१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

स्थानीय सरकारको पहलमा ३५ वर्षपछि टीकापुर विमानस्थलमा नियमित उडान!


२९ मंसिर २०८१, शनिबार  



नेपालमा प्रजातन्त्रको पुनःस्थापनसंगै टीकापुरमा हवाई सेवा बन्द भयाे । देशमा नेता उत्पादन भए ।तर, विकास जनताले साेचे जस्तो भएन ।

संसारमै उत्कृष्ट भनिएको बहुदलीय व्यवस्थामा बन्द भएको टीकापुरले , गणतन्त्र देखेको १६ वर्षपछि अर्थात बन्द भएको ३५ वर्ष पछि टीकापुर विमानस्थलमा नियमित उडान हुने भएको छ। मंसिर ३० आज शनिबारदेखि नियमित उडान हुन लागेको हाे।२०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० गतेदेखि नियमित रुपमा संचालनमा आउन लागेको हाे ।
लामाे समयपछिकाे उडान पनि संघीय र प्रदेश सरकारकाे पहलमा हाेईन, स्थानीय सरकारको पहलमा उडान हुन लागेको हाे।

टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः संचालनमा आउन लागेको हो । यसका लागि नगरपालिकाले तारा एअर र यती एअरलाईन्ससँग सहकार्य र समन्वय गरेको छ ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए । विमानस्थलमा केही समयअघि नेपाल एअरलाईन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायिक उडान गरिसकेको छ ।

हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यात्रुको माग बढेमा उडान पनि थपिने उनले बताए । हाललाई काठमाडौंसम्मको भाडा ९ हजार र नेपालगन्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा ४ हजार ५ सय निर्धारण गरिएको उनले बताए ।

तारा एअर मार्फत टीकापुर-नेपालगन्ज-टीकापुर उडान हुने र यती एअरलाईन्सको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको पनि उनले बताए ।

यात्रुहरुको सहजताका लागि तारा एअरले नेपालगन्जबाट १२:३० बजे र टीकापुरबाट नेपालगन्जका लागि १:२० उडान गर्नेछ भने यतीको काठमाडौं-नेपालगन्जको उडान तालिका बिहान १० बजे र नेपालगन्ज-काठमाडौंको उडान तालिका दिउसो २:०५ बजे रहेको छ ।

टीकापुर आवतजावत गर्ने टिकट यती एअरलाइन्स तथा तारा एअरका वेबसाइट तथा सेल्स अफिसहरुबाट लिन सकिने बताइएको छ ।

ईसेवा, खल्ती, फोन पे का साथै टीकापुरमा सिद्धार्थ होटल तथा काठमाडौंमा पथिल होलिडे मार्फत पनि लिन सकिने बताइएको छ । तारा एअरले हाल ३ वटा टुईनअटर वायुयान मार्फत लुक्ला, फाप्लु, रामेछाप , जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरुमा नियमित तथा चार्टर उडान गर्दै आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ६ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित