शुक्रबार र शनिबार अविरल वर्षा गराउने मनसुन आईतबार दिउँसोदेखि मत्थर हुदै जाने मौसमविद्हरूले बताएका छन् ।
यद्यपि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको पनि उनीहरूले बताएका छन् ।
उनीहरूका अनुसार शनिबारको तुलनामा उपत्यका सहित बागमतीमा ठूलो पानी पार्ने प्रणाली कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।
काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले बताएका छन् । उनले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सिस्टम कमजोर भइसकेको र ठूलो पानी पर्ने संकट अब टरेको बताएका हुन्।
मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि हिजोको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको पनि उनले बताए ।
उनका अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ । त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै(कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहे पनि दिउँसोदेखि त्यो पनि कमजोर हुने उनले बताए ।
अर्याल भन्छन्, ‘आजको हकमा इलामदेखि कोशी प्रदेशको तराईका भूभागमा आइसोलेटेड रुपमा भारी वर्षाको सम्भावना देखिन्छ, तर त्यो पनि दिउँसोबाट मत्थर हुँदै जानेछ ।’
गएको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५१ मिलिमिटर मापन भएको छ ।








