होटल तथा रेष्टुरेन्ट क्षेत्रमा करिब साढे पाँच खर्ब लगानी भएको देखिएको छ।
पर्यटन क्षेत्रको पूर्वाधारमध्येको प्रमुख मानिने होटल तथा रेस्टुराँमा निजी क्षेत्रले ५ खर्ब ४३ अर्ब लगानी गरेको देखिएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले गएको बुधबार सार्वजनिक गरेको होटल तथा रेस्टुराँ सर्वेक्षणको नतिजाले निजी क्षेत्रले होटल, रेस्टुरेन्टलगायत पर्यटकका लागि आवास तथा भोजनसँग सम्बन्धित प्रतिष्ठानमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख लगानी भएको देखाएको हो ।यो लगानीमा वित्तीय क्षेत्रको २८ प्रतिशत ऋण तथा लगानी रहेको छ ।
नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको छ । यी प्रतिष्ठानले २ अर्ब १६ अर्ब ७३ करोड मूल्य बराबरको लागत खर्च गरेर ३ खर्ब २६ अर्ब १ करोड मूल्य बराबरको सेवा उत्पादन गरिरहेका छन् ।
यस क्षेत्रमा सक्रिय भई संलग्न व्यवसायी तथा साझेदार व्यक्तिको संख्या ३ लाख ८७ हजार रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मी बताउँछन् । यसमा ४४ प्रतिशत लगानीकर्ता महिला छन् भने बाँकी ५६ प्रतिशत पुरुष छन् ।
यस क्षेत्रमा नियमित रूपमा तलब तथा ज्यालादारीमा कार्यरत कर्मचारी १ लाख ६ हजार हाराहारी रहेका छन् । कर्मचारीहरूलाई यी प्रतिष्ठानले वार्षिक २० अर्ब ६१ करोड तलब, ज्याला तथा सुविधाबापत उपलब्ध गराएको देखिएकोछ।
देशभर नमुना छनोट विधि र पर्यटन विभागमा दर्ता भएका तारे होटल तथा रिसोर्टमा गणकले यो सर्वेक्षण गरेका थिए । त्यस्तै १० जनाभन्दा वा यो अंकभन्दा बढी जनशक्ति भएका अल्पकालीन आवास क्षेत्र तथा भोजन सेवा उपलब्ध गराउने प्रतिष्ठानलाई सर्वेक्षणमा समेटिएको थियो । जसमा १ लाख ४२ हजार २ सय २३ वटा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेस्टुराँको सर्वेक्षण गरिएको थियो ।
२०७९ साउनदेखि २०८० असारसम्ममा गरिएको सर्वेक्षणले शिक्षण संस्था, स्कुल, कलेज, छात्रावास तथा कार्यालय, मठ मन्दिर, गुम्बा, धर्मशाला तथा सामूहिक आवास गृहभित्र सञ्चालित भोजन तथा आवास गृहलाई सर्वेक्षणको दायरामा राखेको छैन । सडकपेटी, खुला स्थानमा सञ्चालित भोजनसम्बन्धी क्रियाकलापलाई पनि सर्वेक्षणमा समेटेको छैन ।
स्थायी लगानी (सम्पत्ति)सबैभन्दा धेरै बामतीमा २ खर्ब ४१ अर्ब र सबैभन्दा थोरै कर्णालीमा ११ अर्ब देखिन्छ । बागमती तीपछि दोस्रो स्थानमा गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड लगानी छ । तेस्रो स्थानमा लुम्बिनीमा ५३ अर्ब लगानी भएको कार्यालयको सर्वेक्षणमा देखिएको छ ।
आवासतर्फ देशभर सञ्चालित तारे होटलदेखि होमस्टेसम्म १ लाख १६ हजार १ सय कोठा रहेका छन् । यिनमा तारे होटलका ८ हजार ४ सय ९६, पर्यटकस्तरीय होटलका १ लाख ७५, रिसोर्टका ३८ सय २९ र होमस्टेका ३७ सय छन् ।
होटलले बिक्री गर्ने कोठाहरूको मूल्य न्यूनतम १४ सयदेखि पाँचतारे होटलले प्रतिकोठाको बसाइबापत दिनको ६९ सय रुपैयाँ लिने गरेको सर्वेक्षणमा देखिएको छ । नेपालले वार्षिक ३० लाख पर्यटकलाई सेवा दिने क्षमता निजी क्षेत्रको रहेको पर्यटन व्यवसायीले जनाउँदै आएका छन् । सर्वेक्षणले समेटेका सबै होटलमध्ये तारेदेखि पर्यटकीयस्तरका होटलले दिनको १० हजार बेड उपलब्ध गराउने क्षमता राख्ने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । उनी भन्छन् “हामीले वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्छौं । पर्यटकको बसाइका आधारमा, एउटा कोठाभित्र हुने बेडहरूको प्रकारका आधारमा ३५ लाख पर्यटकलाई सेवा दिन नेपाली होटल सक्षम भइसकेका छन्।”
रेस्टुराँतर्फ एक पटकमा २२ लाख ३४ हजार अतिथिले सेवा लिन सक्ने पाइएको छ । ‘एकै पटक मानिसहरू बाहिर खान निस्किए नेपालभित्र सञ्चालित रेस्टुराँको सिटिङले एक पटकमा २२ लाख मानिसलाई अतिथि सत्कार दिन सक्ने क्षमता देखिएको छ।
नेपाल सरकारको दर्ता प्रक्रियामा भने सबै होटल तथा रेस्टुराँ समेटिएका छैनन् । सर्वेक्षण प्रतिवेदनले झन्डै ३७ प्रतिशत दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ ।