सडकमा निस्कियो,सवारीको साधनको अचाक्लि घुइँचो । सडक होकी मेला जात्रा हो , एकछिन त अलमलै हुन्छ। तैपनि गन्तव्यमा पुग्नु नै छ। जेसुकै होस् भन्दै कदम अघि बढ्छ, बढाउनु पर्छ नै । तर, धुवाँले यसरी निस्सानिुपर्छ मानौ म नर्कको बाटो जाँदैछु, यस्तो अनुभुति नहुने सायदै होलान्। अलिक पर पुगियो, चोक भेटिन्छ। यही धुवाँकै कुहिरो भित्र ट्राफिक भाइ ठिंग उभिएका हुन्छन्, सिठी बजाउँदे अनि हात हलाउँदै हजारौ धुवाँ छोड्ने होउन् या नछोड्ने सबै सबै सवारीलाई संकेत गदै आउजाउ गराउनुपर्छ, किनकी उनको जिन्दगीको जागिर यही सीठीसंगै गुडिरहेको हुन्छ।
सडक धुवाँको धुइरोले छपक्कै हुन्छ। एकछिन सडकमा ओर्लिएको यात्रु या पैदलयात्रीलाई सास फेर्नै गाह्रो हुन्छ। नाक –मुख थुनिन्छ, धुवाँले हर कोहीको । यस्तो नियती नौलो त होइन । बालेनले सडकको फोहोर त फालिदए। सडकमा थोत्रा गाडीले फ्याँक्ने धुवाँको मुस्लो कस्ले फाल्ने अनि कहिले फाल्ने ? यात्रुलाई एकछिन सडकमा निस्किदा नर्कै गए जस्तो सास्ती हुन्छ, भने सडकको चौकमा घण्टौ ठडिने ट्राफिक भाइको हालत कस्तो हुन्छ, होला ? एकछिन आफूलाई ट्राफिक सम्झेर कल्पना गरौ त । धुवाचोकमै पहरा दिने ट्राफिक प्रहरीलाई झन् बाधा कति हुँदो हो ? यो कुइरीमण्डली धुवाँको मुस्लोमा । यद्यपि उनको त्यो बाधा र दर्द बुझोस् कसले यहाँ ?
औसी पूर्णिका तिथिमा मात्रै चल्ने सडक बत्ती हेर्दै सवारी अघि बढ्छन्। ट्राफिकले हात हल्लाउँछन्, सवारी गुड्छन् अनि यात्रु पनि बाटो काटछन्। यो अविछिन्न शहरको यो अन्त्यहीन नियती र दर्द हो । उपत्यकाका यस्ता सयौ गल्लीहरु छन्, चोकहरु छन्। आम सर्वसाधारण सबैले यस्तै दर्द झेल्छन् । जुन दर्दको अन्त्य कहिले हुन्छ, थाहा छैन कसैलाई पनि । वातावरणका कुरा गरिन्छ। स्वच्छताका बहस छेडिन्छ, अधिकारका वकालत गरिन्छ, हकको पैरवी गरिन्छ। तर, यो उपत्यकाका हर चोक र गल्लीमा जनताले भोग्ने यो सास्तीको चिहान कहिले खनिन्छ ?
औषधि विज्ञानले भने अनुसार थोत्रा गाडीले छोड्ने धुँवा मानव स्वास्थ्यका लागि निकै घातक छ। यस्तो धुँवाकै कारण जटिल खालको बिरामी लाग्छ र लागिरहेके पनि छ। यसमा पनि महिला स्वास्थ्यमा झन गम्भीर असर गर्ने गरेको छ। यस्तो धुवाँदारबाट काठमाडौ हैरानीमा छ। थोत्रा गाडीकै कारण मानव स्वास्थ्य बर्बाद छ। अपितु यसप्रति कोही कसैले चासो छैन। चासो छ, त कमिसन कति आउँछ? व्यापारी कति कमाउँछ? नेताले कति कुम्ल्याउँछ? कर्मचारीले कमिसन लिन्छ। अनि कथा दोहोरोन्छि, हरदिन । यो यथार्थपरक अनुभूतिजन्य भोगाइ पंक्तिकारको मात्रै होइन। सडकमा ओहोरदोहोर गर्न ५० लाख आम मानिसको आम हैरानी हो ।
यस्तो नियतीको तापक्रम हर वर्ष,हर दिन बढ्दो छ। घट्ने कुनै छाँटकाट देखिन्न। सुन्दर काठमाडौ कुरुप छ, सडकमा धुवाँ मात्रै होइन । नदी खोला, सार्वजनिक स्थल, मठ मन्दिर देवालय सबै -सबैमा यस्तै कमिसनखोरहरुकै गोरख धन्दा छ। बर्खा लागे डुबाउला कि भन्ने डर । हिउँद लागे पानी पनि नपाइलाकी भन्ने भय छ, त्रास छ। काठमाडौ आफ्नो अनुहार आफै हेर्दा शर्माउने भैसके छ। त्यो सुन्दर छटा कुरुप भएछ। आफ्नै छातिमाथि बसेर मनुष्यले सबै अस्तित्व लुटेछ ओइ, काठमाण्डू धुवाँदार भएछ। बीस वर्षमा बाह्र सत्ताइसका ग्रह दशा लागेछन्। मनुष्यको ज्यादतीले आज बागमतीले आत्थू आत्थू भनिरहेछिन् पशुपतिनाथलाई कता भागौ भइरहेछ, मान्छेहरुको हुलमा छ,यो निर्जन शहरमा ।पंक्तिकार यस्ता हैरानीको जिउँदो साक्षी हो, आज भन्दा बीस एक्काईस वर्षदेखि । जतिबेला सपनाको शहर खोज्दै उपत्यका ओर्लिएकी थिए पंक्तिकार पनि ।जतिबेला यस्तै नर्क थिएन, केही हर्ष र विमर्श थिए, सपना थिए, अनि सुन्दर थिए।
तिथि मिति हुँदो हो, २०६० साल तिर। जतिबेला देश बम र बारुदले जलिरहेको थियो। भाइभाइको मारकाट थियो । वैरी दुस्मनी व्यवहारले माटो रक्त मुछल थियो । यही आतंक र त्रासकै बीचमा सपनाका हुटहुटी र कुन्तराहरुहरु बोकेर हेलो काठमाडू भन्दै शहर छिरेकी थिएँ म । दाङमै जन्मिएकी म, दाङमै हुर्किएकी। सपनाको भारी बोकेर सपनाको शहर काठमाडौ हानिए । सपना र जिम्मेवारी थियो,मसंग । भाइलाई लिएर निस्केकी थिएँ घरबाट । भविष्य मेरो मात्रै थिएन। उसको पनि उत्तिकै थियो । काठमाडौ मेरा लागि विल्कुल नयाँ थियो, नौलो लाग्थ्यो र हो पनि । चुनौती धेरै थिए, समस्याहरु धेरै थिए, जुध्दै र भिड्दै दैनिकी चल्दै आयो र चलिरहेको छ पनि ।
मेरा लागि काठमाडौ विरानो मात्रै थिएन, रहस्यमय थियो । र आनन्दमय पनि थियो । किनकी यो शहर निकै प्राचीन हो, मन्दिरै मन्दिरको शहर हो, बागमती सभ्यताको थलो हो। धार्मिक नदी बागमतीले अंकमाल गरेर स्पर्श गरेको पवित्र देवभूमि हो, आराध्यदेव पशुपतिनाथको थलो हो । कचौरा झै फैलिएको यो उपत्यका बस्ती मात्रै सुन्दर थिएन, धर्ती पनि उस्तै सुन्दर । घरकै बार्दलीबाट हिमालका ताँती देखिने क्षणहरु थिए र छन् पनि । संसारभरका मानिसहरु उपत्यकाको यही विशेषता र विशिष्टताले लोभिएका रहिछन्, म पनि यही कुराले लोभिए होला सायद । यसैसंगै मितेरी गाँसेर करिब २१ वर्षके सम्बन्ध छ, उपत्यकासंग। यही कलंकी आसपासमा मेरो स्पर्श छ, निष्कर्ष छ, गास छ, अनि बास पनि । यहीकै हिलोकिचो धुलो धुवाँ पिएको र जिएको अनुभव धेरै छ, मेरो ।
म उमेरका कारण बदलिएँ । छोरी थिएँ, अहिले आमाको जिम्मेवारीमा छु। छोरीहरुका सपना मेरा पनि भएका छन्। हामी यही साझा सपनामै बाँचिरहेका छौ, सूदूर भविष्यका लागि । म जस्तै काठमाडौ पनि बदलियो। म उमेरका कारण बदलिएँ हुँला । तर, काठमाडौ मानिसहरुका कारण बदिलियो। हरिया फाँटहरु थिए।
नार्गाजुन ४ गोतामथोकका शंकर गौतम भन्छन्, आँखै अघि बदलियो काठमाडौ, यस्तो कंक्रिट घना जंगल होला भन्ने त कल्पनै थिएन। उमेरले ७० माथि पुगेका उनी यस्तो अनुभव सुनाउँछन्। आफूले श्रीसम्पत्ति जोड्न नसक्ने छ। बाउबाजेको सम्पत्ति बेचेर खाने पुस्ता छ। हाम्रो पालामा नुन बाहेक सबै घरमै हुन्थे, हाम्रा यहाँ खेत थिए, लेकमा मकै फल्थ्यो। अहिले यी सबै खेत मासेर ठूला ठूला घर बने । भारतकै गाडी भारतकै तेल किनेर सुख काट्ने गरेको छ, अहिलेको नयाँ पस्ता भन्नेहरु । यो भनेको मति भ्रष्ट हो। नेता मति भ्रष्ट र नयाँ युवा पनि उस्तै । बाले खेतबारी जोड्दिए छोराले प्लटिङ गरेर युरोप अमेरिकातिर शयर गर्ने यस्ता जमाना आए। पक्कै पनि पाका गौतमले भने जस्तै छ, काठमाडौको दूरदशा । हिटीदेखि राजकुला थिए, बागमतीदेखि इच्छुमतिको जल शुद्ध थियो, अब ती कुरा त सपना जस्तै लाग्न थाल्यो, आफ्नै जीवनकालमा काठमाडौ नर्क जस्तै भो भन्छन्, फेरी उनै गोतामथोकका शंकर गौतम ।
यति मात्रै होइन, इन्जिनियर पद्मसुन्दर जोशी भन्छन्, काठमाडौ भत्किसक्यो, मरिसक्यो, काठमाडौले आफ्नो अस्तित्व गुमाइसक्यो, अब काठमाडौलाई पुरानै लयमा फर्काउन सम्भव छैन। समस्याको समाधान त हुन्छ,तर काठमाडौ समाधान गर्न नसकिने गरी भत्किएको छ। जुन भत्किएको काठमाडौ नर्क जस्तै छ।
हो, यस्तो नियतीको पासोमा छ, काठमाडौ । काठमाडौले साथ दियो व्यवस्था बदल्न । तर, नेता चप्पलबाट पजेरोमा पुगे । सडकबाट महलमा । सुध्रिएन काठमाडौ । यहाँ नेता छ नीति छैन। शासनमा कुशासन छ। कर्मचारी छ, कमिसन छ, तर, सेवा छैन। धर्र्ती मरेको छ, मानवता ढलेको छ। छिमेकी छ, तर, जिउँदो छ, या मरेको पत्तै हुन्न । राज्य छ । तर, सडकमा निस्किन्नै हुन्न। बजार छ, सबैथोक पाइन्छ। तर, मूल्य सुन्दा चक्कर लाग्छ। काम छ, दाम छैन। सुन्दर नाम छ, सबैतिर बदनाम । हेलो काठमाडौको हाल हर दिन हरवर्ष ज्यादै खराब छ। यही नरकभित्र हजारौका सपनाको चिहान छ, आत्म मरेको छ,सग्लो शरीर छ। यही आत्माविहीन उपत्यका लाखौ मान्छे भएको निर्जन घना जंगल जस्तै छ। तैपनि हेलो काठमाडौ भन्नु परेको छ, मैले !