२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

टरिगाउँ विमानस्थल कहानी:राजनीतिक चटक कि,चिन्ता ?


८ भाद्र २०८१, शनिबार  


विमान इतिहासको पानो पल्टायो भने करिब ८० वर्षको यात्रा होला सायद। सन १९४५ मा पहिलो पटक नेपालमा विमान उडेको थियो। त्यसको ठीक दश वर्षपछि विमानले पाइलो टेकेको थियो, दाङको टरिगाउँ विमानस्थलमा ।त्यो मिति हो, २०११ सालको । जबकी रुपन्देहीमा रहेको गौतमबुद्ध विमानस्थल, टरिगाउँ विमानस्थल भन्दा तीन वर्षपछि अर्थात विक्रम सम्वत २०१४सालमा स्थापना भएको थियो। सन १९५८ मा स्थापना भएको यस विमानस्थल यतिबेला भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैसकेको छ।

कांग्रेस साँसद दीपक गिरीको नेतृत्वमा गएको टोलीसंग प्रधानमन्त्री ओलीले टरिगाउँ विमानस्थल बनाउन आवस्य छ,तर, बन्छ, भन्नु भएन, आवस्यक छ मात्रै भन्नु भयो। प्रधानमन्त्रीको यस्तो प्रतिक्रियाले विमानस्थल स्तरोन्नती र संचालनप्रति सरकार त्यत्ति संवेदनशील भएको जस्तो लागेन भन्छन्, तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल । टरिगाउँ विमानस्थल स्तरोन्नती र संचालनको लागि लामो समयदेखि अनवरत संघर्ष गर्दै आएका तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालको टोलीले सरकारका विभिन्न निकायहरुलाई ६५ भन्दा बढी ज्ञापन पत्र बुझाइसक्यो । तर, ज्ञापनपत्रको खात लागेपनि विमानस्थल स्तरोन्नती र सञ्चालनमा सरकारको हात लागेको कतै गुन्जायस देखिन्न ।

प्रदेशकै पुरानो विमानस्थलको बेहाल !
हालको लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो विमानस्थल हो, टरिगाउँ । टरिगाउँ विमानस्थल २०११ सालमै स्थापना भएको थियो। दरबारसम्म पहुँच भएका झग्गुप्रसाद आचार्य लगायतले पर्ती डाँडोलाई सम्याएर सेनाको एक टुकडी समेत ल्याई २०११ सालमा पहिलो पटक यहाँ विमान उतारेका थिए, भन्छन् ,संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक नारायण आचार्य। तर, दलको हातमा सत्ता आएपछि दाङ सत्ताको पहुँचबाटै बाहिरै भएको यही उदाहरण काफि छ। विक्रम सम्वत २०१६ कात्तिकमा गणेशमान श्रेष्ठ यातायातमन्त्री भएका वेला देवकोटाकै पैरवीमा विमानस्थल औपचारिकरुपमा सञ्चालनमा आएको हो। ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग भएको टरिगाउँ विमानस्थलमा साना १९ सीटे विमान मात्रै अवतरण गर्न सक्छन्। यी विमानको सेवा पनि कहिले यात्रु अभाव त कहिले मौसमको कारण देखाएर अवरुद्ध हुँदै आएको तितो अनुभव छ, दंगालीसंग ।

यसअघि विमानस्थलमा बाउजर (इन्धन भर्ने व्यवस्था)को अभाव देखाएर विमान कम्पनीहरुले उडान भर्न मानेका थिएनन्। पछिल्लो समय टरिगाउँमा बाउजर पनि राखिसकिएको छ।,तर यात्रुको अभाव छ भन्दै टार्दै आए । विमानस्थल विस्तार नगरुन्जेल साना विमान उडान पनि त्यत्ति सम्भव नभएको अनुभवबाट सिद्ध भैसकेको छ। त्यसका लागि विमानस्थल विस्तार गर्न भन्दै सरकारले चालू आर्थिक वर्षको बजेटमा टरिगाउँको नाम उल्लेख गरेको थियो। यद्यपि यस अघिका सरकारले पनि बजेटको पानोमा लेख्न त छुटाएनन्। तर, बजेट कार्यान्वयन भएन। टरिगाँउ विमानस्थल आफ्नै कहानीमै हराइरहेको छ।


गएको साल २०८० चैत २० गते दाङका गन्नेमान्ने नेताहरुले विमानस्थल विस्तारको विषयमा तत्कालीन पर्यटन मन्त्री हितबहादुर तामाङलाई भेट गरेका थिए। एमाले नेतृ कोमल वली, एकीकृत समाजवदीका नेता मेटमणी चौधरी, माओवादीका नेता हेमराज शर्मा(डायमण्ड) र तुल्सीपुरउपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले मन्त्रीलाई ज्ञापनपत्र दर्शाएको थियो ।

त्यसपछि सरकारले पनि देशभरका विमानस्थलहरुको स्तरवृद्धिको लागि भन्दै ३ अर्बको बजेट विनियोजन गरेको हो । त्यत्ति प्राथमिकतामा नपरेको विमास्थल विस्तारको योजना बजेटको घानमा मिसिएपनि कार्यान्वयन प्रक्रियातिर गएको खासै देखिएन। टरिगाउँको नाममा नेता र अगुवा व्यापारीहरुको ज्ञापनपत्रको शिलशिला निरन्तर छ। पूर्वमन्त्री बहालवाला मन्त्री, सभामुख र प्रधानमन्त्री सबै सबैलाई ध्यानाकर्षण गराउँदै आएका छन्।

यस्तो ज्ञापनपत्रको श्रंखला अविछिन्न छ। तर, टरिगाउँमा विमान कहिले उडान हुन्छ ? कसैले कुनै विश्वसनीय जवाफ दिन कसैले सकेको छैन । अन्तयहिन ज्ञापनपत्र सस्तो लोकपृयताका लागि गरिएको स्टन्ट भएको पनि एकथरीको टिप्पणी छ।
प्रशष्ट सम्भावना, तर,सत्ताको चरम उपेक्षा :
नेताका लागि सस्तो लोकपृयताको मसला भएपनि आम दंगालीले हवाइ सेवा पाउन सकेका छैनन्। सुगम भूगोल भएर पनि हवाइ सेवामा कर्णाली भन्दा पनि दुर्गम छ, दाङ । दाङमा विमान उडान सुन्दा पनि खुशाउनुपर्ने नियती छ। जसको कारण दाङबाट काठमाडौं जान १२० किलोमिटर परको नेपालगन्ज र १६० किलोमिटर परको भैरहवा पुग्नुपर्ने बाध्यता छ। टरिगाउँमा उडान नियमित हुने हो दाङले ठूलो हवाइ राहत पाउँथ्यो भने यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने थियो यति मात्रै होइन, दाङका छिमेकी जिल्ला सल्यान, प्यूठान र रोल्पाका नागरिकलाई समेत सहज हुने थियो।

टरिगाउँमा २०१६ देखि २०४२ सालसम्म नियमित उडान भएको थियो। यस अवधिमा उडान बन्द भयो। त्यसको १८ वर्षपछि २०६० सालबाट विमान सेवा पुनः शुरु भयो। तत्कालीन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार श्रेष्ठको २०६६ सालसम्म टरिगाउँमा उडान नियमित भएको थियो। तर, पुनः डेढ वर्ष कालोपत्रेका लागि विमानस्थल बन्द भयो।२०७९ सालयता भने विमानस्थल सञ्चालनमै भए पनि तालिका अनुसार उडान हुन सकेको छैन। विमानस्थल विस्तार र संचालन नहुनुमा दलका नेताहरुको कमजोरी भएको तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तम कुमार श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “संसारले समुद्रमुनि बस्ती बसालिसक्यो, हाम्रो २०१६ सालमा टरिगाउँमा विमान उडेको अहिले कहानी जस्तो भाछ। त्यसका लागि ज्ञापनपत्र दिने मन्त्री भेट्ने बाहेक केही उपलब्धि भएको देखिन्न । हवाइ सेवा सुचारु नहुँदा दाङका नागरिकले समय र पैसाको बर्बादी गर्नुपरेको छ। अत्यावश्यक सेवाका लागि काठमाडौ जान परे विमान छैन । सुर्खेत,नेपालगन्ज र भैरहवामा त्यत्रो विकास भइसकेको हाम्रो हालत ज्ञापनपत्रमै दिन गुज्रिएको छ ।”
अलपत्र लामिछाने प्रतिवेदन :
टरिगाँउ विमानस्थल विस्तारको सम्भाव्यताको विषयमा प्राध्यापक डा.गोविन्द लामिछानेले अध्ययन गरेका थिए। १५ दिन लामो अध्ययनपछि उनले तत्कालीन पर्यटन मन्त्री हितबहादुर तामाङलाई प्रतिवेदन बुझाएका थिए । लामिछाने प्रतिवेदनमा टरिगाउँ विमानस्थल मौसमका हिसाबले प्रदेशकै उपयुक्त भएको उल्लेख गरिएको छ। लामिछानेले नागरिक उड्डयन प्राधिकरण (क्यान)सँगको सहकार्यमा १५ दिन लगाएर विमानस्थलको स्तरोन्नतिको विषयमा अध्ययन गरेका थिए । अध्ययनमा टरिगाउँ विमानस्थल सानो भए पनि भैरहवा र नेपालगन्जको तुलनामा उत्कृष्ट स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी विमानस्थलको स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड २८ लाख ३५ हजार २३० रुपैयाँ आवश्यक पर्ने देखिएको छ।स्तरोन्नतिपछि टरिगाउँमा ७२ सीटे विमान समेत अवतरण गर्न सक्छ। विमानस्थलसंग प्रशष्ट जग्गा छ,प्रतिवेदनले उल्लेख गरे अनुसार विमानस्थल विस्तारका लागि ३६० विगाह जम्मा आवस्यक पर्दछ।जुन आवस्यक जग्गा विमानस्थलसंगै पर्याप्त छ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ३९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित