४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

पग्लिदै हिमाल, चुलिदै पर्यावरणीय संकट


९ जेष्ठ २०८१, बुधबार  


डेढ दशक बढी देखि हिमाल आरोहण गर्दै आएका पश्चिमका हिमआरोही मानबहादुर खत्री भन्छन्, हिमरेखा सर्दैछ,हरेक वर्ष हिमतालहरु पग्लिने मात्रै होइन, समशितोष्ण हावापानीमा पाइने बोटबिरुवा हिमरेखा माथि पाइन थालेका छन्, आरोही खत्री भन्छन्,हरेक वर्ष हिमाली क्षेत्र कालो पत्थरमा फेरिएको मात्रै छैन, अस्वभाविक मौसमको अनुभव गर्न पाइन्छ। मेरो डेढ दशक लामो हिमाल आरोहणको अनुभवले यो देखाउँछकी हिमाली क्षेत्र पर्यावरणीय संकट झेलिरहेको छ, हिमाल पग्लिदै जाने र हिमताल विस्फोट हुने हो भने, विपत्ति भयानक निम्तिन सक्छन, खत्री भन्छन्।

सगरमाथादेखि पश्चिमका हिमालहरुको सफल आरोहण गरेका खत्रीका अनुभवलाई केलाउने हो, भने हाम्रो हिमालय क्षेत्र निकै जोखिममा छ। करिब एक सय सत्तरी करोड मानिसहरुको आश्रय स्थल रहेको दक्षिण एशिया हिमालय पर्वतमालाको काखमा छ। गंगा ब्रम्हपुत्र जस्ता विशाल नदीहरु हिमालय क्षेत्र मुहान भएर बग्ने नदी हुन्। नेपालबाट बग्ने कोशी,गण्डकी र कर्णाली जस्ता नदीको उद्गम स्थल पनि हिमालय क्षेत्र हो । म्यानमारदेखि अफगानीस्थानसम्म फैलिएको हिमालय क्षेत्र मुलतः जलवायु परिवर्तनको असरको मारमा छ। त्यसको डरलाग्दा संकेतहरु देखिन थालेको धेरै भएपनि जोखिम न्यूनीकरणमा त्यत्ति चासो देखिन्न। विशेष गरी कार्बनमोनोडाइअक्साईडको बढ्दो उत्सर्जनले पृथ्वीको तापक्रमको पारो उकालो लाग्दै आएको छ।
पृथ्वीलाई जीवन सुहाउँदो बनाउने मुख्य तत्व हुन्, ताप,प्रकाश र गुरुत्वबल। वायुमण्डल र जलवायुले हाम्रो पृथ्वीलाई प्राणीको अस्तित्वमा ल्याउने मुल आधार हुन्। जल, थल र वायुमण्डबीच हुन क्रिया प्रतिक्रियाले हजारौ पारिस्थितिक प्राणालीको निर्माण गरेको छ। लाखौ जीव र वनस्पतिको आश्रय स्थल पृथ्वी सबैको परिपालक र सृष्टिकर्ता हो । सबैको साझा पृथ्वी आज वातावरणीय संकटको पिरलोमा छ, औद्योगिकीकरणको नाममा अन्धधुन्द जबरजस्ती गरिएको मानव केन्द्रीत विकासको परिणती हो ।अस्वस्थ र पर्यावरण विरोधी यस्ता विकासले वायुमण्डलमा हरितगृह गुण भएका कार्बनडाइअक्साइड लगायतका ग्यास उत्सर्जन हुने गरेको छन्। जसको कारण पृथ्वीको सन्तुलित प्रणाली खल्बलिदै गएको छ। तापक्रम वृद्धिले पृथ्वी संकटमा ।

वैज्ञानिक अध्ययन भन्छ, औद्योगिक क्रान्ति शुरू हुनुअघि सन् १८५० तिर वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो, अहिले यो १५.१ डिग्री पुगेको छ। अर्थात्, समग्र वायुमण्डलको औसत तापक्रम १.१ डिग्री बढेको छ। झट्ट सुन्दा १.१ डिग्री त हो भन्ने लाग्न सक्छ, तर यो ठूलो परिवर्तन हो। वायुमण्डलमा अथाह तापशक्ति थपिएको कारण औसत तापकम १.१ डिग्री माथि गएको हो। थपिएका हरितगृह ग्यासहरूका कारण सूर्यबाट पृथ्वीमा आएको ताप शक्ति सन्तुलित मात्रामा पृथ्वी बाहिर जान पाउँदैन। त्यो थप ताप शक्ति (ऊर्जा) जल, स्थल र वायुमा घुमिरहेको छ। जति पनि मौसमी समस्या बढेका छन्, ती सबै यही शक्तिको खेल हो भन्न गाह्रो छैन । कोइला, डिजेल, पेट्रोल जस्ता खनिज इन्धनको प्रयोग, वन फँडानी, वातावरणको अत्यधिक दोहन गर्ने खेती पद्धति, अव्यवस्थित बस्ती विस्तार गर्ने जस्ता कारणले हरितगृह गुण भएका ग्यासहरूको वृद्धि भएको हो। यी ग्यासहरूमा ताप सोस्न र सञ्चय गर्न सक्ने क्षमता हुन्छ। यिनले पृथ्वीबाट बाहिर जानुपर्ने तापलाई छेकेर वा सोसेर राख्छन्। बढी सञ्चय भएको तापशक्तिका कारण पृथ्वीको वायुमण्डल, जल र स्थलको तापक्रम बढेर विश्व उष्णीकरण प्रक्रियाका कारण जलवायु परिवर्तन गराएको हो।

यस वर्षको हिउँद पनि सुक्खा रह्यो, खडेरीले हिउँदे बाली सप्रिएन। काठमाडौ उपत्यकामा करिब १ महिनापछि मात्रै पानी प¥यो । वर्षात भएपछि केही राहतको महशुस गरे उपत्यकाबासीले । उपत्यकासहित पानी परेपछि पहाडमा मकै बालीको गरियो, जुम्लामा धान रोपाइ गरियो, भने पहाडी क्षेत्रमा ब्याडमा धानको बीउ राखिएको छ। पानी पर्ने चक्र अनियमित हुँदा चर्काे खडेरीले पानीका मुहान सुके, दाङ लगायतका जिल्लामा पानीको हाहाकार छ। जथाभावी पहाडमा डोजरे विकास छ, पानीका मुहान सुक्दै गएपछि पानीको अभाव हुने नै भयो । पानीको मुहान सुक्दै जानु र पारिस्थितिक प्रणालीमा खलल आउनुले पर्यावरणीय संकट महासंकट बन्दै गएको देखिन्छ, यसको सिधा असर हिमाली क्षेत्रमा परेको देखिन्छ, हिमरेखा सर्दै जानु र हिमतालहरु पग्लिदै जानुले करिब १ सय सत्तरी करोडका मानव बस्ती रहेको हिमालय क्षेत्र र त्यसको तटिय क्षेत्र प्रकोपको खतरायुक्त छन्।
तापशक्तिको स्थानान्तरण
तापका कुरा र त्यसले गराउने तापक्रम वृद्धिको सन्दर्भ जलवायु परिवर्तन बुझ्न सहयोगी छन्। शक्ति (ताप) एउटा रूपबाट अर्कोमा बदलिन सक्छ र एउटा माध्यमबाट अर्कोमा सर्दै पनि जान्छ। यसरी ऊर्जा रूपान्तरण हुन्छ, तर कहिल्यै नाश हुँदैन। रूपान्तरणका क्रममा सूर्यबाट आउने प्रकाश र तापशक्तिले पृथ्वीमा विभिन्न काम गर्छ। जस्तै, घाममा पानी सेकाउँदा घामको ताप पानीमा सर्छ र पानी तात्छ, वायुमण्डललाई न्यानो बनाइराख्छ, पानीलाई बाफ बनाउँछ र वायुमण्डलमा पठाउँछ।पानी तरल अवस्थामा रहन पनि तापशक्तिको भूमिका हुन्छ, नत्र त पृथ्वीको पानी जमेर सबै बरफ हुन्थ्यो। नदी बग्ने थिएनन्। कुवा, पोखरी, ताल, मूल हुने थिएनन्। जमीनमुनिको पानी पम्प गरी निकाल्न सकिंदैनथ्यो।

तापशक्तिको मानक जूल (१००० जूल बराबर १ किलोजूल) हो भने तापक्रमको डिग्री सेल्सियस वा फरेनहाइट। मोटामोटी हिसाब गर्दा एक किलोग्राम हावाको तापक्रम एक डिग्री सेल्सियस बढाउन लगभग एक किलोजूल तापशक्ति चाहिन्छ। एक लिटर शुद्ध पानी एक डिग्री तताउन ४.२ किलोजूल तापशक्ति चाहिन्छ। पृथ्वीको वायुमण्डलको औसत पिण्डमान करीब ५.१४८० × १०१८ किलोग्राम (पाँच अर्ब १४ करोड ८० लाख गिगाटन) छ। यसलाई एक डिग्री बढी तताउन त्यति नै किलोजूल शक्ति चाहिन्छ। हामीलाई एक डिग्रीले के फरक पार्छ भन्ने लाग्न सक्छ। तर कल्पना गरौं, पृथ्वीको सतहको तापक्रम औसत १.१ डिग्री बढाउन कति बढी तापशक्ति सञ्चय भएको होला!

शक्तिलाई बिजुलीको युनिटमा रूपान्तरण गरेर पनि बुझ्न सकिन्छ। एक युनिट बिजुलीमा करीब ३,६०० किलोजूल शक्ति हुन्छ। एक युनिट बिजुलीले १४ डिग्री सेल्सियस तापक्रम भएको १० लिटर पानीलाई तताएर उमाली तापक्रम १०० डिग्री सेल्सियस पु¥याउन सक्छ। सामान्यतया हामीले पानी १०० डिग्री तातेपछि बाफ बन्छ भन्ने बुझेका छौं। त्योभन्दा कम तापक्रममा पनि पानी बाफ बनेर हावामा मिसिइरहेको हुन्छ। धोएर सुकाएका कपडा र माझेका भाँडा बिस्तारै सुक्छन्, किनभने त्यहाँ रहेको पानी बाफ बनेर हावामा मिसिन्छ। जलवायु सम्बन्धी अन्तरसरकारी प्यानलका अनुसार, करीब ९० प्रतिशत तापशक्ति समुद्रमा जम्मा हुन्छ। त्यसैले समुद्र सतहको पानी पनि तातिइरहेको छ।

सेन्ट थोमस विश्वविद्यालयमा थर्मल साइन्सेस विषयका प्राध्यापक र एड्भान्सेस इन एट्मसफेरिक साइन्सेस जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धान लेखका सहलेखक जोन अब्राहमले द गार्डियन पत्रिकामा ११ जनवरी २०२२ मा प्रकाशित आलेखमा भनेका छन्– ’गत वर्ष (सन् २०२१) समुद्रमा जम्मा भएको तापशक्ति हिरोशिमा शहरमा पड्काइएको जस्तै सात वटा आणविक बम हरेक सेकेन्ड, चौबीसै घण्टा, ३६५ दिनसम्म (वर्षभरि) पड्काउँदा उत्पन्न हुने बराबर परिमाणको थियो।’ उनका अनुसार, समुद्रमा भइरहेको तापमान वृद्धिले जलवायु परिवर्तन कति छिटो भएको छ भन्ने प्रश्नको उत्तर दिन्छ। यसरी औसत तापक्रम निरन्तर बढ्ने हो भने आउँदा दिनहरूमा ठूलो उथलपुथल हुनेछ। हाम्रो वरपरको पर्यावरण झन् झन् बदलिनेछ। यसले भविष्यमा पृथ्वीको जीवन पद्धति असन्तुलित र अकल्पनीय हुने वैज्ञानिकहरूको ठम्याइ छ। विषम मौसमी घटनाहरू अझै बढ्नेवाला छन्। जसका कारण जलवायुजन्य प्रकोपहरू नियमित जस्तै भोग्न बाध्य हुनेछौं।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित