१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

पर्यटनको हल्ला धेरै,आगमन सुस्त!


११ श्रावण २०८१, शुक्रबार  


कोरोना महामारीपछि पुरानै लयमा फर्किएको हाम्रो पर्यटन उद्योग कछुवा गतिमा पनि छैन । सन २०२४ को ६ महिनालाई फर्केर हेर्दा पुग नपुग पाँच लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरे। यही औसत दरले पर्यटक भित्रिए दश लाखको हाराहारीमा पुग्ने देखिन्छ। यद्यपि पर्यटनको खास सिजन शरद ऋतु आउन भने बाँकी छ। शरद ऋतुकै कारण पर्यटक आगमनको केही संख्यामा सुधार भएमा करिब १२ लाखको हाराहारीमा पुग्न सक्छ, पर्यटक आगमनको संख्या ।

पर्यटक भित्रिएको संख्याले मात्रै उद्योग फस्टाउने होइन, बसाइ अवधिसंगै खर्चको औसत दर कति छ भन्ने कुरा मुख्य हो । यति मात्रै होइन, एकपटक नेपाल भ्रमण गरेका पर्यटक फेरि दोहोरिएर तेहेरिएर आउँछन् या आउदैनन् भन्ने कुराको पनि अध्ययन र विश्लेषण गरिनुपर्दछ। नेपालमा पर्यटक आगमनको गणना पूर्ण नभएको बताउँछन्, पर्यटन बोर्ड पूर्व सीइओ दीपकराज जोशी । उनी भन्छन्, “हामीसंग हिमाल आरोहण बाहेक अन्य प्रडक्टहरु पनि छन्, तिनीहरुको ब्राण्डिङ गरेर अघि बढ्नुपर्छ। पुरानो बजारलाई थप मजबुत बनाउँदै नयाँ बजोतिर ध्यान दिन आवश्यक छ, पछिल्लो समय भारत, बंगलादेशको आर्थिक उन्नती पनि निकै रहरलाग्दो छ, त्यसलाई हेरेर नयाँ श्रोत बजारमा खोजिनुपर्छ। नयाँ बजार खोजिसंगै पुराना बजारमा पनि नयाँ सेगमेन्ट खोजिनु पर्छ। हिजो एकताका ट्रभल एजेन्सी भरमा भ्रमण गर्ने अवस्था थियो। तर, आज सूचना प्रविधिको विकासले सुन्दर ठाँउहरुको खोजी भइरहेकोले डिजिटल प्लाटफर्ममार्फत प्रवद्र्धन गर्न सकेमा यसको विस्तार र तथ्यांक पनि सहजै थाहा पाउन सकिन्छ।”


हो, पर्यटनमा नवीन सोचको खाँचो छ, हिजोको पद्धती र प्रणालीबाट मात्रै हामीले १६ लाख पर्यटक भित्र्याउन सक्दैनौ। यस विषयमा राज्यको उपल्लो तहमा बसेर नीति निर्माण गर्ने र कार्यान्वयन गर्नेहरुले गम्भीर भएर सोच्न आवस्यक छ। सन २०१९ मा देखिएको पर्यटनको उत्साहले क्षमतामा पनि बृद्धि भएको देखाएको छ। मुलतः विमानस्थलहरु संचालनमै सरकारले नयाँ ढंगले सोच्न जरुरी छ ।यद्यपि यस विषयमा सम्वद्ध संस्थाहरुले खासै गरेको पनि देखिन्न ।तैपनि पर्यटनको नाममा हल्ला भने धेरै छ, देश विदेशमा। पर्यटन प्रवद्र्धन गर्न भन्दै विदेश घुम्नेहरुको संख्या ठूलो छ। नेपालको पर्यटन उद्योगको प्रवद्र्धन गर्ने मुख्य जिम्मेवारी पाएको पर्यटन बोडका मानिसहरुको उदेश्य मुलुकको पर्यटन प्रवद्र्धन भन्दा विदेश शयर नै प्राथमिकतामा पर्दछ। यस्तै निजी क्षेत्र पनि छ, पर्यटन प्रवद्र्धनको क्षेत्रमा । उसले पनि पर्यटन प्रवद्र्धनको वकालत गर्दै विदेशका विभिन्न ठाउँमा पुग्छ।

त्यस्तै शिलशिलामा गएको जुन ३ मा होटल संघ नेपाल र नेपाली दूताबासले पर्यटन प्रवद्र्धनका नाममा कार्यक्रम गरे बेइजिङमा । सेल्स मिसनका रुपमा निकै चर्चा गरिएपनि करिब दुइ महिना अवधिमा चिनियाँ पर्यटकको कति वृद्धि भयो या भएन, त्यसको कसैले लेखाजोखा गरेको देखिन्न । त्यस अघि पनि मे २० मा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाटा) ले नेपाली दूतावाससँग मिलेर बेइजिङमै यस्तै कार्यक्रम गरेको थियो। दुवै कार्यक्रममा नेपाल पर्यटन बोर्ड पनि सहभागी थियो।सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले मात्रै पर्यटक आगमन बढेको छ। यही गतिमा बढ्दै गए पनि आर्थिक वर्ष २०८२÷८३ मा १६ लाख पर्यटक भित्र्रयाउने सरकारी लक्ष्य पूरा हुन सक्दैन। सन् २०१९ को तुलनामा ३३ प्रतिशतले पर्यटक भित्रिने क्रम वृद्धि भयो भने मात्र सरकारी लक्ष्य पूरा हुनेछ।

नेपालको पर्यटन उद्योगका लागि चिनियाँ पर्यटक पनि आधारस्तम्भ हुन्। अफ–सिजनमा पनि नेपाली पर्यटन उद्योगलाई चिनियाँ पर्यटकले धान्दै आएका छन्। तर, चीन लगातका विदेशी मुलुकहरुमा भइरहेको नेपाली पर्यटन प्रवद्र्धनका कार्यक्रम हल्लामै सीमित भएका छन्। पछिल्लो समय बर्दियाको बुरानलाई वाइल्डरनेस क्याम्प टाइम म्याग्जिनले विश्वका एक सय अद्भुत गन्तव्यको सूचीमा राखेको छ, त्यो नेपाल भ्रमण गर्ने पर्यटकहरुले गरेको प्रचारात्मक सहयोगले सूचीकृत भएको हो, नकि पर्यटन बोर्ड लगायतका निकायको प्रवद्र्धनात्मक कार्यले । बुरान जस्तै थुप्रै गन्तव्यहरु छन्, जसले दुनियाँलाई मोहित पार्न सक्छन्, प्राकृतिक होस् या साहसकीक या सांस्कृतिक पर्यटन नै किन नहोस्, नेपाल सम्वृद्ध छ।तर, सरकारी यही नीति र पाराबाट पर्यटन उभो लाग्ने देखिन्न।

हाम्रै छिमेकी देश चिनियाँ पर्यटकले विश्व पर्यटन बजारमा सबभन्दा ठूलो हिस्सा लिएका छन्। हरेक वर्ष करोडौं चिनियाँहरू विदेश भ्रमणमा जान्छन्। सीमा जोडिएको र स्थलमार्गबाट पनि भ्रमण गर्न सकिने भएकाले चिनियाँका लागि नेपाल सहज र सस्तो गन्तव्य पनि हो । तर, पर्यटन प्रवद्र्धनको हल्लाले चिनियाँ पर्यटक नेपाल आएको देखिन्न। साथी सम्बन्ध, राजनीतिक तथा व्यापारकै कारण चिनियाँहरु नेपाल घुम्ने गरेको पाइन्छ। जबकी नेपालको सिमाना जोडिएको चिनियाँ भूभाग तिब्बतमा वर्षेनी करोडौ पर्यटक भ्रमण गर्दछन्। त्यसको करिब ४ प्रतिशतको हाराहारीमा ल्याउन सके सरकारी उदेश्य पूरा हुन सक्छ ।नेपालभन्दा आठ गुणा ठूलो तिब्बतको मुख्य आर्थिक आधारको श्रोत पर्यटन उद्योग हो ।तिब्बत यति बेला चीनको सबभन्दा धेरै आर्थिक वृद्धि हुने प्रान्त र सबभन्दा धेरै प्रतिव्यक्ति आय भएको प्रान्तका रूपमा उदाएको छ। यही गति रहिरहे तिब्बतको अर्थतन्त्र सन् २०२४ मा दोहोरो अंकले वृद्धि हुने अनुमान समेत गरिएको छ। गएको ८ वर्षलाई फर्केर हेर्दा तिब्बतमा पर्यटक वृद्धिदर उछाल छ। जहाँ यस अवधिमा १५ करोड ८० लाख पर्यटकले तिब्बत भ्रमण गरेका थिए।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १० : ४९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित