दोसाँधमा उभिएर अनिर्णित अवस्थामा छ, कांग्रेस । महाभारतकालीन युद्ध ताकाका भीष्मपितामहको रुपमा देखिन्छन्, देउवा । सत्ता र पार्टी राजनीतिबाट निवृत्त हुँदै गरेका उनी दोग्ला शैलीमा उभिएका छन्। एकातिर विधान अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मतको कदर मात्रै होइन, व्यवहारमै देखाउनुपर्नेछ, उनलाई । अर्काेतिर सातभाइको अनुहार देख्दा मन अमिलो हुन्छ ।
नयाँ युवाको युगचेतना र तिनीहरुको पदचाप र आवाजको निकै चर्काे र स्वभाविक छ । युग परिवर्तनको यो संगीन घडीमा उभिएको कांग्रेसलाई अग्रगतितिरै लैजानुको विकल्प पनि छैन ।
तर, हिजो पार्टी सभापतिमा विजयी हुँदा गरिएका उधारापुधारा बाचाहरु पनि छन् । यद्यपि सबैलाई मन्त्री उपप्रधानमन्त्री त कसैलाई राष्ट्रपतिको अवसर नमिलाएका भने होइनन्, देउवाले । तर, मान्छेको जातै बैगुनी । मह दियो भने औलै खाइदिने स्वभावले यतिबेला देउवा अचानोमा परेका हुन् । तर, विधानतः अहिलेसम्म पार्टीको सभापति भएको नाताले उनले हस्तिनापुर बन्न थालेको कांग्रेसलाई बचाउनु नै छ । विगतमा विभाजनको पीडा झेलेको कांग्रेस फुट्नु र फुटाउनु उनको राजनीतिक जीवनमा अर्काे असफलताको बज्रपात हुनु पनि हो ।
तर, उनको पछिल्लो भूमिकाले महाभारतकालीन हस्तिनापुर साम्राज्यको स्मरण गराइदिएको छ । हस्तिनापुरको राज्यलाई आजीवन रक्षा गर्ने प्रतिज्ञा गरेका भीष्मले प्रतिज्ञा पालन गर्ने नाममा अनि ज्ञान र तप साधनाको ओजस्वितालाई गुरु द्रोणाचार्यले नुनको सोझो गर्दा विनाश निम्तिएको प्रसंग भुल्नुहुदैन । हस्तिनापुरमा भीष्मपितामह र गुरु दोर्णाचार्यको चरित्रले कौरवहरु सबै गुमाएका थिए । दुर्योधन जस्ता अधर्मी र अत्याचारी शासनको रक्षा गर्न त्यागी र तपस्विहरु उभिदा सय भाइ कौरवहरुले अस्तित्व गुमाएका थिए ।
पाँच भाइ पाण्डवहरुले अन्ततः हस्तिनापुर राज्य फिर्ता गरेका थिए । भाइ भाइबीचको सहअस्तित्व र अपनत्वलाई कायम गर्न नसक्दा महाभारतको युद्ध १८ दिन चलेको थियो । तर, कांग्रेसमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले सहीछाप गरेर विशेष महाधिवेशनको माग गर्दा सात भाइकै अनुहार हेरेर भीष्म पितामह र गुरुदोर्णाचाय बन्ने कोशीस गर्नु यो आफैमा विनाश र विभाजनको पूर्व सन्ध्या हो । पार्टी फुटेको देख्न पनि सक्दिन भन्ने तर, नेतृत्वदायी निर्णय पनि दिन नसक्ने देउवाको दोहोरो शैलीले कांग्रेस अनिर्णयको बन्दी बनेको हो ।
जेनजी विद्रोहपछि विकसित राजनीतिक दृष्टिकोण र सामाजिक सोच अनि भावनालाई बोक्ने नेतृत्व खोजेको छ, मुलुकले । परिवर्तनको बहावसंगै अघि बढ्न नसके कौरवहरु जस्तै सकिने मात्रै छैनन् । मुलुककै ठूलो दल कांग्रेस समयको गतिलाई बोध नगरे गोर्खा परिषद् बन्न कसैले रोक्न सक्नेछैन । बदलिदो परिस्थिति र परिवेश छ । युवाहरुको उटकट चाहना, अनि उनीहरुको सपनासंग जोडिएको यो संगीन समयमा धेरै पटक परीक्षण भएर आफ्नै दलभित्र पनि अयोग्य सावित भएका बयोवृद्धहरुलाई बोकेर कांग्रेस एक कदम पनि अघि बढ्न नसक्ने मात्रै होइन।
आगामी फागुन २१ को निर्वाचनमा कांग्रेसले जनतासंग भन्ने कुनै कुरा पनि हुनेछैन । यसर्थ युवाहरुको यो परिवर्तनको हुटहुटी र सपनालाई बोध गर्ने गरी देउवाले समयमै विवेक पुराउन जरुरी छ । नेतृत्व लिने मात्रै होइन, नेतृत्व पुस्तान्तरण पनि ठीक ढंगले हुन सकेन भने भोलिका दिनमा कांग्रेस महाभारतकालीन हस्तिानपुर नबन्ला भन्न सकिन्न कि ? ००००








