२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

हेलो ओली ज्यू ! राजनीतिक सहिष्णुता ,सद्भाव र समीक्षाको संस्कार पूर्व राजासंग सिक्ने कि ?


२२ आश्विन २०८२, बुधबार  


एमाले अध्यक्ष केपी ओली र पूर्व राजा ज्ञानेन्द्र शाह चर्चित र विवादास्पद तानाशाह हुन् । राजनीतिक इतिहासमा चर्चित यी दुबै तानाशाहहरूको विरासत र विगत फरक भएपनि महत्वकांक्षा ,अहंकार ,अभिमान र असहिष्णुतामा धेरै समानता देखिन्छ । यद्यपि इतिहासलाई फर्केर हेर्दा ओली भन्दा शाहमा धेरै राजनीतिक सुझबुझ ,सहिष्णुता,समीक्षा र सद्भाव अनि त्याग भएको पाईन्छ ।

शाहले जनताको परिवर्तनको भावनालाई सैन्य बलद्वारा दबाउने र आफ्नो पुर्ख्यौली सत्ता टिकाउने कोशीस त गरे। तर,उनको शाहीकालमा २३ जनाको नरसंहार भएको थियो ।२०६/र६३ को जनआन्दोलनपछि ज्ञानेन्द्र शाहले सत्ता मात्रै छोडेनन्। शाहवंशीय शासन सत्ता सबै च्यूत भयो । उनले नारायणहिटी दरबार, श्रीपेच र राजदण्ड र राज्य सत्ता जनतालाई बुझाएर मुस्कुराउँदै नारायणहिटीबाट विदाइ भएका थिए।२०६३ बैशाख ११ गते मध्यरातमा शाही सम्बोधनमार्फत जनताको नासो जनतालाई भनेर सत्ताबाट झरेका थिए।


२०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेपछि उनी २०६५ जेठ २९ गते नारायणहिटीबाट सदाको लागि पत्रकार सम्मेलन मार्फत मुस्कुराउदै निस्केका थिए। जनताको निर्णयलाई सहजै स्वीकार गरेर यसरी सत्ता हस्तान्तरण गरेको इतिहास संसारमा विरलै पाईन्छ ।जुन कुरा पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवहारद्वारा देखाएका थिए।रक्तपातरहित उनको सहयोगमा गणतन्त्र स्थापना भएको थियोे ।

माघ १९ को राजनीति महत्त्वकांक्षाले निम्त्याएको राजनि कु नै शाह वंशको अन्त्यको मुल कारण बनेको थियोे । यसो हुनुमा गलत सल्लाहकारको फसादमा पर्दा भएको उनले समीक्षा गरेको पाईन्छ ।यही सत्ता लोभले वंशको अन्त्य मात्रै भएन ।सयौ वर्षको शाहवंशीय आस्था अनि विश्वास गुमेको थियो ।

जुन कुराको राम्रोसंग चेत सत्ताबाट फालिएपछि उनले महशुस गरे। २०६१ माघ १९ गते राजनीतिक कु गरेकोमा उनी प्रायश्चित गरेको अनुभव उनका पछिल्ला कदम र क्रियाकलापबाट थाहा हुन्छ।उतिबेला सत्ताको नशाले मैमत्त भएर उक्साउने कमल थापा जस्ता पात्रहरूकै कारण राजसंस्थाप्रति चर्को अविश्वास बढेको थाहा पाएपछि उनी राज सिँहासनबाट मात्रै बाहिरीएनन्।जनताको सार्वभौम अधिकार र स्वतन्त्रतालाई स्वीकार गर्न तयार भएका हुन्।

उनका भित्री स्वार्थ र षड्यन्त्र जेसुकै होउन् । विगतका पृष्ठभूमि राम्रा होउन् या नराम्रा होउन । तर,उनले आफूलाई सच्याएको देखिन्छ । समर्थक र अन्धभक्तकै हालहुलमा उनी फर्कन चाहेनन् । गणतन्त्रलाई स्वीकार गरेका उनी कानुन र संविधानलाई मान्दै पूर्व राजा हुन तयार भए र अहिले पनि भइरहेका छन् ।उनको नम्रता र शालीनता अनुकुरणीय छ। शाहवंशीय शक्ति र तागत अझै छ। तर, एकपटकको शासकीय भूलपछि उनीमा ठूलो परिवर्तन आएको देखिन्छ ।

सत्ता अहंकार र शक्तिको अभिभानको आयू छोटो र अस्थायी हुन्छ, बरू यसले भस्म बनाउँछ भन्ने कुरा राम्रोसँग उनले बुझेको अनुभव हुन्छ । तर,गणतन्त्रको मसिहा ठान्ने ओलीले सत्ताबाट धपाइएको १५ दिनपछि विरोधी दुत्कार्न थालेका छन् । मौका पाए उनी सत्तामा फर्कन खोजिरहेका छन् ।

जेनजी विद्रोहमा १९ जना युवाको हत्या गरेपछि सेनाको हेलिकप्टरमार्फत सेनाको व्यारेकमा लुकेका ओली यतिबेला गुण्डुबाट फेरि हुँकार गर्दैछन् । उनीमा कुनै पश्चताप, ग्लानी र गल्तीको महसुुस छैन। न कुनै जिम्मेवारी लिन तयार छन् ,उनी। उनको अहंकार , अभिमान र प्रतिशोध उस्तै छ। आफूलाई गणतन्त्रको संरक्षक ठान्ने ओलीमा सुध्रिने कुनै लक्षण देखिन्न ।बरू, मै ठिक भन्ने चर्को भ्रम छ उनीमा।

जनताको अघि उभिनु उनको लागि जतिसुकै खतरा भएपनि उनी वफादार कार्यकर्ताको बीचमा उभिएर हुँकार गरिरहेका छन् । उनको असहिष्णुता र अराजकता उस्तै छ।बरू कार्यकर्ता उक्साएर भिडन्त निम्त्याउन खोज्दैछन्।

तर शाहवंशीय इतिहास बोकेका ज्ञानेन्द्र शाहसंग त्यस्तो अहंकार ,घमण्ड र असहिष्णुता देखिएन। विगतको कमजोरीलाई सच्याउदै नम्र र विनयशील शैलीमा प्रस्तुत हुन्छन् । ओली देउवा र प्रचण्डकै कारण व्यवस्था अप्ठ्यारोमा पर्दै आयो ।जेनजी विद्रोह त्यसैको उपज हो। पछिल्लो समय ओली सत्ताबाट लखेटिएपछि ज्ञानेन्द्र शाहलाई नारायणहिटी फर्कने अवसर पनि मिलेको थियोे ।तर पनि उनी तयार भएनन् ।

उनीमा देखिएको धैर्यता साच्चिकै अनुकरणीय थियोे र छ। जनताले जुन दिन राजसंस्था फर्किनु पर्छ भने प्रस्ताव अघि लिएर आउँछन ,त्यस दिन सबैको स्वीकार्यमा नारायणहिटी फर्किने दृढता उनीमा देखिन्छ ।उनको यो धैर्यता र शालिनताका अघि ओलीका छुद्रता र उग्रताको तुलना गर्न मिल्दैन ।

हुन त यी दुबै असफल शासक हुन्। ओली विपन्न परिवारबाट राजनीतिमा आएका हुन् भने शाह दरबारमै जन्मिएर एक असफल शासक भएका हुन्। ओली र शाहको विगत र वर्तमान फरक छ।शासकीय महत्त्वकाँक्षाले वंशीय व्यवस्था गएपछि शाहले समीक्षा गरेर आफूलाई सच्याए। तर ओलीमा गल्ती महसुुस गरेर सुध्रिने कुनै लक्षण छैन।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ०६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित