गएको ३६ वर्षमा देशलाई यतिधेरै तन्नम बनाइयोकी , जहाँ हरेक सरकारी अड्डामा जनताले पैसा नबुझाई वा पावर नलगाई पाउनै पर्ने सेवा पाउँदैनन्। पैसा बुझाएपछि गर्नै नमिल्ने काम पनि हुन्छ। एउटा युवाले सवारी चालक अनुमतिपत्र बनाउन, राहदानी बनाउन, विदेश काम गर्न जाने श्रम स्वीकृति लिनदेखि पढ्न जाने ‘नो अब्जेक्सन लेटर’ लिनसम्म घुस नखुवाई धरै छैन । घुस नखुवाई आफ्नै जग्गाको मालपोत पास हुँदैन ।
कम्पनी र उद्योग दर्ता हुँदैन। घुस नखुवाई बैंकबाट ऋण पाउन पनि गाह्रो छ। सरकारलाई राजस्व तिर्न र मिलाएर नतिर्न वा कम तिर्न पनि घुसको उपकरण प्रयोग हुन्छ। बाटोघाटो, पुलपुलेसा लगायत बनाउँदा त कामभन्दा घुसकै हिस्सा बढी हुन्छ। यी कुरा अब ओपन सेक्रेट जस्तो भैसके ।
त्यस्को ताजा उदाहरण देउवाको घरमा भदौ २४ मा भेटिएका पैसाका बीटा होउन्, चाहे तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले खुला रूपमा भनेका थिए – हरेक नेताका घरमा २–४ करोड हुनु सामान्य हो। म त साथीहरूकहाँ बाँडेर राख्थेँ। केपी ओलीले त्यस्तै दलिल पेस गरे। उनका पीए राजेश बज्राचार्यले यति समूहबाट घर उपहार लिनु कुनै ठूलो कुरा होइन। अरूले लिन मिल्ने, राजेशले किन नमिल्ने? कानुनको शासन भएको देशमा यी दुवै गम्भीर अपराधका डरलाग्दा नजिर हुन्।
‘काकिस्टोक्रेसी’ अर्थात अयोग्य र भ्रष्ट नेतृत्वको शासनमा सहन बाध्य थिए, जनता । देशको राजनीतिक संरचनामा पनि गहिरो रूपले जोडिएको छ काकिस्टोक्रेसी । यही कारण सधैं अयोग्य, भ्रष्ट र सिद्धान्तविहीन व्यक्तिहरूले पटक–पटक नेतृत्व गर्ने अवसर पाए । जेनजीहरूले सबैभन्दा खराब, बेइमान र अयोग्यहरूको शासन अर्थात् ‘काकिस्टोक्रेसी’ बाट देशलाई मुक्त गराउन त्यो आन्दोलन गरेका हुन्। वृद्धहरूको शासन अर्थात् ‘जेरोन्टोक्रेसी’ समाप्त गर्न अभियान चलाएका हुन्। राजनीतिमा ओलीगार्की र अर्थतन्त्रमा क्रोनीवादको समूल अन्त्य गर्ने उद्घोष थियो जेनजी युवाहरुको ।
यही अवस्था सुधार्न नवयुवाले बलिदान गरेका हुन्। तर, परम्परागत दलहरूले उनीहरूको यो मागलाई सिधै खारेज गरिरहेका छन्। तर बेलायतमा टोनी ब्लेयरले जस्तै नेपाली कांग्रेसभित्र गगन–विश्वप्रकाशले पार्टी नेतृत्व मात्रै फेर्ने कुरा गरेका छैनन्, मुलुकको आर्थिक–सामाजिक–राजनीतिक ल्यान्डस्केपमा आमूल परिवर्तनको वकालत गरेका छन्।
उनीहरुको अनुसार अब दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने, समानुपातिक प्रणालीबाट एक पटक मात्रै सांसद बन्न पाइने, पार्टीभित्र प्राइमरी निर्वाचन, चुनावअघि कुनै दलसँग गठबन्धन नगर्ने, नियुक्तिमा राजनीतिक भागबन्डाको अन्त्य, राजनीतिक दललाई राज्यकोषबाट अनुदान, भ्रष्टाचारविरोधी संस्थाको सबलीकरण, सार्वजनिक सेवामा सुधारलगायत धेरै सुधारका एजेन्डा उनीहरूले प्रस्तुत गरेका छन्। ‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि’ भन्ने नाराका साथ अघि बढेको गगन नेतृत्वको पार्टीभित्र मात्रै होइन, जनताको स्तरमा पनि एउटा सकारात्मक ऊर्जा प्रवाह गरेको छ। किनभने जेनजीहरूले सबैभन्दा खराब, बेइमान र अयोग्यहरूको शासन अर्थात् ‘काकिस्टोक्रेसी’ बाट देशलाई मुक्त गराउन त्यो आन्दोलन गरेका थिए ।
गहिरो असन्तुष्टि बोकिरहेका र विकल्प खोजिरहेका जनताले त्यो प्रकट गर्ने ठाउँमा तिनै वैकल्पिक राजनीतिका ‘टेस्टेड’ पात्र मात्रै थिए। यस्तो अवस्थामा गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस अघि बढेको छ । उनको नेतृत्वको अबको कांग्रेस मतदाताका लागि छनोटको गतिलो विकल्प हुन सक्छ, जो स्थापित राजनीतिक दलको हो । भ्रष्ट कांग्रेस र प्रष्ट कांग्रेसको रुपमा दुई चेहरा देखिएका छन्, यतिबेला कांग्रेस भित्र । भ्रष्टहरु अब लाखापाखा लाग्नेछन् भने प्रष्टहरु जनताको मत लिएर सत्तामा पुग्नेछन् । ००००








