४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

मेरो जीत, ‘मौलिक कला र सीपका धनी व्यवसायीहरुको न्यायका लागि’ : अध्यक्ष विश्वकर्मा


१७ मंसिर २०८१, सोमबार  


भर्खरै चितवनमा सम्पन्न सुनचाँदी व्यवसायीहरुको अधिवेशनबाट युवा व्यवसायी हेमबहादुर विश्वकर्मा नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। नवनिर्वाचित अध्यक्षसंग व्यवसायीहरुको मुद्दामा केन्द्रीत रहेर प्रधान -सम्पादक डीआर न्यौपानेले सम्वाद गर्नु भएको छ। नवनिर्वाचित अध्यक्ष विश्वकर्मासंग गरिएको संक्षिप्त कुराकानी :


सर्वप्रथम, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएकोमा यहाँलाई बधाइ छ ।

– धन्यवाद यहाँ र यहाँको अनलाईन परिवारलाई पनि ।

कति वर्षदेखि यस व्यवसायमा क्रियाशील हुनुहुन्छ ?
– म विगत करिब ३६ वर्षदेखि यस व्यवसायमा निरन्तर क्रियाशील छु, दश वर्ष रोल्पामा बसेर व्यवसाय गरे, अरु २६ वर्ष यही चितवनमै बसेर सुनचाँदी जस्ता बहुमूल्य गहनामा हाम्रो पुर्खाले दिएको सीप र मौलिक कलाको संरक्षण र प्रवद्र्धन गर्दै व्यवसायमा कटिवद्ध छु ।

यहाँ सर्वसम्मतले निर्वाचित हुनु भयो, अब भावि दिनमा संघलाई कसरी अगाडि लैजादै हुनुहुन्छ ?
– मेरो मुल उदेश्य साना – ठूला व्यवसायीहरुको व्यवसायीक हकहित र बजारको सुनिश्चितता गर्नु हो । हामीसंग महासंघ पनि छ। महासंघसंग मिलेर हामीले व्यवसायीक हकहितका लागि काम गर्ने कार्ययोजना बनाएर काम गर्ने छौ। यहाँ(चितवन) पाँच सयको हाराहारीमा व्यवसायीहरु हुनुहुन्छ। २० लाखदेखि एक अर्बसम्मको लगानी गर्ने व्यवसायीहरु हुनुहुन्छ। उहाँहरुको व्यवसायीक सुरक्षासंगै राज्यले सुनचाँदी व्यवसायीमाथि अहिलेसम्म गर्दै आएको दोश्रो दर्जाको नागरिकको व्यवहारको अन्त्य गर्ने लक्ष्य हो ।

व्यवसायीमाथि राज्यले गर्ने दोश्रो दर्जाको व्यवहार भन्नुको अर्थ ?
–सुन चाँदी व्यवसायीहरुले वार्षिक करिब १२ अर्बको हाराहारीमा राज्यलाई कर तिर्छन्। सम्भवतः यति धेरै कर तिर्ने कुनै व्यवसायीक संगठन छ भने त्यो हो, सुनचाँदी व्यवसायीहरुको साझा संगठन । आज यीनै व्यवसायीहरु नेपालको मौलिक कला र सीपको संरक्षण र प्रवर्धन गर्दै राज्यलाई धेरै कर तिरेपनि उनीहरुमाथिको राज्यको व्यवहार ‘डकैट’लाई गरे जस्तो छ। व्यवसायीहरुको इमानमाथि कसैले बेइमानी ग¥यो भने एक ग्राम सुनको कारण अनाहकमै अनुसन्धानका नाममा २५ दिन हिरासतमै बस्नुपर्छ । सजिलो भाषामा भन्नुपर्दा यो राज्यको नीतिका कारण,चोरले उन्मुक्ति पाउँछ,तर,व्यवसायीले अनाहकमै दुःख पाउँछन्। यस्तो नियति आज हजारौ व्यवसायीहरुले भोग्न परेको छ। पाँच र दश प्रतिशत नाफा राखेर व्यवसाय गर्दा पनि कानुनको नाममा दुःख दिइने गरेको छ।

त्यसो भए, राज्यको अहिलेको नीति र कानुन व्यवसायीमैत्री छैनन् ?
-हामी जस्ता व्यवसायीले श्रम, सीप, कला र लगानीको माध्यमबाट राज्यलाई कर तिरेका छौ, मौलिक कलाको प्रवर्धन गरेका छौ, रोजगारी तथा स्वरोजगारी बनेका छौ । यसलाई राज्यले सहज र सरल बनाउनुपर्ने हो । संविधान बन्यो, संविधानले बोले अनुसारका ऐन तथा कानुन बनेनन्। सुन चाँदीको कारोबारलाई राज्यको कानूनले फौजदारी महलमा राखेको छ। यसलाई देवानी आचारसंहिता अन्तरगत राख्नुपर्ने हो । विदेशबाट सुन आयात गर्दा प्रतिबन्ध लाग्छ। दुई लाखको मोबाइल ल्याउन सहजै छ। तर, यही मूल्यमा सुन भित्र्याउँदा अनेक खाले कर लगाँउछ। एक वर्षपछि त्यही आइफोनको मूल्य बजारमा बीस हजारमा पनि बिक्री हुदैन ।तर, सुनमा त्यस्तो ह्रास आउँदैन । यति सत्य कुरा हुँदाहुँदै पनि आज व्यवसायीहरुमाथि अनेकन फौजदारी मुद्दा लगाएर चोर भगाउने र व्यवसायीलाई झ्यालखानामा सडाउने राज्यले गरिरहेको छ।

यहाँले भने जस्तै नेपाली मौलिक कला र सीपमा निर्मित गरगहना विदेशमा निर्यात गर्न सकिन्छ ?
-हाम्रा पुर्खाले दिएर गएको सीपमा आधारित गहनाले अन्तर्राष्ट्रिय बजार पाउन सक्छ। किनकी नेपालीहरु विश्वभर छरिएका छन्। अहिले नेपाली कलालाई रुचाउनेहरु पनि छन्। यसको सहजै व्यापार गर्ने वातावरण राज्यले बनाउने हो,भने विदेशी मुद्रा आर्जनको माध्यम सुनचाँदी व्यवसाय बन्न सक्छ। तर, सुनचाँदीको व्यापार भनेको लागू औषधको व्यापार गरे जस्तो राज्यको व्यवहार हुँदै आएको छ। यसले व्यवसायीहरु पलायन हुने र हाम्रो पुर्ख्योली सीप र कला पनि मासिदै जाने देखिन्छ। बेलैमा राज्यले नीति र कानुनमा पुनः विचार नगरे नेपाली कला र सीप भएका सुनचाँदीका गहनाको विषयमा जान्न बुझ्न भावि पुस्तालाई संग्राहलयमा जानुपर्ने दिन पनि आउन सक्छ।

व्यवसायीहरुमाथि राज्यको कानूनले अपराधी झै व्यवहार गरेको हो त ?

पक्कै पनि हाम्रो नियति र विडम्बना यति कहालीलाग्दो छकी, जहाँ पचास ग्राम लागू औषध समाएपछि तीन दिन थुन्छ। एक ग्राम पनि चोरीको प¥यो भने अनुसन्धानको नाममा २५ दिन थुनाउँछ । चार लाल सुनको सानो तिलरी चोरीको परेछ भनेपनि थुनिनुपर्छ । सुनका गहना बनाउँदा -बनाउैदै हत्कडी लाग्न सक्छ। अन्य मुलुकहरुमा कालिगढहरुको कदर छ। यहाँ सीप र कलाको कदर भन्ने कहिल्यै भएन । यो हाम्रो राष्ट्रिय पहिचान पनि हो । विडम्बना,सुन तस्करहरुले किलाका – किला,कुइन्टलका -कुइन्टल सुन भित्र्याउने गरेका छन्। तर, उनीहरुमाथि कुनै कानून लागेका देखिन्न। तस्करीको सुन कस -कसले किन्छ भनेर सोधी खोजी गरेर हिड्छन्, राज्यका ती मान्छेहरु । अवैध आयात गर्ने पनि उनै अनि निगरानीको नाममा बजारमा खोजतलास गरेर इमान्दार व्यवसायीलाई दुःख दिने पनि उनै छन्। गलत गर, जसलाई पनि कानुनी कारबाही हुनुपर्नेमा हाम्रो दुई मत छैन। बरु त्यस्ता गलत काम गर्नेमाथि कारबाही हुनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौ । यस विषयमा हामीले राज्यलाई सघाउँदै आएका छौ। अझै पनि सघाउँछौ ।तर, राज्यको विभेदकारी कानुनले तस्करलाई संरक्षण गरेको छ, व्यवसायीलाई अनाहकमै जेल हालेको छ। यस्तो भयावहको स्थितिबाट व्यवसायीहरुको पेशागत हक हित, उनीहरुको व्यवसायीक आत्मसम्मान र स्वाभिमानसंगै विभेदकारी कानुनको विकल्पमा व्यवसायीमैत्री कानुनको प्रबन्ध गर्न हामी निरन्तर संघर्षरत छौ । मेरो जीत पनि यसैका लागि हो । मेरो व्यक्तिगत व्यवसाय भन्दा पनि हाम्रो पेशागत वर्गको न्याय र मुक्तिका खातिर म नेतृत्वमा आएको छु ।

मैले माथि पनि भनिसके यो देशको मौलिक कला,सीप र अर्थतन्त्र जसले थेगेको छ। उसैमाथि राज्यको विभेदकारी कानुनले सताइरहेको छ। ढुक्कसंग व्यवसाय गरेर खाने वातावरण छैन । कसैले गलत मनशायले सुन चाँदीको खरिद -बिक्री ग¥यो भने पनि व्यवसायीको हातमा हत्कडी लाग्न सक्छ। तर, चोरी र ठगी गर्नेहरु सजिलोसंग उम्किन्छन्। व्यवसायीले लगानी गरेर दश प्रतिशत मात्रै ज्याला लिने गरेका छन्। तर, सीप र कलाको लागि उनीहरुले गरेको यो मेहनतमा पनि राज्यले गलत नजर लगाउँछ। अन्य व्यवसायमा होलसेलमा पाँच सयमा खरिद गरेर पन्ध्र सयमा माल बिक्री गर्दा पनि कुनै कानून लागेको देखिन्न।

के सुनचाँदी व्यवसाय निकै अप्ठ्यारोमा छ ?

-हो, अवस्था बाहिरबाट देखे जस्तो छैन। तर, जिविकोपार्जनका लागि व्यवसाय नगरी पनि भएको छैन ।हामीले बैकबाट ऋण लिएर लगानी गरेका हुन्छौ, बैक किस्ता व्याज,शटर भाडा, परिवार लालनपानको जिम्मेवारी सबै यसैबाट जोहो गर्नुपर्ने हुन्छ । राज्यले प्रचलित कानुनलाई मानेर व्यवसाय गर्दा पनि सजिलो छैन । यस्तो अवस्था भैदिएपछि यहाँ व्यवसायीहरु कसरी बाँच्न सक्छन्? राज्यले अब सुनचाँदी व्यवसायलाई मर्यादित, व्यवस्थित र न्यायोचित बनाउने गरी कानुन, सोही अनुसारका संरचना निर्माण गर्नतिर लाग्नुपर्दछ। सुनचाँदी व्यवसायीहरु पनि यही देशका नागरिक हुन्। उनीहरुले आफ्नो मेहनत र पसिनाबाट राज्यलाई करोडौ कर तिरेका छन्। यसर्थ राज्यले सुनचाँदी व्यवसायी मैत्री नीति र कानुन बनाउन ढिला गर्नु हुदैन हाम्रो आन्दोलन, संघर्ष र मागहरु यीनै हुन्। यी लक्ष्य र उदेश्य हासिल नभएसम्म हामी निरन्तर संघर्षमा हुन्छौ। भर्खरै सम्पन्न चितवन जिल्ला संघले मेरो नेतृत्वमा नयाँ कार्यसमिति बनाएको छ। यस कार्यसमितिले साझा संकल्पका साथ काम गर्नेछ ।

अन्तिमा, केही भन्न चाहानुहुन्छ ?

-राज्यले सुनचाँदी व्यवसायीहरुले झेलेको यस्ता समस्याको निदान गरोस्, स्वदेशमै बसेर राज्यलाई कर तिरेर ढुक्कसंग व्यवसाय गरेर खाने नीति र कानुन निर्माण गरोस भन्न चाहान्छु र अन्तमा मेरो महत्वपूर्ण विचार राख्ने अवसर दिनु भएकोमा तपाई र यस सरजु अनलाईन डटकम परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित