घोराही सिमेन्ट उद्योगको सेयर मूल्यमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
महालेखाले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा घोराही सिमेन्ट उद्योगले जारी गरेको सेयरको प्रिमियम मूल्यको औचित्य नदेखिएको भन्दै प्रश्न उठाएको हो।
उद्योगले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता नबुझाएको,ह्रास खर्च न्यून लेखेर नाफा अधिक देखाएको लगायतका विषय औँल्याउँदै उद्योगको प्रिमियम मूल्यमाथि नै प्रश्न उठाएको हो ।
धितोपत्र निष्कासन गर्दा प्रिमियम मूल्य निर्धारण गर्ने विधि र औचित्य पुष्टि हुनुपर्ने व्यवस्था रहेकोमा एक उद्योगले प्रति शेयर ३३५ प्रिमियम थप गरी प्रति सेयर ४३५ का दरले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गरेको देखिएको प्रतिवेदन उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ,“नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने महसुल १ अर्ब २४ करोड १३ लाख र कर दायित्व १ करोड ४८ लाख समेत १ अर्ब २५ करोड ६१ लाख २०७८/७९ मा कन्टिजेन्ट दायित्वतर्फ देखाई खर्च नियोजनबाट उद्योग नाफामा देखाई प्रिमियममा सेयर निष्कासन गर्नु औचित्यपूर्ण देखिएन ।”
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित स्थानीयलाई ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ प्रतिकित्तामा आइपिओ जारी गर्न स्वीकृति पाएको थियो । यस्तै सर्वसाधाण्लाई १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्तामा आइपिओ निष्काशन गर्ने स्वीकृति पाएको थियो ।
महालेखाले उद्योगले कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उद्योगको तर्फबाट खर्च लेख्नुपर्नेमा कोषमा आबद्ध नगरेको तथा ह्रास खर्चसमेत न्यून लेखेर नाफा वृद्धि गरेको जनाएको छ ।
नियामक निकायहरूले समन्वय गरेर घोराहीको सेयर मूल्यले नागरिकमा परेको प्रभावको विषयमा छानबिन गर्नुपर्ने महालेखाले औँल्याएको छ । घोराही सिमेन्ट त्रिवेणी ग्रुप अन्तर्गतको हो ।सन् २००९ मा स्थापना भएको यो कम्पनीले प्रिमियममा आइपिओ जारी गरेको थियो ।
त्यसैगरी कम्पनीले सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी मुनाफा ५५ करोड ४३ लाख रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल नाफा २७ करोड ५७ लाख रुपैयाँबाट बढेर ७१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गएको आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको यही अवधिसम्ममा १ करोड ७३ लाख ६१ हजार रुपैयाँ धनात्मक भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ८० पैसा रहेको छ।
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।








