सरजु मुहान छेवैमा यतिबेला हनुमानको मूर्ति ठिंग उभिएको छ,त्यसको नजिकै सामुन्नेमा हिन्दुहरूका आस्थाका भगवान श्रीरामको मन्दिर पनि चिरिच्याँट्टै छ ।एकताका गुमनाम जस्तै थियोे,यश पूण्य भूमि ।

तर,पछिल्लो समय यत्रतत्र सर्वत्र चर्चामा छ, सिमलटारा क्षेत्र।कारण हो, दानवीरहरूको दानदतव्यमा स्थापना गरिएको राम मन्दिर र हनुमानको सबैभन्दा अग्लो मूर्ति ।

यति ठूलो संरचनाको जग बसाल्ने आँट र भरोसा दिने दानवीर व्यक्ति हुन्, मुगादेवी पन्त ।हाल घोराही १ अठ्ठाईसे निवासी पन्तले यश पूण्यभूमिमा राम मन्दिर परिसरमा विशाल हनुमान मूर्ति स्थापनार्थ जग्गा दान गरेकी हुन्। ८४ वर्षीया मुगादेवी पन्तले ७ धुर जग्गा दान गरेकी छिन्। यस्तै अर्का दानवीर हुन्, घोराही –२ रामपुर दाङ निवासी लक्ष्मण पाण्डेय ।

उनै पाण्डेले पनि १० धुर जग्गा दान गरेको बताउँछन्, राम मन्दिर निर्माणका अभियान्ता खेमराज खनाल । उनी भन्छन्,”उहाँहरूले निजी जग्गा मन्दिरका नाममा दान गर्नु भएपछि हामीले संरचना बनाएर सरजुको धार्मिक महत्वलाई उजागर गर्न लागेका हौ।”

समितिका अनुसार हालसम्म १सय १३ जनाले मन्दिर स्थापनाका लागि सहयोग गरेका छन् । ५ हजार भन्दा माथिको सहयोग गर्नेहरूको विवरण हो, यो। दानवीरले दिएको दानबाट संरचना बनेपनि अहिलेसम्म कुनै पनि तहका सरकारले सघाएका छैनन् । सरकारी सहयोग प्राप्त नभए पनि स्थानीय अगुवाहरूकै पहलमा हनुमानको मूर्तिसहित राम मन्दिर र अन्य देवदेवीका मन्दिर बनाईएको छ।

स्थानीयको सक्रियतामा सरजु नदीको उद्गम भूमि रामपुरलाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउने लागेको वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डे बताउँछन् । उनी भन्छन्,, यश क्षेत्रको पर्यटनको बहुआयामिक विकासका लागि गुरूयोजना बनाएर अघि बढ्दैछौ, नगर कार्यपालिका बैठकबाट गुरूयोजना बनाउने निर्णय भएको छ। सरजु नदीको शीर रामपुर पुग्न सहज छ।चिल्ला र व्यवस्थित सडक बनेपछि यहाँ पुग्न सहज भएको हो।

मन्दिर दर्शनसंगै सरजुको मुहानको जल लिएर फर्कन सकिन्छ,जुन जल अत्यन्तै पवित्र मानिन्छ,अयोध्याको जल भन्दा सरजु शीरको जल शीरमा छर्किएमा पूण्य प्राप्ति हुने धार्मिक अभियान्ताहरूको दाबी छ।

धार्मिक महत्त्व तथा प्राकृतिक सुन्दरताको रमणीय स्थल भएकोले सरजु नदीको चर्चासंगै मानिसहरू तिर्थाटनका लागि यहाँ पुग्न थालेका छन् ।

यद्यपि त्यसको ठोस विवरण समितिसंग नभएपनि सबैभन्दा अग्लो हनुमान मूर्ति र मन्दिर दर्शनसंगै सरजुको उद्गम गुफाको अवलोकन गर्न थालेको स्थानीयले सरजु अनलाइनलाई बताए ।
