३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

युनुस बने,बंगलादेशको अन्तरिम सरकार प्रमुख


२३ श्रावण २०८१, बुधबार  


प्राध्यापक अर्थशास्त्री मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेका छन्।मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्।आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए।आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्।

बंगलादेशका अन्तरिम सरकार प्रमुख बनेका युनुस शेख हसिनाका कट्टर विरोधीसमेत मानिन्छन्। अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ।अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ।

गएको एक महिनादेखिको विरोध प्रदर्शन बढ्दै र हिंसात्मक हुँदै गएपछि बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर देश छाडिन्।बंगलादेशी वायुसेनाको विमान चढेर छिमेकी भारत पुगेकी हसिना तेस्रो देश जाने तयारीमा रहेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन्। ७६ वर्षीया हसिनाले राजीनामा दिएपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरू रोकिएका छन्।

सधै भय र त्रासमै बंगलादेशको इतिहास
लामो समय निरंकुश सैनिक शासनको इतिहास भोगेको बंगलादेशमा फेरि सैनिक शासन सुरू होला कि भन्ने डर छ। यसबारे त्यहाँका जनता पनि सचेत छन्। आन्दोलनरत विद्यार्थीहरूले सैनिक शासन अस्वीकार्य हुने बताइसकेका छन्। उनीहरूले देशमा सबभन्दा बढी सम्मानित मध्ये मुहम्मद युनुसलाई सहभागी गराएर अन्तरिम सरकार गठन गर्न माग गरेका हुन्।

बंगलादेशमा लामो समयदेखि चलिरहेको हसिनाको तानाशाही शासन र खालिदा जियासँग उनको दुश्मनी बुझ्न त्यहाँको स्वतन्त्रता संग्रामसम्मै फर्किनुपर्छ।सन् १९४७ मा भारत(पाकिस्तान विभाजन भयो। त्यसको एक महिनापछि तत्कालीन पूर्वी पाकिस्तानमा जन्मिएकी हुन् हसिना। उनका बुबा शेख मुजिबुर रहमानले पाकिस्तानबाट स्वतन्त्रता हासिल गर्न नेतृत्वदायी भूमिका खेलेका थिए। आफ्ना बुबाको यो भूमिकाको हसिनाले सधैं फाइदा उठाइन्।

ब्रिटिसले भारत र पाकिस्तान विभाजन गर्दा बीचमा भारत पर्ने गरी पूर्वी र पश्चिमी पाकिस्तान बनाए। अहिलेको पाकिस्तान पश्चिममा पर्थ्यो भने बंगलादेश पूर्वी पाकिस्तान थियो। क्षेत्रफल र सत्ता(शक्तिका हिसाबले पश्चिमी पाकिस्तान केन्द्र थियो। जनसंख्या भने पूर्वमा धेरै थियो। दुवैतिर प्राय सबै मुसलमान भए पनि सांस्कृतिक रूपमा पश्चिम र पूर्वी पाकिस्तान फरक थिए। पश्चिममा उर्दू बोलिन्थ्यो, पूर्वमा बंगाली।

पूर्ण प्रजातन्त्र हुने हो भने जनसंख्याका आधारमा पूर्वका नेताले शासन गर्लान् भन्ने डरले पाकिस्तानले लामो समयसम्म आमनिर्वाचन नै गराएन। यता पूर्वी पाकिस्तानमा रहेकाहरू आफू हेपिएको महसुस गर्थे। आफ्नो मातृभाषा बंगाली भएको तर आफूहरूमाथि उर्दू भाषा लाद्न खोजेको भनेर विरोध गर्थे। सत्तामा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्छ भन्थे।

सन् १९७० मा पाकिस्तानमा भएको पहिलो आमनिर्वाचनमा खुलातर्फका ३०० निर्वाचन क्षेत्रमध्ये १६२ पूर्वी पाकिस्तानमा थिए भने १३८ पश्चिममा। महिलाका लागि छुट्टयाइएका १३ आरक्षण सिटमध्ये ७ वटा पूर्वमा पर्थे, ६ वटा पश्चिममा।
उक्त निर्वाचनमा पूर्वका १६२ मध्ये १६० र महिलाका लागि आरक्षित पूर्वका सबै सात सिट जितेर शेख मुजिबुर रहमान नेतृत्वको अवामी लिगले बहुमत ल्यायो। पश्चिमका जुल्फिकार अलि भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी ८१ सिट जितेर दोस्रो भयो। भुट्टो पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पिता हुन्।

बहुमत ल्याए पनि पूर्वी पाकिस्तानका बंगालीभाषी मुजिबुरलाई सरकार बनाउन राष्ट्रपति याया खानले आमन्त्रण गरेनन्। यसबाट पूर्वका जनता भड्किए र नागरिक अवज्ञा आन्दोलन सुरू गरे। त्यसलाई दबाउन सैनिक अपरेसन भएपछि मुजिबुरले १९७१ मार्च २६ मा स्वतन्त्र राष्ट्र बंगलादेशको घोषणा गरे। सैनिक शासकले उनलाई गिरफ्तार गरेर पश्चिमी पाकिस्तानमा एकल कारावासमा राखे।त्यसपछि पूर्वी पाकिस्तानमा गृहयुद्ध सुरू भयो।

सुरूमा भारतले पूर्वी पाकिस्तानका विद्रोहीहरूलाई तालिम र हतियार दिएको थियो। पछि १९७१ डिसेम्बर ३ मा उसले पूर्वी पाकिस्तानमा आफ्नो सेना नै पठायो। त्यसको १३ दिनपछि पूर्वी पाकिस्तानको विद्रोह दबाइरहेको पाकिस्तानी सेनाले भारतसँग आत्मसमर्पण गर्‍यो। अनि डिसेम्बर १६ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भयो।मुजिबुर बंगलादेशका प्रथम राष्ट्रपति भए। अधिकांश जनता मुसलमान भए पनि उनले पाकिस्तानको जस्तो इस्लामी व्यवस्था नचलाएर बंगलादेशलाई धर्मनिरपेक्ष देश बनाए।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित