३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रकाशकीय


१३ असार २०८१, बिहिबार  


– शिला धिताल
हुन त आकाशमा तारा कति छन् कति, गिन्ति सम्भव नहोला। तैपनि भनिन्छ, त्यो निलो आकाशको विराट काखमा लाखौ तारा छन्। ती लाखौ ताराहरुकै बीचमा एउटा एक्लो चन्द्रमा छ, जस्ले छोड्ने प्रकाशले धर्र्तीको भयांनक अध्याँरोको पर्दा मात्रै च्यातिदैन, उसको शितलताले सबैलाई मोहनी लगाउँछ। सायदै होलान्, यो धर्तीमा चन्द्रमाको त्यो मोहनीबाट अलग भएकाहरु। हो, हामी पनि त्यही लाखौ ताराहरुको बीचमा उदाएको चन्द्रमा जस्तै सूचना, ज्ञान र अभिप्रेरणाको शीतलता र प्रकाश छर्ने यात्रामा निस्किएका छौ। हो,यो निलो आकाशको काखमा पिलपिल बलिरहेका लाखौ तारा जस्तै डिजिटल पत्रकारिताको संसारमा हामी सूचना, ज्ञान र अभिप्रेरणाको बासना छर्न दैलो उघारेका हौ ।

विश्वव्यापी पत्रकारिताको मूल्य मान्यता,सिद्धान्त र मर्मलाई शीरमा राखेर राष्ट्र र जनताप्रतिको हाम्रो वफादारिता, इमान्दारिता,त्याग र समर्पण सदैव रहनेछ। हामीलाई यो पनि राम्रोसंग थाहा छकी, डिजिटल पत्रकारिताको यो कुहिरोको बीचमा सही सूचना,ज्ञान र शिक्षा दिनु सहज छैन, पक्कै पनि । पत्रकारिता क्षेत्रकाे विश्वसनियताकाे धुरी खाँबाे धरमराएकाे बेला लगानी गर्न अघि सर्नु कम जाेखिमयुक्त छैन। तैपनि यीनै र यस्तै गम्भीर चुनौतीहरुको बीचमा पनि महान सम्भावनाका पुष्प गुच्छा फूल्न सक्छन् भन्ने हामीमा विश्वास छ।कष्टकर हिलोको बीचमा जसरी कमल फूलेर दुनियाँलाई लठ्ठै पारिहेको हुन्छ। हो, कमल जस्तै अप्ठ्यारामा पनि फूलेर डिजिटल पत्रकारिताको क्षेत्रमा छुट्टै विशिष्ट पहिचान र परिचय बनाउने हाम्रो उदेश्य,लक्ष्य र संकल्प हो ।

यही उदेश्य र लक्ष्य चुम्ने सचेतपूर्ण सपना देखेर हामीले शिवालिका मिडिया सेन्टर प्रालिद्धारा संञ्चालित www.sarajuonline.com लिएर आज मिति २०८१ साल असार १३ गते बिहीबारका शुभदिन पारेर औपचारिकरुपमा पत्रकारिताको दुनियाँमा निस्किएका हौ।

हाम्रो संकल्प यो छकी, हामी हाम्रो सभ्यता, संस्कृति, प्रकृतिको आयामहरुलाई खबरको माध्यमबाट उजागर मात्रै गर्दैनौ,गहिरो अध्ययन गरी जिम्मेवार निकायको ध्यानाकर्षण गराउदै आएका छौ, र गराउने पनि छौ। हाम्रो विशेषता र चरित्र हो,अनुसन्धानमा आधारित खबरहरुको तथ्यपरक संप्रेशण । सत्य,तथ्य र गहिरो खबर सामग्री पस्किने हाम्रो कार्यनीति अनि प्रवृत्ति हो र हुनेछ ।


सूचना प्रविधिको तीब्र विकास भएको यस दुनियाँमा हामी , हाम्रा प्राचीन तथा मौलिक मूर्त या अमूर्त सम्पदासंगै जीवन पद्धतीको कथाहरुदेखि जीवन र जगतका विषयहरुको उत्खनन् र प्रवद्र्धन गदै आएका छौ, र गर्नेछौ। हाम्रो माटो र मौलिकताको जगमा विकसित हाम्रो पूर्वीय सभ्यता र दर्शनको खोज तथा अनुसन्धान हुन्छन् र हुनेछन्। यही प्रकृतिको काखमा विकसित हाम्रो सभ्यता,संस्कृति र धर्मको उनयनका लागि हाम्रा कलमहरु सधै तीखा हुनेछन्।

प्रकृति र संस्कृतिको गहिरो सम्बन्धमा हुर्किएको हाम्रा प्राचीन मूल्य मान्यता र परम्पराहरुको प्रवद्र्धन गर्दै सामाजिक न्यायमुखी उन्नत समाज निर्माण गर्ने हाम्रो ध्येय हो । यही प्रकृतिको काखमा हुर्किएको सभ्यताको विषयमा गहिरो अध्ययन गरी फरक स्वाद र शैलीको माध्यमबाट लाखौ पाठकलाई सूचना, ज्ञान र अभिप्रेरणा बाँड्ने यो हाम्रो कोशीस हो। यो कोशीसको परिणाम पर्यटन र पर्यावरणको प्रवद्र्धन र रक्षा गर्दै सबैको सहअस्तित्वलाई अक्षुण राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यही मान्यता र सिद्धान्तलाई सार्थक बनाउन तपाई लाखौ पाठकहरुको अहम भूमिका छ र हुनेछ पक्कै पनि । तपाईहरुको अथाह साथ,माया सदभावको जगमा मात्रै हामीले लिएका अठोट र संकल्प पूरा गर्न सक्दछौ। हामी माध्यम मात्रै हौ, तपाईहरुको साथ समर्थनले मात्रै डिजिटल पत्रकारिताको दुनियाँमा क्षितिज चुम्ने हाम्रो संकल्प पूरा हुनेछ।

यसर्थ हाम्रो यो चुनाैतीकाे दुस्साहसपूर्ण व्यवसायीक लगानीको समर यात्रामा यहाँहरुको साथ र समर्थन मात्रै रहनेछैन, सुझाव,सल्लाह र सकारात्मक आलोचनाको खाँचो उत्तिकै हुनेछ। सकारात्मक आलोचनाबाटै हामी निखारिनेछौ र पत्रकारिताले बोकेको महान उदेश्य र चरित्रहरु अवस्य पूरा हुनेछन् भन्नेमा हामी पूर्ण विश्वस्त छौ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित