१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

तीजले जोडेको ‘समाज’


१२ भाद्र २०८१, बुधबार  


आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने अर्थ हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएको पौराणिक प्रसंगलाई हरितालिका तीज भन्न थालिएको पाइन्छ। पौराणिक कथाहरु स्मृति र श्रृतिको माध्यमबाट पुस्तान्तरण हुँदै आएका हुन्। यानकी सुनेको र सम्झेको आधारमा एक पुस्ताले अर्को पुस्तालाई भन्दै आइएको हो । यही कारण तीजको शुभारम्भ कहिले देखि भयो, भन्ने कुनै यकिन तिथिमिति छैन ।

आखिर जेसुकै होस्, तीज आफैमा एक सुन्दर सामाजिक पर्व हो। यसले हरेक समाजलाई जोडेको हुन्छ। तीज मनाउँदा कसरी मनाउने भन्ने विषय निजत्वका कुरा होलान् । यति भनिरहँदा सामाजिक मूल्य, मान्यता र सांस्कृतिक पक्षहरुलाई विर्सिएर मनाइनु आफैमा सर्वथा गलत छ। तीजको मूल्यमान्यताभित्रै रहेर पनि तीजलाई मनाउन सकिन्छ। किनकी तीज त्यस्तो पर्व हो, जसले सामाजिक व्यवस्थालाई जोडेको हुन्छ। एक अर्थमा भन्दा तीज नेपाली समाजको एक सेतु हो ।


हुन त, तीजका धार्मिक पक्षहरु पनि होलान्, जहाँ भगवानका प्रसंगहरु पनि नभएका होइनन्। पौराणिक कथाहरुमा भगवान शिव पाउन पार्वतीले तपस्या गरेदेखि नै तीज पर्वको शुभारम्भ भएको पनि किम्वदन्तीमा उल्लेख छन्। यद्यपि ती आख्यानरुपी कथाहरु कति तथ्यपरक हुन। या कल्पनामा उल्लेखित भएका सन्दर्भ हुन्। ती प्रसंग अलगै हुन्। फरक सन्दर्भमा बहस र छलफल होला। तर, पंक्तिकारले यहाँ उठाउन खोजेको मुख्य सवाल नै तीजको सामाजिकीकरण हो । नेपाली समाज जस्तो विविधिताभित्र तीजले हजारौ वर्षदेखि निरन्तरता पाउँदै आएको छ। आदि अनादिकालदेखि यसको अभ्यास भएको छ। मानव सभ्यताको विकासक्रमसंगै यसको निरन्तरता पनि अविछिन्न छ। यो नै यसको ज्यादै महत्वपूर्ण विशेषता हो ।

तीजलाई पितृसत्ताको औजारको रुपमा तर्क गर्नेहरु पनि छन्। पितृसत्तालाई सेवा चाकडी गर्न थालिएको गलत प्रथा पनि भनिने गरिएको छ। रुपमा यस्तो देखिएपनि सारमा त्यो होइन र नहुनुपर्ने हो । विडम्बना, समाज विकासको क्रममा मानिसहरुले तीज जस्तो सामाजिक पर्वलाई आफू अनुकूल बनाए । जहाँ महिलाले पुरुषको नाममा व्रत बसेर खुट्टाको जल खाने शोषणयुक्त धार्मिक नियम बनाइयो, जुन आफै ज्यादै अवैज्ञानिक छ, गलत छ। यस्ता गलत प्रथाको अन्त्य समयक्रमसंगै केही कमी पनि हुँदै गएको देखिन्छ ।यद्यपि अझै पनि हाम्रो समाजमा यस्ता प्रथा अस्तित्वमै छन्। यीता प्रथाको अन्त्य पनि हामी र हाम्रो समाजले नै हो गर्ने । त्यस्ता गलत प्रथाहरुको अन्त्य गरी तीज पर्वलाई सामाजिक उत्सवको पर्व बनाइनुपर्छ। यसले समाजलाई अझै सामाजिकीकरण गर्दै लैजान्छ। कुनै समुदाय,जात , लिंग र वर्ग विशेष भन्दा पनि मानवीय खुशी, उमंग र उत्साहको माध्यम बनाइनुपर्छ । समाजभित्रको सम्पन्नता र विपन्नताको नजरीयाबाट तीजलाई मुक्त गर्नुपर्छ। हामी सबै मानव हौ, हाम्रो साझा चाहना मानवीय कल्याण हो। यही कल्याणबाट सामाजिक हित हुन्छ, भन्ने कुराको शिक्षा दिक्षाको जागरण ल्याउने माध्यमको रुपमा विकास र विस्तार गरिनुपर्छ ।

तीजको दिन महिलाहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको आफ्नै मौलिक विशेषता हो । महिलाहरुले त्यो दिन नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने यसको सन्देश हो । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास पनि छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ । तीजको दिन घरको कामकाज चटक्कै छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुरा समेटिएका हुन्छन् । यसले महिलालाई सशक्त बनाउँछ । यो नै तीजको बहुत सकारात्मक पक्ष हो । नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । विदेशमा रहेका नेपाली महिलाहरूले समेत यो चाड मनाउन परम्परा विस्तार भएको छ ।

तीज त्यस्तो तिथिमा पर्दछ, जतिबेला नेपाली समाजले बालीनाली रोपिसकेका हुन्छन्। खेतीपातीको खासै काम पनि हुन्न। खेतीपाती नभएको यही फूर्सदको समयमा मनाइने पर्व हो, तीज । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई पनि मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । त्यसैले तीज सांस्कृतिक र धार्मिक पर्व मात्रै होइन, यो त समाजलाई जोड्ने एटा सेतु हो। जहाँ मानवीय भावनाहरुको माध्यमबाट सामाजिक सम्बन्धहरु थप बलियो बनाउने गरिन्छ। जस्तोसिुकै अप्ठ्यारो अवस्थामा पनि मन फुकाएर महिलाहरुले आफ्नो भावना अभिव्यक्त गर्दछन्।

गाउँको स्मरणीय, त्यो तीज:
पंक्तिकारलाई अहिले पनि सम्झना छ, हाम्रो हजुरआमाको पालामा कामको निकै चाप हुन्थ्यो । दिनमा कामले नभ्याएर रातिमा सबैको घरमा पालैपालो जम्मा भएर थपडीको तालमा सुख दुःखका गीत गाएर नाच्नुहुन्थ्यो । हामी पनि गाउँगाउँमा खुबै हिँड्थ्यौ । प्रत्येक गीतमा कथा हुन्थे, त्यसका अर्थ हुन्थे । केटाकेटी भएकोले हामीले राम्रोसँग बुझिँदैनथ्यो, तर,निकै रमाइलो लाग्थ्यो ।अहिले ती दिनहरु स्मरण मात्रै छन्, तीज मनाउने तौरतरिका धेरै भिन्न भैसकेको छ। आहा, ती दिनहरु कति रमाइला थिए। वर्षदिनको तीज कहिले आउला भन्दै दिन गनेर वित्थे बाल्यकाल। घोराहीका विभिन्न ठाउँमा समूह बनाएर महिलाहरु नाँच्थे गाउँथे। तीजका आफ्नै मौलिक भाका हुन्छ। ती भाकाहरु सुनेको र देखेका थिए, यी आँखाहरु। अनि तीजको संगीतमय स्वरले मन्त्रमुग्ध हुन्थे यी मनहरु । तर, अहिले नयाँ पुस्तालाई यी बाल्यकालका कहानी सुनायो भने पनि उनीहरु आश्चार्य मान्छन्। कारण हिजोको जमानामा जस्तो मौलिक र सांस्कृतिक पर्वको रुपमा अहिलेको तीज छैन।

प्रविधि र पैसाले मानवीय सोच,विचार र व्यवहारहरु धेरै बदलिएका छन्। जुन परिवर्तनको स्वभाविक प्रक्रिया पनि हो। संस्कृतिहरु पनि समय गतिको गतिसंगै रुपान्तरित हुँदै जानुपर्छ। तर, आधुनिकताको नाममा तीजको मौलिकता नै ध्वस्त पार्ने गरी भइरहेका गलत अभ्यास रोकिनुपर्छ। हिजोको जस्तो विरहका शब्द र भाका होइन। अब संघर्ष र सफलतासंगै नेतृत्वको कथा हुनुुपर्छ। जसले तीजको मोलिकतालाई पनि अक्षुण राखोस्, बदिलदो परिस्थिति अनुसार सांस्कृतिक रुपान्तरण अनुसार समाजलाई अघि बढाउन सकोस्।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : ४८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित