२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

७ अर्बको बीमा पोलिसी बन्द ६ महिनामा ५४ हजारबाट बीमा सरेण्डर !


११ माघ २०८१, शुक्रबार  


बीमा आवधि नसकिदै बीमालेख त्याग्नेको श्रृङखला निकै बढ्दो छ । यही चालू आर्थिक वर्षको ६ महिनामा साढे ७ अर्ब बराबरको बीमा पोलिसी बन्द भएका छन् ।नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालू आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्मको तथ्याङ्कले बीमा त्याग्नेहरुको उलेख्य संख्या देखाएको हो ।

प्राप्त विवरण अनुसार ६ महिनामै ७ अर्ब ४६ करोड ६६ लाख ७२ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर भएको पाइएको छ । यस अवधिमा ५४ हजार ४१४ बीमितले यही बराबरको बीमालेख सरेन्डर गरेका हुन् । नियमित प्रक्रिया भएपनि अवधि नसकिँदै बीमालेख त्याग्नेहरुको लहर निरन्तर बढीरहेको छ ।

कुल व्यवसायको झन्डै १० प्रतिशत रकम सरेन्डर भएको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । तर,, त्यसको ९.२५ प्रतिशत सरेन्डर भएको देखिन्छ ।

बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ । तर,, उक्त अवधि सकिदैं बीमितहरुले पोलिसी बन्द गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ। त्यसपछि पोलिसी बन्द हुन्छ । हाल बीमा गरेको न्यूनतम तीन वर्षपछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था प्राधिकरणले गरेको छ ।

प्राधिरकणका अनुसार पुस महिनामा मात्रै १ अर्ब ३५ करोड ९४ लाख २८ हजार रुपैयाँ बराबरको ९ हजार ३५४ वटा बीमालेख बन्द भएका छन् । पछिल्लो समय मासिक औसतमा १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको देखिन्छ ।मंसिर महिनामा मात्रै ९ हजार ७५ बीमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । प्राधिरकणका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा पनि १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएको थियो ।

यस्तै, भदौमा १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९ हजार ४४९ वटा बीमालेख, असोजमा १ अर्ब ५० लाख र गत कात्तिक मसान्तसम्म आइपुग्दा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको ३५ हजार ९८५ वटा बीमालेख सरेन्डर भएको थियो ।

कुल सरेन्डरको ३२ प्रतिशत हिस्सा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी( को देखिन्छ । ६ महिनामा एलआइसी नेपालका १३ हजार ९६८ बीमितले २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । कम्पनीको कुल व्यवसायको २५.२२ प्रतिशत सरेन्डर भएको हो,६ महिनामा एलआइसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कुल सरेन्डरमा दोस्रो ठुलो हिस्सा नेपाल लाइफको छ । ६ महिनामा कम्पनीका १२ हजार २४१ बीमितले २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको २७.०९ प्रतिशत हुन आउँछ ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख, एशियनको ४६ करोड ८१ लाख, नेशनलको ४६ करोड ५१ लाख, सूर्यज्योतिको ३८ करोड ९४ लाख, हिमालयनको ३३ करोड २३ लाख, मेट लाइफको १९ करोड ६६ लाख, सानिमा रिलयान्सको १३ करोड १२ लाख, सिटिजनको ११ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ ।

प्राधिकरणका अनुसार प्रभू महालक्ष्मीको पनि ९ करोड ८२ लाख, रिलायवल नेपालको ५ करोड ५६ लाख, सन नेपाल लाइफको ३ करोड ५२ लाख रुपैयाँ बराबरको बीमालेख बन्द भएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित