बालेनले बढाएको परिवर्तनको निर्मम गियर रोकिनुहुन्न कदापि । सानातिना इस्यू समातेर विरोधीले बजार ताताउँछन् नै । विरोध गर्न जति धेरै सजिलो छ । त्यत्ति धेरै कठिन छ, समृद्ध र व्यवस्थित राज्य बनाउन । सडकदेखि सत्तासम्मको भद्रगोल पन्छाउन पक्कै कठिन छ। राष्ट निर्माणको काम आफैमा कहिल्यै सजिलो बाटोबाट पनि हुदैन ।
कसैले अमूक जात धर्म र समूहका नाममा डम्फू बजाइरहेका छन् । सरकार कदमले अत्तालिएकाहरुले यस अघि रामराज्य नै थियो जसरी सरकारको विरोध गरेको देखिन्छ । लोकतन्त्रमा समर्थन र विरोध हुन्छन् । विरोध र विमति हुँदैमा कुनै अन्यथा त हुदैन । तर, २१ फागुनको निर्वाचनमा बेहोरेको पराजयको कुण्ठा र त्यसको भडास यतिबेला सुकुम्बासीको काँधमा बन्दुक राखेर सरकारलाई कमजोर बनाउन चाहेका छन् । तर, यथार्थ के हो भने प्रधानमन्त्री बालेन्द्र मुलुक परिवर्तनको यात्रामा छन् । काम गर्दा कमीकमजोरी हुन सक्छन् । तर, आकाशै खसे झै गर्ने विरोधीहरुको चिच्याहट उदेकलाग्दो पक्कै छ । यद्यपि परिवर्तनको बाटो सधैं जटिल र निर्मम हुन्छ । हात्ती लम्किदै गर्दछ, कुकुर भुक्दै गर्दछ भन्ने उक्ति स्मरण गर्दै सरकारले गियर अझै बढाउन पर्छ ।
देश अहिले पहिलो गियरमा अघि बढिरहेको छ । पहिलो गियरमा इन्जिनको आवाज अलि धेरै चर्काे हुन सक्छ । जब गियर बढ्दै जान्छ । तब, यस्तो विरोधका स्वरहरु मधुरो हुँदै जानेछन् ।यो सुरुवाती चरण हो, केही अवरोध र बाधाहरु अवस्य आउँछन्। नदीले जसरी पहिलो पटक आफ्नो बाटो बनाउन असहज हुन्छ, त्यस्तै हो, देश बनाउन पनि । यो पहिलो चरणको गियरमा भएको बेला आलोचकहरूले साना विषयहरू उछालेर टिकाटिप्पणी गरिरहेका छन् र गर्छन् पनि ।
यस्ता टिप्पणीको अर्थ हो, सरकारले सही गति पकडेको छ । सरकार आफ्नो लक्ष्य र उदेश्यमा अर्जुनदृष्टि लगाएको छ । सरकारको अर्जनुदृष्टिमा विरोधीको कुदृष्टिले खासै फरक पर्दैन । उनीहरुको टिप्पणी र विरोध हेर्दा र सुन्दा यस्ता लाग्छ, की यो सरकारसँग कुनै सोच्ने क्षमता नै छैन । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र मन्त्रीहरु हुदय नभएका हुन् । उनीहरुमा मानवता नै छैन । छ, त केवल कठोरता मात्रै । यी यस्ता भाष्य बनाएर सरकारलाई गलाउने कोशीस गरिएको छ। यस्ता कोशीसले दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री गल्ने कुरा पनि भएन ।
सत्ताबाट सडकमा पछारिएको एउटा समूहको आवाज अलि चर्काे सुनिएको छ। विगतमा राज्य शक्तिको दुरुपयोग गरेर मोजमस्ती गरेको त्यो समूह अहिले ज्यादा छटपटाएको मात्रै हो । त्यो समूह आज समाजमा जानाजानी भ्रम छर्न हात धोएर लागेको छ। यद्यपि यस्ता भ्रम छर्नु आफैमा अराजकता पनि हो । सानो सानो कुरालाई ठुलो बनाएर प्रस्तुत गर्नु आफैमा नालायकी प्रस्तुत गर्नु हो । तर सत्य त्यस्तो छैन । वर्षौँदेखि अनाधिकृत रूपमा सरकारी जमिन कब्जा गरेर ठडिएका ७–८ तले संरचनाहरू केवल भवन होइनन् । त्यो अन्यायको प्रतीक हो । राज्यलाई ठगेर ठडिएका महलले देशलाई केवल निचोरेको मात्रै थिएनन् । मातृभूमिलाई रुवाएको पनि हो ।
यदि आज जे भइरहेको छ, त्यो काम १५–२० वर्ष अघि कसैले गर्ने आँट गरेको भए, सायद आजको नेपाल यति धेरै अस्तव्यस्त हुने थिएन। ढिलै भए पनि सुरु भएको सुधारलाई रोक्ने होइन, बल दिनुपर्ने समय हो ।तर, यो भन्दै गर्दा एउटा स्पष्ट र न्यायपूर्ण रेखालाई कदापि विर्सनु हुन्न । त्यो हो, असली सुकुम्बासीहरूको व्यवस्थापन । जो साँच्चिकै घर जग्गाविहीन छन्। उनीहरूलाई राज्यले सम्मानजनक ढंगले उचित बसोबास बन्दोबस्त गर्नै पर्छ । तर पहाड, तराई वा हिमालमा सम्पत्ति भएर पनि सुकुम्बासीको नाममा बसिरहेका व्यक्तिहरूलाई पनि वास्तविक सुकुम्बासीको श्रेणीमा राखिनु त्यो गम्भीर अन्याय हुनेछ ।
“पहिले व्यवस्थापन, अनि मात्र कारबाही” भन्ने नाममा फैलाइने अर्को भ्रम पनि त्यत्तिकै खतरनाक छ । यथार्थ के हो भने व्यवस्थापन र कारबाही सँगसँगै अगाडि बढ्छन् र बढ्नुपर्छ । अवैध संरचना हट्दै जान्छन् । वास्तविक पीडितहरू पनि व्यवस्थित हुँदै जान्छन् । यद्यपि काम गर्ने शिलशिलामा कठिनाइ र समस्या पनि आउन सक्छन्। ती सबैलाई विवेकपूर्ण ढंगले हल गर्ने हो, विरोधीले के भन्छन् या भन्दैनन् भन्नेसंग कदापि सरोकार राख्नुहुन्न ।
लामो समय भद्रगोल, अव्यवस्थित र अलमलमा रहेको मुलुक अब बन्ने यात्रामा छ । प्रधानमन्त्री बालेनले त्यसको स्टेरिङ समाएका छन् । इफ र बट होइन, उनी फटाफट काम गर्ने प्रधामन्त्री हुन् । उनी लक्ष्य र उदेश्यमा कदपि विचलित छैनन् र हुनुहुन्न पनि । विगतमा सिंगापुर बन्दा पनि लिक्वान युले यस्तै बाधा र अवरोध झेलेका थिए । तर, आज सिंगापुर सिंगारिएपछि दुनियाँले लिक्वान युको मुक्त कण्ठले प्रशंसा गर्दछ । यो अवसर प्रधानमन्त्रीका लागि पनि लिक्वान यु बन्ने सौभाग्य होइन र ? ०००








