४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

गगन थापाले देउवालाई भने, ‘१५ औ महाधिवेशनमा उपस्थित भएर उद्घाटन गरिदिनूस्’


१ आश्विन २०८३, बिहिबार  


कांग्रेस सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासहित असन्तुष्ट पक्षका नेताहरूलाई विगतका विवाद बिर्सेर १५औँ महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्रको एकता कायम गर्न आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउने प्रयास गर्ने बताए। ‘म १६ गतेसम्म कोसिस गर्छु। हामी सबै मिलेर कोसिस गरौँ,’ थापाले भने, ‘१६ गते अधिवेशनको उद्घाटन दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामीले गर्ने हो। हामी सबै लाग्ने कोसिस गरौँ। अरू नेताले पनि कोसिस गरौँ।’

थापाले पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि टिप्पणी नगर्न पनि नेताहरूलाई आग्रह गरे। ‘आजदेखि सबै कुरा बिर्सेर त्यसलाई मेट्ने र आउँदो दिनमा थप कोसिस गरौँ,’ उनले भने, ‘हाम्रा आफ्ना साथीहरूका बारेमा कसैले हल्का टिप्पणी गर्ने कुरा पनि आजबाट बन्द गरौँ। यो कांग्रेसको क्यारेक्टर होइन।’

उनले आफू सभापति भए पनि पार्टी एकता एकजनाको चाहनाले मात्र सम्भव नहुने बताए। ‘पार्टीभित्र प्रियता र एकता एकजनाले चाहेर हुँदैन। सबैले सब ठाउँमा बसेर काम गर्नुपर्छ,’ थापाले भने।

थापाले पूर्वसभापति देउवालाई महाधिवेशनमा सहभागी भएर उद्घाटन गर्नसमेत आग्रह गरे। ‘अधिवेशनको दिनमा पार्टीका पूर्वसभापतिज्यूले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ उनले भने।

विशेष महाधिवेशनपछि उत्पन्न विवादमा विभिन्न पक्षका नेताहरूले राखेका माग सम्बोधन भइसकेको दाबी गर्दै थापाले अब छुट्टै महाधिवेशनको तयारी गर्नुपर्ने अवस्था नरहेको बताए। १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णयले पार्टीभित्र एकताको आधार तयार भएको उनको भनाइ थियो।

‘कसले कहाँ झुक्यो, कसले कसलाई के मान्यो भन्ने कुरा यसरी हेर्ने होइन,’ उनले भने, ‘हामी सबै एक ठाउँमा आएर उभिएका छौँ।’

थापाले तल्लो तहका नेता–कार्यकर्तालाई पनि महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे। असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन आग्रह गर्दै उनले अब पार्टीको आन्तरिक विवादबाट बाहिर निस्केर देश र नागरिकका मुद्दामा केन्द्रित हुनुपर्ने बताए।

बैठकमा देउवा पक्षका महालक्ष्मी उपाध्याय ९डिना०, इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो । देउवा पक्षबाट ४० जनाभन्दा बढी सहभागी भएको नेता मीन विश्वकर्माले बताए । शनिबारबाट वडा अधिवेशन सुरु हुने भएकाले अधिकांश नेता भने गृहजिल्ला गइसकेका छन्।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्दै छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ४ : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित