२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

युएस—एडको मुख्यालय बन्द ,७२ अर्ब डलरका संसारभरका कार्यक्रमको भविष्य अन्धकार


२२ माघ २०८१, मंगलबार  


अमेरिकी अन्तर्राष्ट्रिय सहयोगी संस्था युएस–एडको मुख्यालय बन्द गरिएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त एजेन्सी बन्द गर्ने निर्णयमा हस्ताक्षर गरेको भनेर उनका सहयोगी एलन मस्कले सञ्जालमार्फत जानकारी गराएका छन्।

वासिङ्गटन स्थित यूएस–एडको मुख्यालय कर्मचारीहरुलाई ‘घरमै बस्न’ इमेलमार्फत् भनिएको थियो । भवनको भित्तामा टाँसिएका लोगो र तस्वीरहरुलाई हटाइएको थियो ।यसको वेवसाइट र सामाजिक सञ्जालका खाताहरु बन्द गरिएको छ भने यूएस–एडको वेबपेजको संक्षिप्त संस्करणलाई अमेरिकी स्टेट डिपार्टमेन्टको वेबसाइटमा राखिएको छ ।

अमेरिकी संसद (कांग्रेस)ले एक स्वतन्त्र निकायको रुपमा स्थापित रहेको यस एजेन्सीलाई राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले ‘पक्षपाती’ भनेका छन् । विपक्षी दल डेमेक्र्याटले यस भनाइको खण्डन गर्दै एजेन्सीको अन्त्य गर्ने अधिकार ट्रम्पलाई नभएको भनेको छ ।तर विधायक र कर्मचारीहरु पनि यूएस–एडलाई पूर्ण रुपमा बन्द गर्न तथा यसलाई विदेश मन्त्रालयको मातहत ल्याउने कुरामा सहमत देखिन्छन् । यो घटनाक्रम मस्कले आफ्नै सामाजिक सञ्जालमा दिएको एक वक्तव्यपश्चात् थाहा भएको सीएनएनले खबरमा उल्लेन गरेको छ। मस्कले सोमबार बिहान ‘एक्स स्पेसेस’सँगको वार्तामा भनेका थिए, ‘यूएस–एडको मामिलामा मैले (राष्ट्रपतिसँग) विस्तृतमा छलफल गरेको छु र उहाँ यस कुरामा सहमत हुनु भयो की, ‘हामीले यस (यूएस–एड)लाई बन्द गरिदिनु पर्छ ।’

राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरुसँगको प्रश्नोत्तरमा यस एजेन्सी र विदेशी सहायता प्रदान गर्ने उसको ‘मिसन’ आफूलाई चित्त नबुझेको बताएका छन् । सीएनएनका अनुसार ट्रम्पले पत्रकारहरुसामु भनेका थिए– ‘यो एजेन्सी केही कट्टरपन्थी पागलहरुले चलाइरहेका छन् । हामी उनीहरुलाई बाहिर निकाल्छौँ । त्यसपछि बल्ल यसको भविष्यको बारेमा निर्णय गरौँला ।’

राति अबेर राष्ट्रपतिले यस्तो भनेपछि मध्यरात कट्नासाथै कर्मचारीहरुलाई इमेल पुग्यो, त्यसमा ‘वासिङ्गटन कार्यालयमा हाजिर नहुन’ भनिएको थियो ।यसअघि ९० दिनका लागि विदेशी सहायता रोक्ने राष्ट्रपतिको आदेश पालना गर्न अस्वीकार गरेको भनेर यूएस–एडका करीब ६० जना बरिष्ठ अधिकारीलाई बिदामा राखिएको थियो । त्यसबाहेक कनिष्ठ कर्मचारीहरुलाई पनि बिदामा राखिएको र छोडेर जान चाहनेलाई बिदाइ गरिरहेको थियो ।

गएको शनिबार नै यूएस–एडको वेवसाइट बन्द गरिएको थियो भने विदेश मन्त्रालयको वेवसाइटमा यस एजेन्सीको एक पेज देखिएको थियो । सामाजिक सञ्जाल एक्समा रहेको यूएस–एडको खाता पनि शनिबारदेखि नै बन्द भएको छ ।एजेन्सीको सार्वजनिक मामिला कार्यालयका सबै कर्मचारीलाई बिदामा बस्न भएिको थियो र उसको सबै प्रणालीहरु ‘लक’ गरिएको थियो ।यसअघि मस्कले युएस–एडलाई एक ‘आपराधिक संगठन’ भन्दै ‘अब यो मर्ने बेला आयो’ भनेर एक्समा लेखेका थिए । अर्को पोस्टमा उनले ‘अब यसको मर्मत असम्भव भएको’ लेखेका थिए ।

युएस एड के हो ?


तत्काली अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले स्थापना गरेको अन्तर्राष्ट्रिय संस्था हो, युएसएड । अमेरिकामा सन् १९६१ मा जोन अफ केनेडी प्रशासनले अमेरिकी सरकारको एक मावनीय सहायता संस्था वा शाखाका रुपमा युएस–एडको स्थापना गरेको थियो । यस संस्थाले गरिबी, महामारी, प्राकृतिक प्रकोप र अकाल मृत्युलाई कम गर्न संसारभर लगानी गर्दै आएको थियो ।
यसले हरेक साल खर्च गर्ने अर्बौं डलरले संसारभरका गैह्रसरकारी संस्थाहरु पोषित थिए भने स्वतन्त्र सञ्चारमाध्यम र सामाजिक पहलकदमीमार्फत् लोकतन्त्रलाई बलियो पार्नमा सघाइरहेको ठानिन्थ्यो ।

यस युएस–एडका पूर्व प्रशासक एन्ड्र्यु नेट्सियोसले सन् २०२० मा लेखेका थिए– सोभियत संघका साथ भएको शितयुद्धको दौरानमा अमेरिकालाई सफलता दिलाउन एजेन्सीले महत्वपूर्ण योगदान गरेको थियो ।उक्त एजेन्सी बन्द हुनुअघि यो संसारकै सबैभन्दा ठूलो ‘एकल दाता’ थियो । उसले आर्थिक वर्ष २०२३ मा संसारभर ७२ अर्ब अमेरिकी डलर सहायता बाँडेको थियो । त्यो पैसा महिलाको स्वास्थ्य, स्वच्छ पानी, एचआईभी÷एड्सको उपचार, ऊर्जा सुरक्षादेखि भ्रष्टाचार विरोधी कार्यक्रमहरुसम्म खर्च भएको थियो ।

२०२३ को आर्थिक वर्षमा युएस–एडबाट सबैभन्दा धेरै पैसा युक्रेनले पाएको थियो । संसारभर खर्च भएको ७२ अर्बमध्ये १४.४ अर्ब डलर युक्रेनमा मात्रै खर्च भएको थियो । जोर्डनमा ७७ करोड, यमनमा ३५ करोड ९९ लाख र अफगानिस्तानमा ३३ करोड २० लाख डलर खर्च भएको थियो ।विदेशी सहायता वितरण गर्ने यो सबैभन्दा ठूलो अमेरिकी एजेन्सी हो । यसबाहेक अमेरिकी विदेश विभाग (मन्त्रालय)ले पनि युएस–एडको करिब आधा पैसा संसारभर वितरण गर्छ ।

यद्यपि, क्युबा, मेक्सिकोजस्ता देशले आफ्नो वैधानिक सरकारको विरुद्ध गुप्त रुपमा षडयन्त्र बुन्न वा सरकार विरोधी तत्वहरुलाई वित्तपोषण गर्नमा यस अमेरिकी एजेन्सीले काम गरेको आरोप लगाएका थिए । नेपाल, भारतमा पनि जनस्तरमा यस्ता काम भएको दाबी गरिन्छ। तर, सरकारले यस प्रकारको भाष्य सिर्जना गर्नमा काम गरेको छैन ।

जे होस्, १० हजारभन्दा धेरै कर्मचारी भएको यस एजेन्सीलाई अमेरिकाले विश्वभर जनस्तमा सम्बन्ध विस्तार गर्ने प्रमुख सफ्ट–पावर को रुपमा अघि सारेको थियो । लामो समयदेखि उसले आफ्नो राष्ट्रिय सुरक्षाका निम्ति तीन ‘डी’ अर्थात् रक्षा (डिफेन्स) कूटनीति (डिप्लोमेसी) र विकास (डेभलपमेन्ट)को तीन खम्बे बाटो अवलम्बन गरेको थियो ।यी तीन रणनीतिको नेतृत्व अमेरिकी रक्षा मन्त्रालय, विदेश मन्त्रालय र युएर–एडले गर्दै आएका थिए । तर अब यसलाई विदेश मन्त्रालयको मातहत लगिएपछि ट्रम्प प्रशासनले पुनः नयाँ संस्था खडा गर्छ की, अन्तरराष्ट्रिय सहायताको स्वरुप नै बदल्छ भन्ने कुराको अहिलेसम्म स्पष्ट छैन ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित