१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

१७३ जनाको ज्यान लिने ‘निर्दयी झरी’!


३० श्रावण २०८१, बुधबार  



लामो खडेरीपछि झरी लाग्यो, झरीले खुशी पनि दियो, किनकी मनुसुनी वर्षामा निर्भर छ, हाम्रो खेतीपाती । तर, अतिवृष्टि हुँदा बाढी पहिरोको प्रकोप झेल्नु परेको छ। सचेतना र सजगताकै अभावमा बाढी पहिरोबाट धेरैको ज्यान जाने गरेको छ।त्यसैको निरन्तरता यस वर्ष झनै बढेर गयो । सरकारी तथ्यांकले भन्छ, ‘गएको जेष्ठ २८ यता मनसुन शुरु भएसंगै १७३ जनाको मृत्यु भयो।’ यही आँकडालाई आधार मान्ने हो भने धनजनको क्षति अझै हुने देखिन्छ। किनकी मौसमविद्हरुले चेतावनी दिएका छन्, भदौ र असोजमा बढी वर्षात हुनेछ। तर, जब रात पर्छ तब बुढी तात्छे भने जस्तै सरकारले विपद् जोखिम न्यूनीकरणलाई गम्भीरतापूर्वक नलिदा जोखिम र क्षति धेरै बेहोर्न परेको विपद् विज्ञहरु बताउँछन्।

प्राकृतिक विपत्ति नआउने कुनै देश सायदै होला । तर, सम्भावित विपतको सामना गर्ने संयन्त्रको विकास गरिएको छ या छैन भन्ने मुल विषय हो । यही विपद्प्रतिको राज्यको बुझाइ र गराइकै परिणाम अनाहकमै सर्वसाधारण पहिरोम पुरिनुपर्छ, बाढीमा बग्नुपर्छ। यस्तो नियती यस वर्षको मात्रै होइन, हरेक वर्ष दोहोरिदो छ। घट्दो छैन, बरु बढ्दो छ। यस वर्षको मनुसुन शुरु भएसंगै सबै भन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृयु भएको छ। त्यस्तै लुम्बिनी प्रदेशमा ३३ जना, बागमती प्रदेशमा ३१ जना, कोशी प्रदेशमा २६ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना ,कर्णाली प्रदेशमा आठजना ,मधेश प्रदेशमा सातजना र उपत्यकामा ३ जनाको ज्यान गएको हो । काठमाडौ उपत्यकासहित एक सय ७३ जनाको बाढी पहिरोको विपद्मा परी मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की बताउँछन्। उनका अनुसार काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २३ जना घाइते भएका छन्।

यसैगरी, बाढीपहिराका कारण काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँचजना गरी एक सय १३ जनाको उद्धार गरिएको छ।प्रवक्रा कार्कीका अनुसार बाढीपहिरामा परी कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुईजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ४८ जना बेपत्ता भएका छन्। बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन्। दुई सय ७५ वटा घर, एक सय चारवटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।बाढीपहिराबाट आठ सय १२ वटा पशुचौपाया मरेका छन्। यस अवधिमा विपतका घटनाबाट चार हजार तीन सय २२ घरपरिवार विस्थापित भएको पननि प्रहरी दानबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित