सहकारी ठगी सम्बन्धि गठित समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४० सहकारीको ८८ अर्ब रुपैया झ्वाम पारेको पाइएको छ, जसमा रास्वपा सभापति रवि लामिछानेदेखि कांग्रेसका धनराज गुरुङदेखि एमालेका नेता ऋषिकेश पोखरेलसम्मका मानिसहरु मुछिएका छन्। छानबिन समितिले ४० सहकारीको ८७ अर्ब ८९ करोड अपचलन भएको निष्कर्ष निकालेको छ ।
२२ वटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीमा ७१ अर्ब ३० करोडको बचत रकमसहित ८७ अर्ब ८९ करोड दायित्व देखिन्छ । तर, ऋण उठाउनुपर्ने ब्याज, अन्यत्र गरिएको लगानी र गैरबैंकिङ सम्पत्तिको उठ्ने आधार भने कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।बचतकर्ताको रकम पचाउन नक्कली विवाह, अंशबन्डा र पुनः विवाह, नक्कली खाता खोल्ने, नक्कली लेखापरीक्षण, साधारण सभा र प्रतिवेदन तयार पार्नेदेखि नक्कली शेयर सदस्य बनाउने काम गरिएको प्रतिवेदनको निष्कर्ष छ ।
तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसले फागुन तेस्रो साताबाट सहकारी ठगीमा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समिति गठनको मागसहित संसद् अवरुद्ध गरेपछि १५ जेठमा चारवटा कार्यादेशसहित समिति गठन भएको थियो । कार्यादेशमा संकटग्रस्त सहकारीका अवस्थाबारे अध्ययन, जोखिममा परेको बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताको उपाय, २० वटा समस्याग्रस्त सहकारीका सम्बन्धमा सरकारी समितिको प्रतिवेदन कार्यान्वयनको अवस्था र नौवटा सहकारीबाट गोर्खा मिडियालगायत संस्थामा गएको रकम अपचलनमा संलग्न व्यक्तिको संलग्नताका विषयमा छानबिन तथा कारबाही सिफारिस गर्ने उल्लेख थियो ।
एमालेका सूर्य थापाको नेतृत्वमा गठित समितिमा कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान गरी सात सदस्य थिए । तीनमहिने कार्यावधि प्राप्त समितिले २३ जेठदेखि अध्ययन र छानबिनको काम थालेको थियो । २२ भदौसम्म कार्यावधि भएको समितिको काम नसकिएपछि १८ भदौमा प्रतिनिधिसभाले १५ दिन समय थपेको थियो । थप समयको नौ दिनभित्रै समितिले ३१ भदौमा सर्वसम्मत प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो ।
सभापति थापाका अनुसार समितिले विभिन्न क्षेत्रका ४५१ जनासँग छलफल गरेर सुझाव लिएको छ । बचत अपचलन र दुरुपयोगमा आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा कर्मचारीसमेत तीनजना र नियामक निकायका पाँचजना गरी ५५ जनासँग सोधपुछ गरेको छ । समितिले कार्यादेशमा उल्लेखित बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेका ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा सबैभन्दा बढी समस्या देखिएको छ ।
बचतकर्ताको रकम पचाउन नक्कली विवाह, अंशबन्डा र पुनः विवाह, नक्कली खाता खोल्ने, नक्कली लेखापरीक्षण, साधारणसभा र प्रतिवेदन तयार पार्नेदेखि नक्कली सेयर सदस्य बनाउने काम गरिएको प्रतिवेदनको निष्कर्ष छ । समस्याग्रस्त २२ सहकारीमध्ये १३ वटाले कानुनविपरीत २१ अर्ब ३७ करोड ८९ लाख ९६ हजार ४२७ रुपैयाँ ऋण प्रवाह गरेका छन् । सार्वजनिक प्रश्न उठेका १८ सहकारीले ३२ अर्ब ४० करोड ६१ लाख १९ हजार ७६७ रुपैयाँ ऋण प्रवाह गरेका छन् । जसमध्ये ६ वटा सहकारीले गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्ति र संस्थालाई ६ अर्ब ८५ करोड २४ लाख १४ हजार ६२२ रुपैयाँ ऋण प्रवाह गरेका छन् । १८ र १३ गरी ३१ सहकारीले ५३ अर्ब ७८ करोड ५१ लाख १६ हजार १९६ रुपैयाँ ऋण प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसबाहेक समस्याग्रस्त आठ सहकारीले दुई अर्ब ७३ करोड तीन लाख ६० हजार ९०९ रुपैयाँ लगानी गरेका छन् । सार्वजनिक प्रश्न उठेका १८ सहकारीबाट १५ करोड ९३ लाख ९८ हजार ३३९ रुपैयाँ लगानी भएको छ । जम्मा दुई अर्ब ८८ करोड ९७ लाख ५९ हजार २४९ रुपैयाँ लगानीका नाममा अपचलन भएको छ ।
त्यस्तै, समस्याग्रस्त नौ सहकारीको ब्याज असामी नौ अर्ब २६ करोड आठ लाख २५ हजार १२५ रहेको छ । सार्वजनिक प्रश्न उठेका चार सहकारीको एक अर्ब २१ करोड ५२ लाख २ हजार ६३ रहेको छ । कुल ब्याज असामी १० अर्ब ४७ करोड ६२ लाख २७ हजार ४३८ रहेको छ । सातवटा सहकारीको ३८ करोड ६७ लाखबराबरको गैरबैंकिङ सम्पत्ति र १० वटा सहकारीको सात अर्ब ९१ करोडको अन्य सम्पत्ति रहेको छ । सार्वजनिक प्रश्न उठेका १८ वटा सहकारी २९ करोड ६९ लाखको गैरबैंकिङ सम्पत्ति र चार अर्ब ५१ करोडको अन्य सम्पत्ति रहेको छ । ४० वटा सहकारीमा ७१ अर्ब ३० करोड निक्षेप तथा बचत र झन्डै चार अर्ब सेयर पुँजी दायित्व रहेको प्रतिवेदनले देखाएको छ ।
यसैगरी ठूला ११ सहकारीले कानुनविपरीत कम्पनी र सञ्चालकमा ३२ अर्ब ९१ करोड ७० लाख ७० हजार १६९ रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कृषि विकास बहुउद्देश्यीय सहकारीले गैरकानुनी रूपमा ६६ करोड २० लाख कर्जा प्रवाह गर्दा कम्पनीलाई २३ प्रतिशत र सञ्चालकलाई १४।१६ प्रतिशत लगानी गरेको देखिन्छ । त्यस्तै, शिव शिखरले सात अर्ब ४८ करोड ५६ लाख गैरकानुनी रूपमा ऋण लगानी गरेकामा कम्पनीलाई ६३।३९ प्रतिशत र सञ्चालकलाई १०।३० प्रतिशत ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।
कान्तिपुर सेभिङले तीन अर्ब १० करोड आठ लाख २५ हजार ९०४, लालीगुराँस सहकारीले चार अर्ब ४७ करोड १७ लाख ३२ हजार ५३४, गोर्खा सेभिङले एक अर्ब ५२ करोड ४० लाख ४८ हजार ७०९, सूर्यदर्शन बचतले एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९०८, सुप्रिम बचतले ९९ करोड ४४ लाख ८४ हजार १३३, सहारा बचतले ५२ करोड ४० लाख ७८ हजार १३०, सानोपाइला बचतले एक अर्ब ३५ करोड ४१ लाख ६५ हजार ९११, स्वर्णलक्ष्मी बहुउद्देश्यीयले दुई अर्ब ५२ करोड ३८ लाख ८६ हजार ४८१ र सुुमेरु बचतले आठ अर्ब ९६ करोड सात लाख १४ हजार सात सय ऋण गैरकानुनी रूपमा लगानी गरेका हुन् । जब कि सहकारी ऐनअनुसार सेयर सदस्यबाहेकलाई ऋण लगानी गर्न पाइँदैन ।
सहारा, गोर्खा, तुलसी, कृषि विकास, मित्रमिलन, नेपाल सहकारी, कान्तिपुर सेभिङ, लुःनिभा, इमेज र लालीगुराँस सहकारीले अत्यधिक ऋण लगानी गरेका छन् । ‘सम्पत्ति र ऋणको अनुपात धेरै कम भएको हुँदा संस्थाले उपलब्ध सम्पत्तिलाई पूर्ण क्षमतामा प्रयोग नगरेको देखिन्छ, यसले सहकारीको विकासको अवसर गुम्ने सम्भावना निम्त्याउँछ । किनभने संस्थाले आफ्नो पुँजीलाई प्रभावकारी रूपमा लगानी गर्न असफल हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
जिबी राइको कनेक्सनमा दीप पुनको संलग्नता:
जिबी राई र उनकी पहिली श्रीमतीसँगको सम्बन्धविच्छेदमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनको सम्बन्ध जोडिन्छ । ओखलढुंगामा पहिल्यै विवाहित राईले भगवती बम्जनसँग दोस्रो विवाह गरेका थिए । भगवतीलाई वैधानिक बनाउन जिबीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपरेको थियो । यसमा दीपेश पुनले सहयोग गरेका थिए । यसबापत जिबीले दीपेशको टोलीलाई पोखरास्थित फूलबारी रिसोर्टमा पार्टी दिएका थिए ।
‘जिबीको राजनीतिक हिमचिम माओवादीका डेपुटी कमान्डर नन्दबहादुर पुनका कान्छा छोरा दीपेशकुमार पुनसँग भयो । उनकै सहयोगमा जिबी राईले वातावरण बनाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा जिते । र, हेलिकोप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुंगामा दीपेश–जिबी सँगै पुगेका थिए । त्यतिवेला ३० लाख रुपैयाँ दिएर जेठी श्रीमतीलाई सम्बन्धविच्छेद गरेको भन्ने हल्ला भए पनि १५ लाख पनि पूरा नदिएको जिबी राईको पहिलो श्रीमतीले बताउँदै आएकी छिन् । उक्त मुद्दा जिताएवापत ‘बक्सिस’का रूपमा जिबीले दीपेशहरूको टोलीलाई पोखरास्थित फूलबारी रिसोर्टमा पार्टी दिएका थिए । १० लाख रुपैयाँ खर्चको सीमा दिइएको उक्त ‘पार्टी’मा चार लाख ९० हजार रुपैयाँ खर्च भएको थियो,’ प्रतिवेदनमा भनिएको छ । समितिले पुनसँग समेत बयान लिएको थियो ।
‘गोरखा मिडियाकै सञ्चालकले सोछपुछका क्रममा आफूहरूलाई समेत रकम सहकारीबाट प्रवाह भएको थाहा नभएको बताएका थिए । कम्पनीको सेयर स्वामित्वसहितका सञ्चालकले कम्पनीमा आएको रकमका सम्बन्धमा के दायित्व रहन्छ भन्ने सम्बन्धमा प्रचलित कानुनी व्यवस्थाकै आधारमा व्याख्या होला,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार सोधपुछका क्रममा सञ्चालकमध्ये ३५ प्रतिशत स्वामित्व रहेका छविलाल जोशीले आफू गोरखा मिडियाको दैनिक कार्य सञ्चालनमा नरहेकाले आर्थिक मामलामा जानकारी नरहेको बताएका थिए ।
सहकारी ठगीमा ब्राण्ड बने,रवि लामिछाने:
सहकारी ठगी सम्बन्धि प्रमाणहरु छ्याल्लब्याल्ल भैसक्दा पनि रवि लामिछानेले आफ्नो बचाउ गर्दै आएका छन्। संसदीय समितिले छानबीनका क्रममा रवि लामिछानेले सहकारीबाट सिधै रकम नलिएपनि ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशकको रुपमा ६५ करोड हिनामिना भएको बताएको छ। उक्त टेलिभिजनमा १५ प्रतिशत सेयर स्वामित्व रहेको रवि लामिछानेले कम्पनीमा आएको सम्पूर्ण रकमको जिम्मेवारी कार्यकारी अध्यक्ष जीवी राईले लिएको उनले सोधपुछमा समितिलाई बताएका थिए । समितिले सहकारी र कम्पनीका लेखापरीक्षकसँग गरेको थप छलफलले पनि तत्कालीन अवस्थामा गोर्खा मिडियामा प्रवाह भएको रकम उक्त कम्पनीको बैंक स्टेटमेन्टमार्फत प्रत्यक्ष सहकारीबाट आएको नदेखिने र अध्यक्ष राईले सबै रकम आफ्नो जिम्मेवारीमा रहेको लिखित प्रतिबद्धता व्यक्त गरिसकेपछि सोहीअनुसार लेखापरीक्षण प्रतिवेदन तयार पारिएको जानकारी गराएका थिए ।
गोरखा मिडियाकै तत्कालीन सञ्चालकद्वय छविलाल जोशी र लामिछानेले कम्पनीको सेयर किनबेचबापतको पूरा रकमसमेत बैंकमा दाखिला गरेको नदेखिएको अध्ययनले देखाएको छ । समितिसमक्षको सोधपुछका क्रममा लामिछानेले आफूले स्वेट इक्विटीका रूपमा १५ प्रतिशत सेयर लिएको र सार्वजनिक गरिसकेको बताएका थिए । कम्पनीको स्वामित्व हस्तान्तरणको व्यवस्थापन गर्ने जिम्मा पनि कार्यकारी अध्यक्षलाई नै दिएकोसमेत बताएका थिए । ‘रकम जम्मा गरेको भौचर पेस गरी बैंकिङ कारोबार गरेको देखाई पछि रकम नलिई–लनदिई सेयर किनबेच भएको भन्ने देखिन्छ।यसबाट सहकारी मात्र होइन कम्पनीकै कागजात कसरी तयार गरिन्थे र गरिन्छन् भन्ने एउटा चित्र छर्लंग भएको समितिको तर्क छ।
६ वटा सहकारीको रकम कुम्ल्याएर फरार जिबी राई विगतमा नेटवर्किङ व्यवसायमा थिए । अदालतको आदेशमा नेटवर्किङ व्यवसाय बन्द भएपछि उनी सहकारीमा लागेका थिए । ०५६ देखि नै नेटवर्किङ व्यवसायमा रहेका जिबी राई नेर हर्ब्स, नेचर नेस्टलगायत ६ वटा नेटवर्किङ कम्पनीका सञ्चालक बने । २०५६ देखि २०५८ सम्म सञ्चालन भएको गोल्डक्वेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत जिबी सक्रिय थिए । हङकङबाट सञ्चालित सो कम्पनीले हजारौँ नेपालीलाई ठगेको थियो । २०६१ मा जिबीका दाइ अनन्तबाबु राईले हर्बो नामक नेटवर्किङ कम्पनी खोले, जसमा जिबी र उनका अर्का दाइ देवेन्द्रबाबु पनि आबद्ध भए । हर्बोमा जिबी लिडर मात्र थिए । पछि ससुरालीको सम्बन्ध प्रयोग गरी सहकारीमा छिरेका जिबीले देशभरि सहकारी प्राइभेट कम्पनीको शैलीमा चलाएर रकम हिनामिना गरेका हुन् । ‘यसरी नेटवर्क व्यापारबाट शिक्षित र दीक्षित बनेर जिबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ र पछि त्यही सहकारी कब्जा गरेर देशैभरि नेटवर्क कम्पनीकै जस्तो गरी सहकारीको नेटवर्क बनाएको पाइएको छ।
‘यसैगरी, सहकारी बचतकर्ताको पैसा झ्वाम पारेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हुलाकमार्फत समितिलाई पत्र पठाएर रकम फिर्ताका लागि वातावरण बनाइदिन आग्रह गरेका छन् ।इमेज सहकारी कास्कीका संस्थापक अध्यक्षका रूपमा पठाएको पत्रमा सहकारीले एक अर्ब ८० करोड फिर्ता गर्न बाँकी रहेको उल्लेख गरेका छन् । आफूसँग तीन अर्बभन्दा बढीको मूल्यांकन हुन आउने चलअचल सम्पत्ति रहेको भन्दै बिक्री गरेर फिर्ता हुने वातावरण तयार गरिदिन आग्रह गरेका छन् ।‘पत्रमा आफू र श्रीमतीको नाममा रहेको घररजग्गाको कित्ता, लालपुर्जा, संघर्ष समितिसँग हालसम्म गरिएका लिखित सम्झौतापत्र, बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम, बैंकबाट लिएको ऋण, बैंकबाट रोक्का भएका कित्तासमेत समावेश गरिएको छ ।
धनराजको अकुत धन्दा:
यसै गरी नेपाली कांग्रेसमा उपसभापति तथा पूर्व कानून मन्त्री धनराज गुरुङले पनि करिब १५ करोड सहकारीको पैसा हिनामिना गरेको आरोप लागेको छ। उनले ललितपुरस्थित मितेरी सहकारीको रकम ठगीबाट जोगिन कागजी सम्बन्धविच्छेद गरेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि थप अनुसन्धान गरी कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ । सहकारीकी महाप्रबन्धकसमेत रहेकी ज्योति गुरुङसहितको संलग्नतामा १४ करोड ८१ लाख रकम अपचलन गरेको सहकारीको दाबी छ । धनराज गुरुङले विक्रम सम्वत २०७६ पाmगुन २९ गते श्रीमती ज्योति गुरुङसंग सँग सम्बन्ध विच्छेद भएको दाबी गरेका थिए । तर, त्यसको एक वर्षपछि थप ऋण लिँदा हकदाबीवालाको नाममा ज्योतिलाई नै श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएको पाइएको छ।
संसदीय समितिले लिएको बयानका क्रममा मितेरी सहकारी अध्यक्ष कुम्मराज गुरुङले रकम अपचलनबारे प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा रकम हिनामिना गरिएको सम्बन्धमा कारबाहीका लागि निवेदन दिएको बताएका छन् । समितिले थप छानबिन गरी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । ‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा उत्तिकै छ। । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि साथमै बस्ने गरेको चर्चा छ। सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आएकोमा समितिले यस सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन निर्देशन गरेको छ ।
एमाले नेता ऋषिराज पोखरेल पनि डामिए सहकारी रकम हिनामिनामा :
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा मुछिएका छन् । श्रीमतीसँग मिलेर मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा हिनामिना गरेको आरोप उनीमाथि लागेको हो ।
विद्युत वक्यौताको विषयमा निकै कुर्लिएका उनी सहकारीबाट १२ करोड रूपैयाँ हिनामिनामा तानिएका हुन। विद्युत प्राधिकरणमा वक्यौता रकमको निहुँमा कुलमान हटाउने अभियान लागेका उनी विरूद्ध छानबिनका लागि विभिन्न निकायमा उजुरी परेको छ ।यश सहकारीमा उनकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य थिइन् । अञ्जला सञ्चालक भएकै बेला सहकारीमा रकम हिनामिना भएको हो ।
बिना धितो केही सञ्चालकले सहकारीको रकम हिनामिना गरेका हुन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार यही मुद्दामा एक पटक पक्राउसमेत परिसकेका छन् । तर, सर्वसाधरणले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । अञ्जला आफैं पनि सहकारीको कालोसूचीमा छिन् ।
सहकारीको कर्जा चुक्ता नगर्दा उनी कालोसूचीमा परेकी हुन् । यद्यपि, सो सहकारीमा अध्यक्षले अनियमितता गरेको र आफू देखावटी सञ्चालक मात्र भएको उनको दाबी छ । अञ्जला शिक्षक समेत हुन् । सहकारीका अध्यक्ष रौनियार सांसद पोखरेलका साथी हुन् । सोही आधारमा अञ्जला सञ्चालक बनेकी थिइन् ।सांसद पोखरेलले भने सो सहकारीमा भएको हिनामिनाबाट आफू पनि पीडित बनेको बताउँदै आएका छन्।तर श्रीमती सञ्चालक भएकाले संस्थाको हिनामिनामा उनी तानिने प्रष्ट देखिन्छ ।चतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि यो सहकारी हाल बन्द छ, भने बचतकर्ताले आन्दोलनको तयारी गरेका छन।उनीमाथि नैतिक समेत उठेको छ।
सहकारी रकम ठग्न नक्कली विहे, सम्बन्ध विच्टछेद
यस्तै,करिब साढे ११ करोड ठगी गरेर भरत–महर्जन राजमायाको कागजी सम्बन्ध विच्छेद भएको थियो । तर, उनीहरु बेलायत पुगेपछि पुनः विवाह गरेको पाइएको समितिले बताएको छ। सुमेरू सहकारीका सञ्चालक भरत महर्जनले ठगी प्रयोजनकै लागि पत्नी राजमाया महर्जनसँग सम्बन्ध विच्छेद गरे । ठगीको सम्पत्ति जोगिने भएपछि विदेश उड्नका लागि फेरि राजमायासँगै नक्कली विवाह पनि गरे । उनले सुमेरुसहकारीको १० अर्ब ३४ करोड बढी हिनामिना गरेको भेटिएको छ। बचतकर्तालाई सडकमा पुर्याएर उनीहरू अहिले बेलायतमा विलासी जीवन बाँचिरहेका छन् ।