व्यवस्थापनमा खटिन्छन् ।
२०७३ सालको तिहारमा विद्युत प्राधिकरणले सबैलाई झिलिमिलि बत्ती बाल्न आग्रह गर्यो । अरु बेला गइरहने बिजुली उक्त दिन झ्याप झ्याप गएन । घिसिङले लक्ष्मी पुजाका दिन सबैभन्दा धेरै लोड हुने भन्दै लोडसेडिङ अन्त्यको परीक्षण गरेका थिए । उक्त परीक्षण सफल भएको थियो । लक्ष्मी पुजा काे दिन देखि नेपाल अध्यारोबाट उज्यालोतिर मोडिएको थियो । लक्ष्मी पुजामा साँझ र रातमा कुनै पनि घरमा बत्ति निभाइदैन ।
अहिले प्राविधिक समस्या आएर केहि स्थानमा बाहेक अरु सबै ठाउँमा झिलिमिल बत्ति बालिएको प्राधिकरणले जनाएको छ ।
पूराना वर्षहरुमा लक्ष्मी पुजाको दिन सबैभन्दा धेरै बिजुली खपत हुन्थ्यो । झिलिमिली बत्तिका कारण लोड ह्वात्तै बढ्थ्यो । अहिले भने परिस्थिति फरक भएको छ । अहिले लाइटिङ लोडभन्दा औद्योगिक लोड धेरै छ । पहिले बिजुली बत्ती बाल्नका लागि प्रयोग गरिन्थ्यो । अहिले औद्योगिक लोड धेरै छ । सोही कारण चाडपर्वहरुमा उद्योग बन्द हुँदा प्राधिकरणका अनुसार लोड घटेको हो ।