जब पूर्व पश्चिम राजमार्गको लमही खण्डबाट यसो उकालो चढिन्छ, तब दाड उपत्यका प्रवेश हुन्छ। चौपट्टाको उकालो काटेपछि सरजु(बबई)को दर्शन गर्दै उपत्यकाभित्र पाइलो पर्दछ । सरजुको कलकल बग्ने पवित्र जललाई स्पर्श गर्दै धानले झुलेका मैदानी भागहरु देखिन्छन्।

भित्री दुन भएपनि मनोरम हावापानी र हरिया मैदानी भागले जो कोहीलाई रोमान्चित बनाउँछन् । भौतिक विकासमा राज्यले सधै सौतेनी व्यवहार गरेपनि प्रकृतिको अदुभूत कलाले सिंगारिएको दाङ उपत्यका अवलोकन भ्रमण गर्ने सबैलाई लालायित बनाउँछ, मोहित बनाउँछ ।

प्रकृतिको लालित्य, सौन्दर्यता र कौमार्यतासंगै उषाको सूर्याेदयले साँच्चिकै उन्माद र उत्साहित बनाउँछ हर जोकोहीलाई पनि ।घोरदौरा होस, या सुनकोटबाट उपत्यका अवलोकन गर्दा यस्तो अनुभव हुन्छ,की साँच्चिकै दाङ उपत्यका बनाउने सृष्टिकर्ताले ठूलै मेहनत गरेको हुनुपर्छ ।

उपत्यकाको पूर्वी दक्षिणी भाग भएर बहने नागबेलीरुपी सरजुको मनोरम दृष्य उत्तिकै आकर्षक छ। प्राचीन सभ्यताको विकास र विस्तार भएको सरजु नदीको किनारा क्षेत्र धार्मिक ट्रेलको गज्जबको सम्भावना देखिन्छ।

अयोध्यादेखि रामपुरको सिमलटारासम्म यस्तो ट्रेलको विकास गर्न सके विदेशी पाहुना थाम्न हामीलाई मुश्किल हुन सक्छ। दाङ विकासको एक विकल्प सरजु ट्रेल नै हो । यद्यपि नेतृत्व तहमा पुगेकाहरुको घैटोमा घाम भने लागेको देखिन्न । तैपनि अपेक्षा गरौ विकासवादी नेतृत्व दाङले अवस्य एकदिन पाउने छ।डा. हर्क गुरुडले भनेका थिए,दाङको उत्पादकत्व क्षमता यति धेरै छकी, जसले मध्यपश्चिमको जनताको अन्न्नको माग पूरा गर्न सक्दछ।

तर, यतिबेला सुन्दर फाँटहरु धमाधम मासेर कंक्रिटको शहर बनाइदै छ । विकासमा दूरदर्शीता नहुँदा दाङ उपत्यकाको सुन्दरता पनि कुरुप बन्दै गएको छ।करिब ४ लाख मानिसहरुको बासस्थान रहेको उपत्यकाका बस्ती बस्तीमा पुगेपछि थारु संस्कृति र सभ्यताको नयाँ अनुभव गर्न पाइने मात्रै होइन, यस सुन्दर भूमिमा देव देवीहरुका मठ मन्दिर, गुम्बाले शान्ति र आनन्दको अनुभव गराउँछन्। रैथाने लवज र मिठास आतिथ्यताले पाहुनाहरुको मन जित्छन् दंगालीहरु ।

राजनीतिक बलिदान र त्यागमा पश्चिम नेपालको अग्रणी जिल्ला भएपनि उपत्यकाको बीचबाट पूर्व पश्चिम फैलिएको राप्ती लोकमार्गको हालतले भने सबैलाई रुवाँउछ ।

तैपनि उपत्यकाभित्र बनेका रहरलाग्ला सडक र चोकहरुले दाङ उपत्यकालाई निकै सुन्दर बनाएका छन्। उपत्यका विकासको दीगो सोच भएको नेतृत्वको अभावले अपेक्षाकृत विकास हुन भने सकेको छैन ।
चुरेका माथिल्ला खण्डहरुमा बनाइएका कृत्रिम जलाशयहरु निकै मनमोहक छन्।

जसले उपत्यकाको पानीको रिचार्ज मात्रै गर्दैनन्, सिचाइ र पानीको अभावलाई पनि परिपूर्ति गर्ने गरेका छन् । सुरजु नदीको उत्पत्ति भएको रामपुर सिमलटारादेखि पश्चिममा शारदा नदीसम्म फैलिएको उपत्यकाको बीचमा घोराही, नारायणपुर, तुल्सीपुर, हापुरे, पुरन्धारा लगायतका घना बस्तीहरु छन्।

द्रोण अर्थात दाङ उपत्यका,चुरे अर्थात शिवालिक पहाड र महाभारत श्रृंखलाको बीचमा पूर्व पश्चिम फैलिएको विशाल अनि मनोरम उपत्यका हो । समुद्री सतहबाट ६सय ४८ मीटर उचाइदेखि करिब २ हजार मीटर माथि अवस्थित भूगोल विविध र विशिष्ट छ। थारु जातिको बाहुल्यता रहेको यस उपत्यकाको पूर्वबाट उत्पत्ती हुने सरजु नदी चुरेको काखमै नागबेली रुपमा अयोध्या पुग्ने गर्दछिन्।



तस्बिर : माधव केसी