सेभेन स्टार टेलिभिजनका सञ्चालक सुरेश काफ्लेले टेलिभिजनमा काम गरे बापत पत्रकारहरूको तलब दिएका छैनन् ।
तोकिएको समयमा तलब नदिएपछि गएको असार ९ मा टेलिभिजनमा कार्यरत पत्रकारहरूले सामूहिक राजिनामा दिएका थिए। पत्रकार र व्यवस्थापनबीच तलब भुक्तानीको विषयमा सहमति भए पनि उनले अनेकन बाहनाबाजी गरेर नौ महिनादेखि झुलाउँदै आएको पीडित पत्रकारहरू बताएका छन् ।
सम्झौता अनुसार तलब भुक्तानी गर्न पटकपटक आग्रह गर्दा सञ्चालक काफ्लेले उल्टै धम्की दिने गरेको पनि उनीहरूले बताएका छन् ।
यता सञ्चालक सुरेश काफ्लेले थोरै बाँकी हुन सक्छ भन्दै आफूलाई सबै विवरण थाहा नभएको बताएका छन् । “मलाई सबै विवरण थाहा भएन।तर,हल्ला गरिए जस्तो बक्यौता धेरै छैन”,उनले भने
आफुलाई कांग्रेस नेता समेत दाबी गर्ने टेलिभिजन सञ्चालक काफ्लेले पटक- पटक पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता गरेपनि अझैसम्म भुक्तानी नगरेर आलटाल गर्दै आएका छन् ।
पत्रकारहरूलाई चेक दिएपनि खातामा व्यालेन्स नभएपछि रित्तो हात फर्किनु परेको पीडित पत्रकारले बताएका छन् । कुमारी बैंकको चेक दिएपनि खातामा रकम नहुँदा रित्तो हात फर्कन परेको उनीहरूले बताएका हुन् ।