केही दिन र महिना अघि तपाई हाम्रा अघि झण्डा हल्लाउँदै देश दुनियाँ थर्काउदै मन्त्री कुद्थे । भीआइपी सवारीको कर्कस आवाजले शहर बजारमा ध्वनी प्रदु्षण गर्दथ्यो। जिल्ला– जिल्लामा जादाँ ठूला ठूला अक्षरमा अखबार छापिन्थे । मन्त्रीका तस्बिर आउँथे । जिल्लामा मन्त्रीको स्वागतका लागि धुमधामको तयारी हुन्थ्यो ।
दलका कार्यकर्ताहरुका लागि त बडा दर्शै नै आउँथ्यो । मन्त्रीको सवारले देशमै हलचल आए झै भान हुन्थ्यो । आश्वासनका पोकाका खातखातै लाग्थे । त्यस्ता आश्वासन पाउनेमा तपाई हामी पनि सायद हौला । मन्त्रीसंग कार्यकर्ताले फोटो खिचेर गौरव गर्दथे । हाम्रो सोझोपना र इमान्दारितामा मन्त्री भनाउँदाले ब्लयाकमेइलिङ गरिरहेका हुन्थे । तर, हामी पत्तो पाउन्नथ्यौ । अहिलेपनि मन्त्री भेटिएमा हामी उसका सबै फट्याँइ र दुर्गुण विसिन्छौ । लप्पक्कै टाँसिएको फोटो खिचेर सामाजिक सञ्जालमा हतपत पोस्टाउथ्यौ र अझै पनि मौका पाए हामी मन्त्री भेट्दा देउता भेटेझै ठान्छौ ।
गएको दश वर्षमा हामीले यस्ता तीन सय ८० वटा मन्त्री पायौ । पन्चायत छोडेर त्यस यताका ३५ वर्षमा कति मन्त्री भए, त्यसको विवरण थाहा पाउन क्यालकुटेरै थिच्नुपर्ला र सोधखोज गर्नुपर्ला । यो देशमा मन्त्री भनेको नै आश्वासन बाँड्ने हो । जनताको धैर्यता र विश्वासमा खेलेर अकुत धन कमाउने र ठाँटले झण्डा हल्लाएर शान देखाउने हो । एकहिसाबले भन्ने हो, भने हामी मन्त्रीसंग फोटो खिचाए मात्रै र उसले हाल खबर सोधे मात्रै औधि खुशी हुन्छौ र भएका पनि छौ । खुशीले कुखुरे छाति फराकिला बनाउँथ्यौ र बनाउँछौ अहिले पनि ।
यस्तो कुप्रचलनमा हुर्किएका हामीले पछिल्लो समय मन्त्री आएको र गएको थाहै नपाउने भएका छौ । शान,सौकात र ठाँट्टिएका मन्त्री देखेका हामीले पछिल्लो समय मन्त्रीका सवारीले बजाउने कर्कस आवाज र जयजयकारको भीड देख्न नपाउने भएका छौ ।किन होला भनेर तपाईको जिज्ञासा पनि हुन सक्छ । त्यस्को वास्तविकतको तथ्य यस्तो छ , यो हेरौं ।
गएको भदौ ३० देखि यता सबै सुनशान जस्तै छ । देशमा सरकार पनि छ, प्रधानमन्त्री र मन्त्रीहरु पनि छन् । तर, गएको भदौ ३० मा अर्थमन्त्री, उर्जा र कानुन मन्त्रीले सपथ लिन गए, सिंहदबारमा पुगे । तिनै मध्येका पूर्व अर्थसचिव रामेश्वर खनाल पनि आफ्नो सवारी लिएर गए । रातो रङको सवारीमा सरल भाषामा उपस्थित हुँदे कुनैपनि सरकारी सुविधा र सवारी साधन नलिने बाचा गरे ।
सरल र सादगी जीवनशैलीका खनाल मुलुकको अर्थतन्त्रको धमिनी र कोशिकाको धड्कन राम्रोसंग छाम्न र नाप्न सक्ने व्यक्ति हुन् । तिनै अर्थतन्त्रका जानकार खनालले राजनीतिक पदाधिकारीको स्वकीय पद पनि खारेज गरिदिए । सात बुँदे परिपत्र जारी गर्दै सुशासनको लागि भ्रष्ट संयन्त्रमा दोश्रो फायर खोले । उनको मन्त्री स्तरीय निर्णयले आम नेपाली जनतामा सुशासनका श्वास फेर्ने स्थिति बन्यो ।
केही दिन अघि अमानतमा दलका कार्यकर्ता पाल्ने एक सय दुई अर्बको टुक्रे बजेट कटौती गरेका उनले स्थानीय, प्रदेश र संघीय तहका राजनीतिक पदाधिकारीका स्वकीयका नाममा भैरहेको राज्य दोहन रोक्न ७ बुँदे परिपत्र जारी गरे । अर्थमन्त्रीले सातबुँदे परिपत्र जारी गरेर बुधबार विराटनगर भन्सार कार्यालय पुगे । मुलुमकै अर्थमन्त्री भन्सार कार्यालयमा सुटुक्कै पुगे । सर्वासाधारसंग वर्तमान अवस्थाको बारेमा सम्वाद गरे ।
सर्वसाधारण शैलीमा यात्रामा निस्किएका निस्किएका उनलाई धेरैले थाहा पाउन सकेनन् । तर, जनताको भावनालाई नजिकैबाट छाप्दै संवादमै भेटिए अर्थमन्त्री खनाल । विराटनगर भन्सार विभागमा वस्तु मूल्यांकन प्रक्रियामा डिजिटल प्रणालीको प्रयोगको उद्घाटनका लागि उनी त्यता पुगको हुन् ।उनीसहित भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री पनि यात्रामा संगै निस्किएका थिए । ०००








