ग्लाेबल आइएमई बैंकले निजी सवारी साधन खरिदमा करिब १५ अर्ब लगानी गरेको छ।
सवारी किन्न सबैभन्दा धेरै ऋण ग्लोबल आइएमई बैंकले दिएको छ । तीन महिनामा बैंकले ९१ करोड ३३ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेको छ ।
गएकाे असार मसान्तसम्म बैंकले प्रवाह गरेको कुल सवारी कर्जा १३ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ रहेको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने ६.५३ प्रतिशत वृद्धि भई १४ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुगेको हाे।
गएकाे असार मसान्तसम्म आइपुग्दा ग्लाेबलसहित बैंकहरूले १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, असोजमसान्तसम्म आइपुग्दा अवधिमा कम्पनीहरुको कुल सवारी कर्जा प्रवाह १ खर्ब ७ अर्ब ८२ कराेड ३८ लाख पुगेकाे छ।
यस्तै, नेपाल बैंकले पनि यस्तो कर्जा १९.६२ प्रतिशत बढाएको देखिन्छ । चालू आर्थिक वर्षको तीन महिनामा बैंकले ४६ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गएकाे असार मसान्तसम्ममा बैंकले २ अर्ब ३८ करोड ७८ लाख रुपैयाँ कर्जा दिएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने ६.२७ प्रतिशत बढेर २ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
चालू आर्थिक वर्षको समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले पनि ३९ करोड ५८ लाख रुपैयाँ दिएको छ । असोजसम्म आइपुग्दा बैंकको कुल प्रवाहित सवारी कर्जा ६ अर्ब ७० करोड २४ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, तीन महिनामा एनएमबि बैंकले ३७ करोड ८५ लाख, नबिलले ३६ करोड २३ लाख, सानिमाले ३५ करोड ४४ लाख, एभरेष्टले २५ करोड ३६ लाख, कृषि विकासले १९ करोड ५० लाख, र नेपाल एसबिआईले १५ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
खरिदका लागि तीन महिनामा बैंकहरुले झन्डै एक अर्ब ऋण दिएका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले थप ९६ करोड बढी सवारी कर्जा प्रवाह गरेका हुन् ।
असोज मसान्तसम्म आइपुग्दा यी बैंकहरुको कुल प्रवाहित सवारी कर्जा क्रमशः ११ अर्ब १६ करोड ६३ लाख, ५ अर्ब ९१ करोड ६४ लाख, ३ अर्ब ७२ करोड १८ लाख, ३ अर्ब ६१ करोड ७४ लाख र २ अर्ब १२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यता, प्राइम बैंकले तीन महिनामा ७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा सिटिजनको सवारी कर्जा प्रवाह भने स्थिर देखिएको छ ।
समिक्षा अवधिलाई पल्टाएर हेर्दा ९ बैंकले भने पुरानै कर्जा असुलीमा जाेड दिएको देखिन्छ। हिमालयन, एनआइसी एशियासहित ९ बैंकले कर्जा घटाउन जाेड दिएका हुन्।
समीक्षा अवधिमा हिमालयन बैंकको सवारी कर्जा प्रवाह ९४ करोड ३५ लाख रुपैयाँ घटेको देखिन्छ । गएकाे असार मसान्तसम्ममा बैंकले ७ अर्ब ९० लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेको थियो । तर, असोज मसान्तसम्ममा आइपुग्दा भने ६ अर्ब ६ करोड ५५ लाख रुपैयाँमा झरेको छ ।
यस्तै, एनआइसी एशिया बैंकको सवारी कर्जा पनि १०.९५ प्रतिशत, कुमारीको ४.२६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १०.५६ प्रतिशत, प्रभूको ४.१७ प्रतिशत, लक्ष्मी सनराइजको ५.७५ प्रतिशत, माछापुच्छ्रेको २.७४ प्रतिशत, सिद्धार्थको २.३४ प्रतिशत र नेपाल इन्भेष्टमेन्टको ०.९२ प्रतिशत घटेको देखिन्छ ।







