१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

शेख हसिनाको सत्ताच्यूतको कारण…


२२ श्रावण २०८१, मंगलबार  


शेख हसिना त्यस्ती महिला हुन्, जसले बंगलादेशमा विश्वमै सबै भन्दा बढी सत्ता सञ्चालन गरिन्। सन २००९ देखि निरन्तर सत्तामा रहेकी उनी सोमबार नागरिक विद्रोहबाटै सत्ताको घोडाबाट लघारिइन्। धेरै पटक उनको हत्या गर्ने प्रयास गरिएको थियो। हरेक पटक मृत्युंलाई पराजय गरेकी हसिना आप्नै नागरिकको असन्तुष्टिको विद्रोहका अघि घँुडा टेकिन । जनताका लागि आफू मर्न तयार भएको भन्दै आएकी उनी उनै जनताले धेरै पटक सत्तामा पुराए। तर, सत्ताको चरम दुरुपयोग र जनतामाथि बर्बर दमन, कुशासन र बेथितिकै सडक विद्रोहबाट उनको सत्ता सखाप भयो। जसले सत्तामा पुराएका थिए, उनै जनताले देशमै बस्न नसक्ने गरी विदेश धपाए । नागरिकका लागि मर्न तयार भएकी उनी आफ्ना आसेपासे र कार्यकर्ताका लागि मर्न तयार हुँदा अन्ततः हेलिकप्टर चढेर छिमेकी भारतमा शरण लिनुपुगिन् । शक्तिको आडमा निरन्तर सत्तामा रहने उनको सपनाको पर्खाल भत्किएको छ, त्यो पनि कहिल्यै नउठ्ने गरी ।

यो राजनीतिक दुर्घटना यतिधेरै दुःखदायी रह्यो की राष्ट्रपिता भनेर चिनिने देशकै पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरीका रूपमा र राजनीतिमा उदाइन्। तर, उनै ‘राष्ट्रपिता’ को शालिक समेत उनले जोगाउन सकिनन् ।विश्वमा सर्वाधिक इस्लामिकलउदार, नरम र लोकतान्त्रिक राजनेता मानिने ‘राष्ट्रपिता’ शेख मुजिबुर रहमानको शालिक समेत तोडफोड गरे आन्दोलनकारीले । आफ्नैपिताको शालिक ढल्ने अवस्थाको भयावह स्थिति सिर्जना गरेर उनी आफ्नी छोरी बोकेर भारत भागेको दृष्य एकदमै दुःखद् अन्त्य पक्कै हो ।

बाबुको राजनीतिक विरासत र व्याजबाट राजनीतिमा उदाएकी शेख हसिनाको सत्ता राजनीतिको अन्त्यको कारण आरक्षणको मुद्दा हो। यही मुद्दाकै कारण उनको सत्ताच्यूत निकै दुःखद् र पीडादायी बन्यो । जुन मुद्दा आजको थिएन। बंगलादेशमा कोटा प्रणालीको विरोध धेरै पहिलेदेखि हुँदै आएको थियो। जुन विरोधको आकार सन २०१८मा आइपुग्दा ठूलो रुप लिएको थियो । बंगलादेशस्वतन्त्रताका लागि लड्दा जीवन जोखिममा पार्नेहरूको सन्तान र उत्तराधिकारीका लागि अवसर सुनिश्चित गर्न ल्याइएको यो कोटा प्रणाली कहिलेसम्म भन्ने प्रश्न बलियो बन्दै गइरहेको थियो ।

यसको आयु हुन्छ । यो असमानहरूबीच समान प्रतिस्पर्धा हुन सक्दैन भन्ने मान्यता अनुरुप पछाडि परेकालाई अगाडि ल्याउनको लागि अपनाइएको एउटा विधि हो । समतामूलक समाज निर्माणका लागि सकारात्मक विभेदको रुपमा अथ्र्याइन्छ। सबैसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनका लागि अवलम्बन गरिने व्यवस्था हो । जुन व्यवस्था बंगलादेशमा लागू गरिएको थियो । देशको एक तिहाइ सरकारी जागिर सन् १९७१ को स्वतन्त्रता योद्धाका सन्तानलाई आरक्षणको नाममा दिइदै आइएको थियो । जुन हसिनाको सत्ता सेवाको रुपमा दुरुपयोग भइरहेको यियो । यही विषयको विरुद्धको आवाज चर्का बन्दै गइरहेको थियो । सरकारी जागिर योग्यताका आधारमा भएपनि बाँकी ५६ प्रतिशतको ३० प्रतिशत स्वतन्त्र योद्धाका सन्तान र उत्तराधिकारीले

पहिलो र दोस्रो श्रेणीको सरकारी जागिर मेरिटका आधारमा भए पनि बंगलादेशमा ५६ प्रतिशत आरक्षण कोटा थियो । जसमा ३० प्रतिशत स्वतन्त्रता योद्धाका सन्तान र उनका उत्तराधिकारीलाई सुनिश्चित गरिएको थियो र यसैगरी १० प्रतिशत महिला, १० प्रतिशत पिछडिएको जिल्ला, ५ प्रतिशत अल्पसंख्यक समुदाय र एक प्रतिशत अपांगता भएका व्यक्तिहरूलाई० आरक्षण छुट्याइएको छ ।आन्दोलनकारीले ३० प्रतिशत आरक्षण खारेजको मुख्य मुद्दा उठाएका थिए। जहाँ स्वतन्त्रता योद्धाका नाममा एउटा समूहले राज्यमा सरकारी अवसर पाइरहेको थियो । त्यसको विरुद्धमा बंगलादेशमा आन्दोलनको उठान भएको थियो। समयको कालक्रमसंगै आन्दोलनले चर्काे रुप लियो। शेख हसिनाको सत्ताले न्यायीक आन्दोलनमाथि बर्बर दमन गरेपछि अन्नतः सत्ता छोडेर हसिना भारतमा शरण लिन जानु पयो । उनले आन्दोलनकारीको माग सुन्ने भन्दा पनि हसिना सरकार विद्यार्थीलाई ‘आतंककारी’ को संज्ञा दिन पछि परेन ।


सडकमा नागरिक मारिइरहँदा उनको यस्तो अडानले स्वतन्त्रता सेनानी परिवारको नाममा आफ्ना पार्टी समर्थक परिवारलाई निरन्तर राज्यबाट लाभ लिइरहने स्वार्थ रक्षामा लागेको प्रदर्शनकारीको भनाइलाई बल पुग्यो।बंगलादेश स्वतन्त्र भएको ५५ वर्षपछि स्वतन्त्रता सेनानीको परिवारको नाममा आरक्षण दिइराख्दा देशमा निश्चित परिवारको प्रभुत्व कायम रहने र नयाँ ढंगको असमानता सिर्जना हुने अवस्था बन्यो ।
शक्तिको समतामूलक वितरणको मान्यताका विरुद्धमा केहीलाई ‘सधै आरक्षण, सधै सत्ता’ को नीतिमा लागेर हसिनाले सत्ताको निरन्तरताको लागि आरक्षणको दुरुपयोग गरेको भाष्य नागरिकले आँखा चिम्लिएर विश्वास गर्न थाले ।आयु आरक्षणको मात्र होइन, कुनै पार्टी र नेतृत्वको पनि हुन्छ । अन्ततः आरक्षणको आन्दोलनले हसिनाको विरासतको राजनीतिलाई इतिहासमै थन्काइदियो । हसिनाका बुवा शेख मुजिबुर रहमानले सन् १९७१ मा बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाए । बंगलादेशका पहिलो राष्ट्रपति बनेका उनलाई राष्ट्रपिता भनिएको हो ।

देश जन्मनुअघि नै ढाका विश्वविद्यालयमा विद्यार्थी राजनीति गरेकी उनी र उनकी बहिनी रेहाना विदेश यात्रामा रहेकै कारण भाग्यमानी साबित भए किनकि सन् १९७५ को सैन्य कूमा पिता र परिवारका अन्य सदस्य सबै मारिएका थिए ।लामो समय उनी भारतमा निर्वासनमा बसिन् । सन् १९८१ मा देश फर्किएर पिताको पार्टी अवामी लिगको नेता बनिन् । जतिबेला देशमा सैन्य शासन थियो, जर्नेल हुसेन मुहमद एर्सादको निरंकुशताविरुद्ध उनी लोकतन्त्रको लागि संघर्ष सुरु गरिन् ।पूर्व सैनिक तानाशाह जियाउर रहमानकी विधवा खालिदा जिया र ‘राष्ट्रपिता’ की छोरी शेख हसिना सत्ताका लागि दुश्मनीमा उत्रनुअघि लोकतन्त्र स्थापनाका लागि भने हातेमालो गरेका थिए । सन् १९९० को जनआन्दोलनमा उनीहरूले हातमा हात मिलाएर सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरे र देशमा लोकतन्त्र ल्याए ।लोकतन्त्रको स्थापनापछि भने उनीहरू लगातार प्रतिशोधपूर्ण राजनीति गरिरहे ।लोकतन्त्रको मैदानमा दुई मातृसत्ताको भिडन्तले बंगलादेशको राजनीति निकै हिंस्रक र उतारचढावपूर्ण बनायो ।
त्यसो त, यो क्रम हसिनाले एक्लै सुरु गरेकी होइनन् । बंगलादेशमा दुई मातृसत्ता भिडन्तको रोचक इतिहास छ ।जिया र हसिना दुई राजनीतिक वंशको बिरासत पछ्याएर राजनीतिमा क्रियाशील रहँदै आए । तीन दशकदेखि उनीहरूले एकअर्कालाई विस्थापन गर्दै सत्तासीन हुँदै आएका छन् ।लोकतन्त्र स्थापनाकालीन सहकर्मीलाई हसिनाले भ्रष्टाचारको आरोपमा जेल कोचेकी छिन् । यही आरोप जियाले हसिनालाई लगाएर जेल सजाय दिन खोजे पनि उनी सफल भएकी थिइनन् ।विपक्षमा रहँदा जतिसुकै यातना र पीडा सहे पनि सत्तामा पुगेपछि उनले पनि त्यस्तै अस्त्र चलाइन् जुन अस्त्र उनीमाथि सत्तापक्षले चलाएको थियो ।हसिनालाई गिरफ्तारी र हत्याप्रयासबाट प्रताडित हुनुपरेको अनुभव र मनोविज्ञान मात्र छैन । उनले सैन्य कुमा परिवार नै गुमाइन् । २००४ को आक्रमणमा त उनले आंशिक रूपमा श्रवण क्षमता नै गुमाइन् ।जियालाई आजीवन काराबासको सजाय दिएर मात्र नपुगेर हसिनाले उनका सन्तानहरूलाई पनि निर्वासनमा पठाएकी छन् । तर प्रतिपक्षीलाई जेलमा हालेर उनको सत्तायात्रा अनन्तसम्म लम्बिएन । अब यो सत्ताको चक्रबाट उनी धेरै टाढा खेदिएकी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ०० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित