४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

नेपालको पर्यटनको मुख्य चुनौति राजनीतिक अस्थिरता कि, उदाशीनता ?


२५ बैशाख २०८२, बिहिबार  


मुलुकको आर्थिक विकासको प्रवल सम्भावना भएको पर्यटन क्षेत्र सधै उपेक्षामा छ। विदेशी अनुदान थापेर आर्थिक समृद्धिको सपना बाँड्ने नेतृत्वको कारण पर्यटन क्षेत्रको ७ दशक लामो यात्रामा पनि उलेख्य प्रगति भएको देखिन्न ।

३५ लाख पर्यटकलाई थेग्ने होटेल हस्पिटालिटी क्षेत्र भएपनि अहिलेसम्म १२ लाख पर्यटक माथि पुग्न सकेका छैनन्। पर्यटनका बहुआयामिक क्षेत्र भएपनि तिनीहरुको विविधिकरण र व्यवसायीकरणको मुख्य चुनौति छ।

पर्यटनको बजार छिमेकी मुलुक भएपनि खैरो छला भएका मात्रै पर्यटक हुन् भन्ने परम्परावादी भाष्य छ, भने राजनीतिक नेतृत्वले पर्यटनको क्षेत्रमा लगानी गर्न त्यत्ति जाँगर गरेको देखिन्न। कुल ग्राहस्थ उत्पादनमा करिब ७ प्रतिशत योगदान भनिएपनि पर्यटन क्षेत्रमा ३ प्रतिशत पनि लगानी देखिन्न ।

यसैमा पनि मुलुकमा राजनीतिक स्थितरता छैन । ६ महिना वर्षदिनमा सरकार फेरबदलकै कारण नीतिमा अस्पष्टता छ। अस्पष्ट र अस्थिर नीतिकै कारण पर्यटन क्षेत्र संभावनाको क्षेत्र भएपर पनि सधै ओझेलमा परेको हो । पर्यटन ऐन २०३५ कै भरमा नेपालको पर्यटन क्षेत्र चलिरहेको छ। यद्यपि संसदमा संघीय पर्यटन विधेयक दर्ता भएको छ विधेयक दर्ता भएपनि संसदको प्राथमिकतामा परेको पाइन्न ।


पर्यटन क्षेत्रको विकासका लागि पब्लिक पार्टनशीपको नीति आवश्यक छ । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक बनाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सकेको छैन । जसको बाधक हो,नेपालको राजनीतिक अस्थीरता । जसले नेपालको पर्यटन क्षेत्रको घाँटी अठ्याउने काम मात्र गरेको छ र नत गति दिन सकेको छ न त व्यवसायिक रुप नै ।

निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा भएका लगानी पनि व्यवसायिक हुन नसक्दा पर्यटन क्षेत्र अन्योलताको बादलभित्र हराइरहेको छ । यति भन्दा नेपालको पर्यटन क्षेत्रको भविष्य संकटमा भएको भन्न नसकिएपनि राजनीतिक नेतृत्वबाट उपेक्षित भएको पक्का हो । नेपालको पर्यटन क्षेत्रमा समस्या र चुनौती भन्दा सयौ गुणा अवसरहरु छन् । तर, ती अवसरहरुलाई चिन्न नेतृत्व तहको आँखा खुल्नुपर्ने हो । अहिलेसम्म आँखा खुलेको देखिन्नछ। पर्यटन क्षेत्रमा निजी क्षेत्रको करिब २५ खर्ब हाराहारीमा लगानी भएको अनुमान छ । त्यो लगानी पनि जोखिममा छ।

सन २०२४ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेपनि बसाइ अवधि १३ दिन बढी हुन सकेको छैन। एक जना पर्यटकले दैनिक ५० डलर मात्रै खर्च गरेको अनुमान छ। जबकी हाम्रै छिमेकी भुटानमा दैनिक तीन सय अमेरिकी डलर खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। तर, हाम्रो स्पष्ट नीति र कार्ययोजना नै छैन । पर्यटन भनेको विदेशी आउने जाने हो भन्ने मात्रै राजनीतिले बुझेको देखिन्छ। संसदमा पर्यटक आगमन बढाउने विषयमा अहिलेसम्म कुनै पनि दलका सांंसदले विशेष जरुरीको महतत्वको विषय भनेर कहिल्यै प्रश्न उठाएको देखिन्न।

बरु, संसदभित्र एकले अर्काेलाई खुइलाउनेमै समय वितिरहेका छन्। विदेशी अनुदान रोकिएर मुलुकको दैनिक प्रशासन संचालन गर्न सरकारलाई धौ धौ परेपनि त्यसप्रति कसैले बोध भएको देखिन्न। पर्यटन जस्तो सेतो हिरालाई चिन्न दलीय नेतृत्वले सकेको हुन्थ्यो भने नेपालमा यतिबेला १२ लाख होइन २४ लाख पर्यटकले नेपाल भ्रमण गर्दथे। दैनिक खर्च कम्तिमा एक सय डलर र बसाई एक महिना हुन सक्थ्यो । विडम्बना, राजनीति नेतृत्वको उपेक्षासंगै राजनीतिक अस्थिरताको मारमा पर्यटन क्षेत्र परेको हुँदा ७ दशक बढी इतिहास बोकेको नेपालको पर्यटन क्षेत्रले नयाँ गति पकड्न नसकेको हो ।

राजनीति देश विकासको मानेमा ठीक हो ।तर दाउपेच र झगडामा राजनीति केन्द्रित रहनु नेपालको विडम्बना हो । जसलाई अहिले सबैले घृणाको रुपमा हेर्न थालेका छन् । विकासका लागि स्वच्छ राजनीतिक हुनुपर्ने भएता पनि नेपालमा राजनीतिको ट्रेण्ड गलत रुपमा बस्दै आएकोले सबै संयन्त्र त्यसको शिकार बनेका छन् ।

लडाई, झगडा, सत्ता र शक्तिका लागि होइन, विकासका लागि राजनीति हुनुपर्ने विज्ञहरुले भनिरहेका छन्। पर्यटन क्षेत्रको विकास लागि सरकार र सञ्चार माध्यमको सबै भन्दा बढी भूमिका हुने गर्दछ। राज्यले समय सापेक्ष नीति बनाउने र त्यसको सही सूचना संप्रेषण आम सञ्चारले गर्नुपर्ने हो । तर, दलीय आस्थाको आधारमा पत्रकारमाथि गरिने व्यवहारले पर्यटनको विषयमा नेपाली पत्रकारिताले बहस र पैरवीलाई जोड दिन सकेको छैन। पर्यटनको विषयमा नबुझेका तर, नेता र कर्मचारीसंग उठबस गरेकाहरुले मात्रै अवसर पाउने गरेका छन् । जुन नेपालको पर्यटन क्षेत्रका लागि दुखद् विषय हो ।

छिमेकी मुलुक चीन र भारतको पर्यटन हाम्रो मुख्य लक्ष्य हो, कसरी छिमेकी मुलुकको पर्यटन नेपालमा भित्र्याउने भन्ने योजना बनाउनु अब आवश्यक छ त्यसपछि एशियाको पर्यटन, त्यसपछि युरोप अमेरिकाको पर्यटन योजनाको भिजन सरकारले बनाउन आवश्यक छ भने पर्यटन व्यवसायीहरुले पनि यसलाई फ्लोअप गर्न जरुरी छ। तर, सरकारी अधिकारी होउन्। या पर्यटन व्यवसायीहरुमा पनि यो तदारुकता पटक्कै देखिन्न ।

त्यसैले विकासका मोडल र योजना बनाउने निकायमा निस्कलंक राजनीतिक चरित्रभन्दा बाहिरका बुद्धिजीवि वर्गलाई जिम्मेवारी दिनु आवश्यक छ र सम्बन्धित क्षेत्रका सरोकारवालला व्यक्तिहरुसँग छलफल र परामर्श गरी बनाइएको योजना नै दीर्घकालीन हुने हुँदा अबको अभ्यास पर्यटन क्षेत्रमा सबैको ऐक्यवद्धता र सक्रियता जरुरी छ।त्यसका लागि हिरालाई चिनौ, विदेशी अनुदान थापेर देश चलाउने पराधीन चिन्तनको अन्त्य गरौ। पर्यटनबाटै मुलुकको आर्थिक रुपान्तरणको संकल्प गरौ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : २६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित