‘आइएमई खल्ती लिमिटेड’ को मर्ज भएपछि आज साउन १ गतेदेखि एकीकृत कारोबार शुरु भएको छ ।राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रुपमा एकीकृत कारोबार शुरु भएको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् । एकीकृत कारोबारको शुरुवात कार्यक्रममा ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रविन रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजिका लागि भएको बताए।
उनले आजको यस दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्वपूर्ण कदम भएको दाबी गरे। उनले फिनटेकका दुई ठूला संस्थालाई मर्जमा भएर जानू आफैंमा चुनौतीपूर्ण भएको पनि बताए। चुनौतिसंगै यसले अवसरको सिर्जना गर्ने पनि उनको भनाइ छ।
दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ, भने बिहीबारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ ।
यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।







