१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

काठमाडौं–ग्वाञ्जाओ सिधा उडान सुरु गर्दै नेपाल वायुसेवा निगम


७ आश्विन २०८२, मंगलबार  



राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ। निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौं उडान सेवा सुरु गर्ने भएको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ। निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ। निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ। पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ।

त्यसपश्चात प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ। काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ।

अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए। निगमले निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ। नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ। नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित