संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको बताएको छ।
आईतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले गणतन्त्रको सुदृढीकरणको विकल्प नभएको निष्कर्ष निकालेको हो।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अहिलेको राजनीतिक व्यवस्था परिवर्तनको एजेन्डाको कुनै औचित्य नभएको ठहर गरेको हो।
‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो ।नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ’ कांग्रेसले निर्णयमा भनेको छ, ‘संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ ।
यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’