शुक्रबार तीनकुनेमा भएको आततायी घटना कदापि क्षम्य छैन। अपराधीक मनोवृत्तिबाट दीक्षित उदण्ड समूहले गरेको जघन्य घटनाले खबर सम्प्रेषण गरिरहेका पत्रकार र अर्का एक एकजनाको ज्यान गयो। शान्तिपूर्ण भनिएको बर्बरतापूर्ण हिंसाले नागरिकको सम्पत्ति लुटिए, सरकारी सम्पत्ति ध्वस्त पारियो ।

भीडलाई उत्तेजित बनाएर व्यवस्था ढाल्ने जत्थाको नेतृत्व फौजदारी अभियोग झेलेका पात्रलाई दिइयो।उनले फिल्मी शैलीमा देखाएको ताण्डवको परिणाम मानवीय तथा भौतिक क्षति भयो।दुई जनाको ज्यान गयो,सञ्चार गृह निशानामा परे। यो आततायी र बर्बरतापूर्ण घटनाको मुल नाइके ज्ञानेन्द्र शाह हुन्। रगतको होली खेलेर नारायणहिटी फर्किन उचाल्ने पात्र हुन्, दुर्गा प्रसाईं ।उनै उदण्डलाई राजावादी आन्दोलनको कमान्डर उनै शाहले बनाएका थिए।

पूर्व पञ्चहरूको भन्दा उदण्ड प्रसाईलाई विश्वास गरेका शाहले पूर्व राजाको शाख पनि गुमाए । वीरेन्द्रको वंशनाशमा उनीमाथि शंका जिवितै भएको बेला उनको आ शिरवादमा चलेको हिंसात्मक घटना र त्यसबाट सिर्जित परिणाम भागेदारी उनै शाह हुन्।

आफ्ना मागको वैचारिक, राजनीतिक र व्यावहारिक तर्क र दृष्टिकोण प्रस्तुत गर्नुको सट्टा तोडफोड, आगजनी र लुटपाट मच्चाएका उनीहरूले उन्माद र अराजकता नै आफ्नो पहिचान र चरित्र देखाए।जुन नेपालको इतिहासमा कालो दिनले चित्रित भएको छ र हुनेछ ।
ज्ञानेन्द्र शाहकै योजना र आशीर्वादमा उक्साइएको यो उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी मात्रै गरेको छैन, औषधि कारखाना र सञ्चारगृहमा सुनियोजित आक्रमण गरेको छ तथा व्यापारिक केन्द्रमा पसेर लुटपाट गरेको दृष्य काफि छन् ।उनको चरित्र र चित्र छर्लङ्ग भएको छ।

सडकमा देखिएको अराजनीतिक, अमानवीय र असंवेदनशील मनोविज्ञानबाट निर्देशित यो बर्बरताले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने होइन बरु नागरिकका रूपमा उनको बचेखुचेको साख र सम्मानलाई पनि धूलिसात् भएको छ।पूर्व राजाको सम्मान माटोमा मिलेको छ।उनीप्रतिको बचेको साख र सम्मान अब रहेन।
सत्ता महोत्काँक्षाले शाह वंशको विनाश भएको हो। संविधानले दिएको अधिकार नाघेर सैन्य बलमा सत्ता कब्जा गर्दा २०६२/६३ को जनआन्दोलनको महोल बनेको थियोे । मंगले आफै लडिस आफ्नै ढंगले भने झै शाहकै कारण अढाई सय वर्षे दरबारको सत्ता मसानघाटमा पुगेको हो।त्यसको लागि लाखौं लाख जनता सडकमा आएका हुन् । त्यो आन्दोलन राजनीतिक रूपमा प्रतिबद्ध र नैतिक रूपमा निष्ठावान् भएकाले सभ्य, संयमित र परिणाममुखी भएको हो । सैनिक पोशाकमा देशभर घुमेका शाहलाई राम्रोसँग थाहा छ।तर,उनकै आशिरवादमा चलेको कथित राजावादी आन्दोलनले विवेक गुमायो। मण्डलेहरूको उक्साहटमा भीड उत्तेजित बनाएर सत्ता कब्जा गर्ने रणनीतिले बदनाम कमायो।

राजावादीको प्रदर्शनको खबर सम्प्रेषण गर्न फिल्डमा खटिएका पत्रकारसहित दुई जना यो आततायी विध्वंसका सिकार बने । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर ध्वंस गरियो । अत्यन्तै प्रज्वलनशील इन्धनको डिपो र दर्जनौं जहाज रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगो फ्याँकियो । मुलधारका मिडिया हाउसमा नियोजित हमला गरियो ।तालीवानी शैलीमा गरिएको विध्वंसले सीमा काट्यो।

नेपालको राष्ट्रिय झन्डा काँधमा भिरेर लुटपाट मच्चाइयो। हिंस्रक जत्थाले भाटभटेनी सुपरमार्केटमा लुटपाट मात्रै गरेन एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गर्यो । निजी तथा सार्वजनिक कार्यालय, गाडी र सम्पत्ति बेहिसाब जलाइयो, आगो निभाउन गएको दमकललाई तोडफोड गरेर कर्मचारीलाई कुटियो ।

राजा फर्काउन सडक प्रदर्शनका ठेकेदार बनाइएका दुर्गा प्रसाईंले प्रहरीलाई सामूहिक रूपमा कुल्चने उत्तेजनासहित गाडी सडकमा दौडाए । यस हदसम्मको वितण्डा मच्चाउने सोच र शक्ति कहाँबाट प्राप्त भयो रु राजावादी अभियानले नै प्रसाईंलाई आधिकारिक कमान्डर नियुक्त मात्र गरेको छैन, एक दिनअघि मात्र प्रसाईंले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँगै बसेर योजना बनाएका थिए । फिल्डमा खटेका प्रसाईं त फरार भएका छन् तर उनका मालिक ज्ञानेन्द्र शाह शुक्रबारको हिंसा देखेर खुशाइरहेका छन् ।

पूर्वपञ्च नवराज सुवेदी,प्रसाई जस्तो उदण्ड र रवीन्द्र मिश्र जस्ता बहुलठ्ठी र दल अदलबदल गर्ने पात्रका भरमा राजावादीहरूले सत्ता फर्काउने सपना देखिरहेका छन् । आफ्नो अतृप्त आकांक्षाका लागि समाजको तरल मनोविज्ञानको तलाउ ढुंगा हानेर अभिष्ट पूरा गर्न खोजिरहेका छन् ।

यति भनिरहदा गणतन्त्रवादी शासकहरूले यतिकैमा छुट पाउन सक्दैनन् ।यस्तो परिस्थितिकाृ उपजको दोष उनीहरूमाथि पनि छ।शासकीय अकर्मण्यताकै कारण यस्तो परिस्थिति बनेको हो।यसको गम्भीर समीक्षा गरेर शासकीय तथा निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ।अहिलेसम्मस गरिएका राजनीतिक बेधर्मको विषयमा जनतासंग माफि मागेर मुलुकलाई अघि बढाउ।
एकले अर्कोलाई ताछेर होईन, स्वस्थ्य प्रतिस्पर्धाको आ धारमा जनताको मन जित्ने काम गर।यद्यपि अझै पनि चेत खुलेन भने मुलुक झन् बर्बादीको अवस्था जानलाई कसैले रोक्न सक्ने छैन चेतना भया।